बाँकेमा मापसे जाँचः फोटोसहित रेकर्ड हुने ब्रेथलाइजर मेसिन प्रयोगको तयारी

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालाई अत्याधुनिक ब्रेथलाइजर मेसिन हस्तान्तरण गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ ।

बाँके, २४ भाद्र ।
बाँकेमा अव अत्याधुनिक ब्रेथलाइजर मेसिनबाट मादक पदार्थ सेवन (मापसे) जाँच गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जिल्ला बिपद् ब्यवस्थापन समितिको तर्फबाट प्रदान गरेको तीन थान अत्याधुनिक ब्रेथलाइजर मेसिनबाट मापसे जाँच गरिने भएको हो ।
ब्रेथलाइजर मेसिन नहुँदा सवारी चालकले मापसे गरे नगरेको जाँच गर्न ट्राफिक प्रहरीलाई समस्या भएको थियो । जिल्ला बिपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष समेत रहेका प्रजिअ कुरुम्वाङले प्रदान गरेको उक्त अत्याधुनिक मेसिन जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमलाई हस्तान्तरण गरिएको छ ।
मापसे जाँच गर्न सजिलो होस् भन्ने उद्देश्यले ट्राफिक प्रहरीलाई अत्याधुनिक ब्रेथलाइजर मेसिन प्रदान गरिएको प्रजिअ कुरुम्बाङले बताए । मापसे गरेका चालकको तस्वीर सहित सम्पूर्ण विवरण रेकर्ड राख्न मिल्ने उक्त ब्रेथलाइजर मेसिनको सहयोगले कारबाही गर्न सहज हुने प्रहरी प्रमुख रानाले बताए । चालकले प्लास्टिकको पाइपमा फुकेपछि के कति मादक पदार्थ सेवन गरेको छ भन्ने रेकर्ड मेसिनमा देखिन्छ,’ उनले भने, अल्कोहलको मात्रा सहित तस्वीर, नाम र लाइसेन्स नम्बर सबै विवरण प्रिन्ट हुने भएकोले यो बलियो प्रमाण हुनेछ ।’ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक बमले जिल्लामा पहिलो पटक अत्याधुनिक ब्रेथलाइजर मेसिन प्राप्त भएसँगै मापसे जाँच र विवरण राख्न सहज हुने बताए ।
ब्रेथलाइजर मेसिन विग्रिएपछि बाँकेमा कार्यरत ट्राफिक प्रहरीले चालकको मुख सुँघेर मापसे गरे नगरेको पत्ता लगाउने गरेका थिए । अत्याधुनिक मेसिनबाट जाँच गर्न सरल र सहज मात्र नभई बैज्ञानिक पनि हुने छ,’ बमले भने ।
बाँकेमा सडक दुर्घटना न्यूनिकरण गर्न व्हील लकर प्रयोग गरिनुका साथै छड्के जाँच गर्ने गरिएको छ । ब्रेथलाइजर मेसिनको सहायताले मापसे जाँच सुरु गरिए सडक दुर्घटना न्यूनिकरण हुने विश्वास गरिएको छ ।

Previous articleउच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलासका एक सहित ३३ जनामा कोरोना
Next articleनेपालगन्ज मेडिकल कलेजका ३० जनाले गरे रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here