रकम लिएको चार आर्थिक बर्ष सकियो, तर आएन एम्बुलेन्स

बाँके, १७ भाद्र ।
एम्बुलेन्स नहुँदा राप्तीसोनारी गाउँपालिका–१, कुसुमका सर्वसाधारणले अकालमा ज्यान गुमाउन परेको छ । एम्बुलेन्स नभएका कारण सर्पले टोकेका विरामीलाई मोटरसाइकलमा नेपालगन्ज ल्याउँदै गर्दा दुर्घटनामा परि १४ भाद्रमा राप्तीसोनारी गाउँपालिका–१, कुसुमका चेवन भट्टराई र विरामीको मृत्यु भएको छ, तर एम्बुलेन्स खरिदका लागि चार बर्षअघि लिएको रकमबाट एम्बुलेन्स खरिद कहिले हुने हो कुनै पत्तो छैन ।
कुसुमका स्थानीय मनोज बैश्यको अध्यक्षतामा गठन भएको एम्बुलेन्स खरिद, संचालन तथा ब्यवस्थापन समितिले संविधान सभा सदस्य देवराज भारको सांसद विकास कोषबाट साढे ८ लाख रुपैँया लिए पनि अहिलेसम्म खरिद गर्न नसक्दा सर्वसाधारणलाई सास्ती भएको छ ।
आर्थिक बर्ष ०७३÷०७४ को असार मसान्तभित्र खरिद गरिसक्ने सम्झौता गरेको उक्त समितिले अहिलेसम्म एम्बुलेन्स खरिद नगरेको जिल्ला एम्बुलेन्स संचालन समितिका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । एम्बुलेन्स खरिदका लागि सांसद विकास कोषबाट रकम लिएर खरिद नगरेको जानकारीमा आएपछि समितिका अध्यक्ष बैश्यलाई बोलाउँदा नआएको उनले बताए । ‘माननिय देवराज भार ज्यूले गुनासो गरेपछि कुरा बुझ्नका लागि एम्बुलेन्स खरिद समितिका अध्यक्ष बैश्य जीलाई मंगलवार बोलाएको थिएँ, तर उहाँ आउनु भएन,’ प्रजिअ कुरुम्बाङले भने ।
एम्बुलेन्स खरिद समितिका अध्यक्ष बैश्यले सरकारी कागजपत्र मिलाउन समय लागेकोले समयमा खरिद गर्न नसकेको बताए । संविधानसभा सदस्य देवराज भारको सांसद विकास कोषबाट आठ लाख ५० हजार लिएको बताउँदै उनले कोषले दिएको रकमले एम्बुलेन्स खरिद गर्न नपुगेको बताए । उनले राप्तीसोनारी गाउँपालिकाबाट थप दुई लाख रुपैँया लिएको बुझिएको छ ।
उनले स्वास्थ्य मन्त्रालयले गाउँमा संचालन हुने एम्बुलेन्स फोर ह्वीलर हुनुपर्ने नीति बनाएका कारण रकम अपुग भएको बताए । ‘भन्सार छुटका लागि मन्त्रालयले सिफारिस दिन मानेन । किन्ने तयारी भएकै बेला निर्वाचनको आचारसंहिता लागू भएर कसैले थप रकम दिन मानेन,’ उनले भने, ‘एउटाले दिएको योजनामा अर्को निकायले रकम थप गर्न नमान्दा समस्या भएको हो ।’
जिल्ला समन्वय समितिले राप्तीसोनारी गाउँपालिकालाई पत्र पठाएको बताउँदै उनले राप्तीसोनारी गाउँपालिकाले भन्सार छुटका लागि मन्त्रालयमा अर्को पत्र पठाइसकेको जिकिर गरे । ‘खरिद गर्ने तयारी भएको बेला कोरानाका कारण लकडाउन भयो । त्यसपछि अर्को आर्थिक बर्ष सुरु भयो । पछिल्लो समय सिफारिसका लागि पत्र गएको छ । चाँडै खरिद प्रक्रिया सुरु हुन्छ,’ बैश्यले भने, ‘मन्त्रालयबाट भन्सार छुटको सिफारिस आउने वित्तिकै महेन्द्रा कम्पनीको एम्बुलेन्स खरिद प्रक्रिया सुरु हुन्छ ।’
उनले प्रमुख जिल्ला अधिकारीले बोलाएको बेला हाजिर भएको समेत जानकारी दिए । ‘सिडिओ सावले बोलाएको बेला हाजिरी भएको थिएँ । उहाँले तल सुब्बा सावलाई भेट्नुस भनेपछि कुरा राखेर म फर्किएको हुँ,’ उनले भने ।
एम्बुलेन्स छिटो खरिद गर्न माग
यो प्रतिनिधिमुलक घटनामात्र हो । राप्तीसोनारी गाउँपालिका–१, कुसुमका अधिकांश विरामीले सवारी साधन नपाउँदा दुख पाउने गरेका छन् । एम्बुलेन्स नभएकोले अधिकांश विरामी मोटरसाइकलमा नेपालगन्ज र कोहलपुर आउने गरेको जनता समाजबादी पार्टीका स्थानीय नेता हिक्मत विकले बताए । ‘कोही विरामी परेमा कोहलपुर र बैजापुरबाट एम्बुलेन्स बोलाउनु पर्छ । त्यताबाट बोलाउनु भन्दा मोटरसाइकलमा लैजान छिटो हुन्छ । एम्बुलेन्स नभएकोले मोटरसाइकलमा लैजानुको विकल्प छैन,’ उनले भने ।
उनले एम्बुलेन्स छिटो खरिद गर्न दवाव दिए पनि समितिले बेवास्ता गरेको बताए । विनियोजित रकमबाट एम्बुलेन्स छिटो खरिद गर्न उनले माग गरे ।
नेकपा, बाँकेका सचिवालय सदस्य तथा बाँके क्षेत्र नं. १ का इन्चार्ज सुर्य ढकालले एम्बुलेन्स नहुँदा कुसुम क्षेत्रका विरामीले समस्या झेल्दै आएको बताउँदै तत्काल एम्बुलेन्स खरिद गर्न माग गरेका छन् । उनले आर्थिक बर्ष ०७३÷०७४ मा एम्बुलेन्स खरिदका लागि रकम लगेर नकिन्दा स्थानीयले दुख पाएको बताए ।
सांसद विकास कोषबाट लगेको रकम सरोकारवाला निकायले खोजविन गरि एम्बुलेन्स खरिदका लागि दवाव दिनुपर्ने उनको भनाई छ । ‘राज्यको रकम लगेर गायव बनाउन पाइदैन । जसले जुन प्रयोजनका लागि लगेको हो, त्यहि प्रयोजनमा खर्च गर्नु पर्छ । एम्बुलेन्स खरिद गरि त्यहाँका जनतालाई राहत दिनु पर्छ भन्ने मेरो र नेकपाको माग छ,’ उनले भने ।

Previous articleभेरी अस्पतालमा कोरोना जाँच बापत अब शुल्क लाग्ने, शुल्क १८ भाद्रमा निर्धारण
Next articleकोरोना जाँच शुल्क २२ सय रुपैँया निर्धारण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here