बाँके, १६ भाद्र ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) तेस्रो संशोधन नियमावली, २०७६ मा टेकेर काम गर्न नसक्दा भेरी अस्पतालमा भेन्टीलेटर जडान गर्न विनियोजित रकम फ्रिज हुनुमा नेपालगन्ज उपमहानगरपालिका चुकेको देखिन्छ । मन्त्रिपरिषदबाट २ असार, २०७७ मा परिमार्जन गरिएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) तेस्रो संशोधन नियमावली, २०७६ ले पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत विनियोजित रकम मध्ये खर्च नभई बचत रहेको रकम कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारमा खर्च गर्ने ब्यवस्था गरे पनि नेपालगन्ज उपमहानगरपालिकाले नियमावलीले दिएको अधिकार प्रयोग गर्न नसक्दा भेन्टीलेटर खरिद गर्न विनियोजित रकम फ्रिज भएको देखिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत आफ्नो गाउँपालिका तथा नगरपालिकामा विनियोजन भएको रकम मध्ये बचत भएको रकम एकीन गरि कार्यक्रम निर्देशन समितिका संयोजक र जिल्ला समन्वय समितिलाई जानकारी गराउनु पर्ने नियमावलीमा ब्यवस्था छ ।
तेस्रो संशोधन नियमावलीले कार्यक्रम निर्देशक समितिका संयोजकले निर्देशक समितिका अन्य सदस्यहरुसँग मन्वय गरि कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि गर्नुपर्ने क्रियाकलाप र उपलब्ध हुने बजेट उल्लेख गरि सम्बन्धित गाउँपालिका तथा नगरपालिका र जिल्ला समन्वय समितिलाई लिखित रुपमा जानकारी दिने भनिए पनि उपमहानगरले कुनै जानकारी नगराएको जिल्ला समन्वय अधिकारी लोकबहादुर सुनारद्वारा जारी पत्रमा उल्लेख छ ।
त्यसैगरि, यस्तो कार्य १५ असार, ०७७ भित्र सम्पन्न गरिसक्नु पर्ने र यस प्रावधान बमोजिम उपलब्ध भएको रकम गाउँपालिका तथा नगरपालिकाले कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि प्रचलित कानून बमोजिम खर्च गर्ने, लेखा राख्ने तथा लेखा परीक्षण गराउने लगायतका कार्य गर्नुपर्ने नियमावलीको चौथो र पाँचौ नंं. बुँदामा उल्लेख छ ।
खर्च नभएको रकम भेन्टीलेटर खरिद गर्न निर्णय के भएको थियो ?
मन्त्रिपरिषदबाट २ असार, २०७७ मा पारित भएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) तेस्रो संशोधन नियमावली, २०७६ लाई टेकेर निर्देशक समितिका संयोजक सांसद मोहम्मद इस्तियाक राई र जिल्ला समन्वय अधिकारी समेत रहेका सदस्य सचिव लोकबहादुर सुनारको १४ असार, ०७७ मा बैठक बस्यो । विभिन्न योजनाका लागि विनियोजित रकम खर्च हुन नसकेकोले उक्त रकम नेपालगन्ज उपमहानगरपालिका मार्पmत संचालन हुने गरि संशोधन गरिएको पत्र नेपालगन्ज उपमहानगरपालिकालाई बुझाइएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाले उक्त पत्र १५ असार, ०७७ को विहान कार्यालय खुल्नासाथ प्राप्त गरेको जिल्ला समन्वय अधिकारी सुनारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, बाँके क्षेत्र नं. २ का प्रतिनिधि कमरुद्दिन राईलाई पठाएको पत्रमा उल्लेख गरेका छन् । ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ०७६–०७७ बाँके क्षेत्र नं. २ मा विनियोजित कार्यक्रमहरुको आह्वान गरे, नगरेको तथा सम्झौता भए, नभएको जानकारी डुडुवा गाउँपालिकाले १० असारमा नै जिल्ला समन्वय समितिमा पठाएको देखिन्छ । तर, नेपालगन्ज उपमहानगरपालिकाबाट १५ असार, २०७७ सम्म कुनै जानकारी नआएको सुनारले पठाएको पत्रमा उल्लेख छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ०७६ को तेस्रो संशोधन नियमावलीमा विनियोजन भएको रकम खर्च भए, नभएको र बचत रकम एकीन गरि कार्यक्रम निर्देशक समितिका संयोजक र जिल्ला समन्वय समितिलाई जानकारी गराउने ब्यवस्था रहेको तथा उक्त निर्देशक समितिको बैठक बसी सोको सम्पूर्ण प्रक्रिया १५ असार भित्र सम्पन्न गरि सक्नुपर्ने ब्यवस्था भएको पनि सुनारले पठाएको पत्रमा उल्लेख छ ।
त्यसैगरि, निर्देशक समितिको १४ असारमा बसेको बैठकले गरेको निर्णयको जानकारी सहितको पत्र १४ असारमा नै कोष तथा लेखा नियन्त्रण कार्यालय, नेपालगन्जलाई गराएको सुनारले बताए ।
अधिकार मिच्न खोज्दा रकम फ्रिजः मेयर राणा
तर, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले आफूले अनलाइन, सामाजिक संजाल र पत्रपत्रिकामा आएको समाचारबाट मात्र जानकारी पाएको बताउँछन् । उनले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत खर्च हुन नसकेको रकम कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि आइसोलेसनमा उपयोग हुने भेन्टीलेटर र अन्य उपकरण खरिद गरि भेरी अस्पतालमा जडान गर्ने अनौपचारिक जानकारी १४ असारको बेलुकी मात्र पाएको बताए ।
उनले १२ भाद्रमा आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि सांसद मोहम्मद इस्तियाक राईले अनाहकमा आरोप लगाएको बताउँदै बचेको रकम निर्देशक समितिका संयोजक सांसद मोहम्मद इस्तियाक राईले सिधै कोभिड–१९ को खातामा नहालेका कारण रकम फ्रिज भएको बताए । ‘निर्देशक समितिका संयोजकलाई योजना बनाएर खर्च गर भन्ने अधिकार छैन । अधिकार मिच्न खोज्दा रकम फ्रिज भएको हो,’ मेयर डा. राणाले भने, कहाँको अधिकार प्रयोग गरेर सांसद ज्यूले योजना र बजेट पठाउनु भयो ।’
स्थानीय सरकारको काममा सांसद राईले बेला–बेलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै उनले स्थानीय सरकारको अधिकारमा हस्तक्षेप नगर्न चेतावनी दिए । ‘सांसद राईले बेला–बेला उपमहानगरको काममा हस्तक्षेत्र गर्नु हुन्छ, तर पनि विकासमा असर पर्छ भनेर सहेर बसेको छु । अव हस्तक्षेपले सीमा नाघिसकेकोले चुप लागेर बस्न सक्ने अवस्था रहेन,’ उनले पत्रकार सम्मेलनमा भने ।
दुई लाइनको पत्र पठाउन कन्जुस्याई गर्दा रकम फ्रिजः सांसद राई
सांसद इस्तियाक राईले मेयर राणालाई पहिले नै जानकारी गराए पनि बेवास्ता गरेको बताए । उनले फ्रिज हुन लागेको रकम सदुपयोगका लागि भेन्टीलेटर र अन्य उपकरण खरिदका लागि रकम विनियोजन गरेको बताउँदै उपमहानगरपालिकाको कारण भेन्टीलेटर खरिद गर्ने रकम फ्रिज भएको दावी गरे ।
‘संशोधित नियमावली अनुसार खर्च हुन नसकेको रकम कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचार अन्तरगत भेरी अस्पतालमा जडान गर्ने गरि भेन्टीलेटर र अन्य उपकरण गर्न बजेट रकमान्तर गरेको जानकारी पत्र १४ असारकै दिन कोष तथा लेखा नियन्त्रण कार्यालयलाई दियौँ । उक्त दिन नेपालगन्ज उपमहानगरपालिकालाई दिन नसकेका कारण १५ असारका दिन कार्यालय खुल्ने वित्तिकै पत्र बुझायौँ, तर कुनै जवाफ आएन,’ उनले भने, ‘उपमहानगरले उक्त रकम कोभिड–१९ कोषको खातामा रकमान्तर गरिदिने दुई लाइनको पत्र पठाएको भए पनि रकम फ्रिज हुने थिएन ।’
कोभिड–१९ को रकम सटर निर्माणमा खर्च गर्ने मेयरको प्रयास
पूर्व मन्त्री समेत रहेका सांसद राईले कोभिड–१९ का लागि विनियोजन भएको रकम मेयर राणाले बागेश्वरी मन्दिर परिसरमा निर्माणाधिन सटर निर्माणमा खर्च गर्न खोजेको बताए । ‘सटर निर्माणमा खर्च गर्न दिने भए योजना मान्य हुन्छ, नत्र तपाईको पैँसा चाहिदैन भन्ने जवाफ मेयर सावबाट आयो,’ राईले भने, ‘नियमावली अनुसार खर्च हुन नसकेको रकम कोभिड–१९ बाहेक अन्यत्र खर्च गर्न मिल्दैन भन्ने जवाफ दिएँ । त्यसपछि मेयर डा. राणाले चासो देखाउनु भएन । जसको परिणाम आज नेपालगन्जबासी मात्र नभई पश्चिम नेपालका विरामीले दुख झेल्न पर्ने भएको छ ।’
उनले मेयर राणाको नियतमाथि शंका गरे । विकासमा राजनीति नगर्न सुझाव दिँदै उनले सहकार्यका आह्वान समेत गरे । उनले आफूले गरेको काममा गल्ती प्रमाणित भए राजनीतिबाट सन्यास लिने स्पष्ट पारे ।
निश्कर्ष
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत बाँके क्षेत्र नं. २ मा साढे दुई करोड रुपैँया फ्रिज भएको छ । डुडुवा गाउँपालिकामा रहेका कर्वला, मदर्सा र कव्रिस्तानहरुको भौतिक पूर्वाधार निर्माणका लागि विनियोजित एक करोड रुपैँया पनि फ्रिज भएको छ । उक्त रकम प्रयोग नभएको जानकारी डुडुवा गाउँपालिकाले १० असारमा जिल्ला समन्वय समितिलाई पत्र मार्फत जानकारी गराएको थियो ।
उक्त एक करोड र नेपालगन्ज उपमहानगरपालिका भित्रका योजनाका लागि विनियोजित बजेट मध्ये खर्च हुन नसकेको डेढ करोड रुपैँया भेरी अस्पतालमा जडान हुने गरि भेन्टिलेटर तथा अन्य उपकरण खरिद गर्ने निर्णय भएको थियो । तर, उक्त निर्णय गर्नुअघि मेयरसँग कुनै सल्लाह गरिएको देखिएन ।
नेपालगन्ज उपमहानगरपालिका मार्फत रकम खर्च गरिने भएकोले बजेट विनियोजन गर्नुअघि मेयरसँग राय, सल्लाह, सुझाव लिनु पर्दथ्यो । कुन शीर्षकमा कति रकम विनियोजन गरिदै छ भन्ने पूर्व जानकारी गराएको भए विवाद बल्झिने थिएन नै रकम फ्रिज हुनबाट जोगिने थियो ।
सांसद मोहम्मद इस्तियाक राईले विना जानकारी रकम र योजना बनाएर दिए पनि नेपालगन्ज उपमहानगरपालिकाले सहर्ष स्विकार गरि नियमावलीलाई टेकेर रकमको सदुपयोग गर्नु पर्दथ्यो । र, निर्देशन समितिका संयोजक र सदस्य सचिवले गरेको निर्णय तथा पत्रको आधारमा कोष तथा लेखा नियन्त्रण कार्यालयलाई दुई लाइनको पत्र पठाएर कोभिड–१९ कोषमा जम्मा गरिदिन अनुरोध गरेको भए अहिले आरोप प्रत्यारोपमा उत्रिनु पर्ने थिएन ।
निर्देशन समितिबाट ढिला गरि पत्र गयो र १५ दिनभित्र काम गर्न सक्ने अवस्था थिएन । यो दावीमा केहि सत्यता छ, तर उपमहानगरले एउटा पत्र पठाई दिएको भए अरुले आरोप लगाउने ठाउँ पाउने थिएनन् । काम गर्दागर्दै समय अभावले रकम फ्रिज हुन गयो भन्ने बाटो उपमहानगरले पाउने थियो ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट सदुपयोग भएको भए अहिले भेरी अस्पतालले सहयोगको याचना गर्नुपर्ने थिएन । कोरोना संक्रमित विरामीले सहज रुपमा उपचार पाउने थिए । यसको जस सांसद राईले मात्र पाउने थिएनन् मेयर डा. राणाको पल्ला पनि भारी नै हुने थियो ।
अब आरोप प्रत्यारोप लगाएर कुनै फाइदा छैन । बरु आगामी दिनमा आउने बजेट कसरी परिचान गर्ने बारे दुवै वीच समन्वय, सहकार्य र सम्बाद हुन जरुरी देखिन्छ । एकले अर्काको अस्तित्व स्विकार गरि अगाडी बढ्न सकेमात्र दुवै नेताको शिर उचो हुने र नेपालगन्जको विकासमा गति लिने देखिन्छ ।