बाँके, १४ भाद्र ।
नरैनापुर गाउँपालिका–५, मटेहियास्थित दिदिको घरमा पाहुना पर्न गएका राप्तीसोनारी गाउँपालिका–६, डाँडा टेपरीका ब्रम्हादीन गोडियालाई २०६० सालमा बेपत्ता भए । उनलाई गाउँलेले माओवादीको नाममा नियन्त्रणमा लिएर सुरक्षाकर्मीलाई बुझाएदेखि उनको कुनै पत्तो छैन ।
ब्रम्हादीनलाई सुरक्षाकर्मीले बेपत्ता पारेपछि उनका आमा राजरानी गोडियाको आँखा सुकेको छैन । बेपत्ता भएको १४ बर्ष वितेपनि अहिलेसम्म बिर्सन नसकेको आमा राजरानीले बताइन् । उनले अहिलेसम्म छोरा आउने आशा जिवितै रहेको बताइन् । राज्यले तिम्रो छोरा मरिसक्यो भनेको भए माया मार्न सकिन्थ्यो । ‘छोरा मरेको छैन, एक दिन फर्केर आउँछ भन्ने लाग्छ । कोही मानिस घरमा आउँदा पनि छोरा आयोकी भन्ने लाग्छ,’ छोराको कुरा गर्दै गर्दा भक्कानिएकी राजरानीले भनिन् ।
लाश या सास मध्ये एउटा पाएको भए पनि केहि राहत हुने उनको भनाई छ । उनले छोराको अवस्था अज्ञात हुँदा झनै पीडा हुने गरेको बताइन् । ‘जनताको मुक्तिका लागि मैदानमा उत्रिएकाहरुका परिवारले राम्रोसँग एक छाक खान पाएका छैनौँ, तर खुट्टामा जुत्ता नहुने नेताको सहरमा पक्की घर र छोराछोरी विदेशमा पढ्छन्,’ उनले भनिन् ।
किनमेल गर्न नेपालगन्ज आएका बैजनाथ गाउँपालिका–८, टिटिहिरियाका मोहन सिंह थारु ०६२ सालमा बेपत्ता भए । उनलाई कसले बेपत्ता बनायो उनका परिवारलाई राम्रो जानकारी छैन । बेपत्ता दिवसको अवसरमा आयोजित कार्यक्रममा दीप प्रज्ज्वलन गर्न नेपालगन्ज आएकी मोहन सिंह थारुका पत्नी फुलारानी थारुले पती बेपत्ता भएपछि दुखको दिन सुरु भएको बताइन् ।
उनले कमाई गरेर खुवाउने सहारा गुमेपछि कोहलपुर लगायत विभिन्न ठाउँमा गएर मजदुरी गरि दुई छोरीको लालनपालन र शिक्षादीक्षा दिने गरेको बताइन् । ‘राहत रकम नदिए पनि काम गर्ने थलो देऊ भन्दा कुनै नेताले हाम्रो कुरा सुन्दैनन्,’ उनले भनिन्, ‘एक घण्टा साइकल चलाएर मजदुरी गर्न कोहलपुर जान्छु । कुनै दिन काम पाइन्छ । कुनै दिन पाइन्न । काम नपाएको दिन त्यसै फर्किन्छु ।’
द्वन्द्व कालमा बाँकेका १०३ जना बेपत्ता भएका छन् । ति मध्ये ६५ जनाका परिवारले मात्र अन्तरिम राहत पाएको द्वन्द्व पीडित महिला राष्ट्रिय संजालकी चन्द्रकला उप्रेतीले बताइन् । सेना र प्रहरीका परिवारलाई जस्तै नभई एक–दुई लाख गरि पटक–पटक राहत रकम दिँदा उचित ठाउँमा प्रयोग हुन नसकेको उनले बताइन् । ‘पटक–पटक गरि हामीले पनि १० लाख त पायौँ, तर पटक–पटक पाउँदा उचित ठाउँमा लगाउन सकेनौँ,’ उनले भनिन्, ‘पटक–पटक पाएको रकमले हामीलाई थप पीडा दिएको छ ।’
यसैवीच, बेपत्ता दिवसको अवसरमा नेपालगन्जमा रक्तदान गरिएको छ । बेपत्ताहरुको सम्झनामा गरिएको कार्यक्रममा १९ जनाले रक्तदान गरेको उप्रतीले बताइन् । सामाजिक दूरी पालना हुने गरि संकलन गरिएको रगत गरिव, दुखी र बेपत्ता परिवारका सदस्यलाई प्रदान गरिने उनको भनाई छ ।