अर्कैको भवन, त्यहि पनि जीर्ण, चुहिएर प्रहरीलाई हैरानी (फिचर)

४६ बर्ष पुरानो सीमा प्रहरी चौकी, सूइयाको जीर्ण भवन ।

बाँके, ५ भाद्र ।
पछि थप गरिएका प्रहरी चौकी अर्कैको भवनमा संचालनमा छन् । बस्न अयोग्य भएको भवनमा प्रहरी कार्यालय संचालनमा छन् । भवन जीर्ण भएपछि वडा कार्यालयले छोडेर गएको भवनमा प्रहरी चौकी, गंगापुरले स्याहेरेको छ । दुईतले उक्त भवन सानो पानी पर्दासमेत चुहिने गरेको प्रहरी सहायक निरीक्षक रामकृष्ण थापाले बताए ।
उनले पानी परेको बेला बस्न र सुत्न नमिलेको बताए । प्रहरी चौकी भवनबाट राप्ती नदी प्रष्ट देखिन्छ । पानी परेको बेला खाट कहिले यता त कहिले उता सार्ने गरेको उनको भनाई छ । ‘सानो स्केलको भूकम्प आउँदा पनि ढल्ने जस्तो जीर्ण छ । नदीमा सानो बाढी आउँदासमेत कार्यालयमा पस्छ । ‘बाढी आउँदा अरुको उद्धार गर्नुको साटो हाम्रो उद्धार अरुले गर्नुपर्ने जस्तो हुन्छ,’ उनले भने ।
प्रहरी चौकी, गंगापुर र सशस्त्र प्रहरी बल, विओपी गंगापुर एउटै पर्खाल भित्र छन् । साविक गंगापुर गाविसको भवनमा प्रहरी चौकी छ भने त्यसको पछाडी रहेको स्वास्थ्य चौकी गंगापुरको भवनमा सशस्त्र प्रहरीको विओपी कार्यालय छ । यी दुई प्रहरीको काम गर्ने प्रकृति र सेवा फरक छ । ‘हामी दुई संगठनको काम गर्ने प्रकृति फरक छ । सेवा प्रवाह गर्ने र जिम्मेवारी पनि भिन्न छ । भिन्न प्रकृतिका दुई वटा कार्यालय एउटै पर्खाल भित्र हुँदा काम गर्न एकदमै असहज भएको छ,’ असई थापाले भने ।

जीर्ण भवनमा रहेको प्रहरी चौकी फत्तेपुर ‘क’ को भान्सामा खाना खाँदै प्रहरी ।


अस्थाई प्रहरी पोष्ट, फत्तेपुर पनि अर्कैको भवनमा छ । उद्धार गरेर ल्याइएका बाढी पीडितलाई राख्नका लागि रेरी नामक संस्थाले बनाएको सेल्टर भवनमा प्रहरी चौकी भएको इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर चन्दले बताए । उनले बाढी आएपछि डुवानमा परेकाहरु आश्रय लिन यहिँ आउने गरेको बताए । ०६९ सालमा स्थापना भएको उक्त प्रहरी चौकी बस्तीभन्दा टाढा र मुख्य सडक भन्दा तीन किलोमिटर भित्र पर्छ । ‘पायक पर्ने ठाउँमा सार्न माग गरिएको छ, तर अहिलेसम्म सुनुवाई भएको छैन,’ उनले भने, ‘यो भवन पनि जीर्ण भइसकेको छ ।’
प्रहरी चौकी, फत्तेपुर ‘क’ पनि अर्कैको भवनमा छ । उक्त प्रहरी चौकी वडा कार्यालयको एउटा कोठाबाट संचालन भइरहेको इन्चार्ज प्रहरी सहायक निरीक्षक फत्तेबहादुर हमालले बताए । उनले कार्यालय र बेडरुम एउटै कोठामा भएको बताए । स्थायी दरवन्दीको स्विकृती पाए पनि सुत्ने खाट समेत नभएको उनको भनाई छ । आइसोलेसन बन्द भएपछि त्यहाँ भएका खाट ल्याएर काम चलाएको उनले बताए । ‘यसअघि डोरीले बुनेको खटियामा सुत्थ्यौँ । विद्यालयमा स्थापना भएको आइसोलेसन बन्द भएपछि काम चलाउन त्यहाँ भएका खाट ल्याएका छौँ,’ उनले भने ।
प्रहरी चौकी, नरैनापुर, पशु स्वास्थ्य चौकीको भवनमा छ भने प्रहरी चौकी लक्ष्मणपुर टिनले छाएको एउटा कोठामा छ । प्रहरी चौकी कालाफाँटाको पनि आफ्नो भवन छैन ।

४६ बर्ष पुरानो सीमा प्रहरी चौकीको चर्केको दिवाल ।


४६ बर्ष पुरानो भवनमा सीमा प्रहरी कार्यालय
सीमा प्रहरी चौकी सूईया ४६ बर्ष पुरानो भवनमा छ । उक्त भवनको इट्टा कुहिएको छ । भवनको दिवाल चर्केको छ । चर्केको दिवाललाई टालटुल पारेर काम चलाउ बनाइएको छ । भवन जीर्ण भएकोले पानी पर्ने बित्तिकै चुहिन्छ ।
पानी परेपछि छतबाट पानीसँगै सीमेन्टको धुलो खस्ने गरेको चौकी इन्चार्ज प्रहरी नायव निरीक्षक दीर्गबहादुर शाहीले बताए । उनले डराएर बस्न परेको गुनासो गरे । ४६ बर्ष पुरानो भवनमा बसेर काम गर्दा मनोबल खस्ने गरेको उनले बताए । ‘पानी पर्ने बित्तिकै बेड एताउता सार्नुको विकल्प छैन,’ उनले भने, ‘भत्किन्छ की भनेर डराई डराई सुत्छौँ ।’

प्रहरी चौकी गंगापुरको जीर्ण भवन ।


सोलार बत्तीको भरमा प्रहरी चौकी
नरैनापुर गाउँपालिका–१, सुईयामा रहेको सीमा प्रहरी चौकीको आफ्नै भवन हो । ४६ बर्ष पहिले स्थानीयले प्रहरीका लागि उक्त भवन बनाई दिएका थिए । जमिन पनि यसै बर्ष प्रहरीको नाममा भएको छ । तर, प्रहरी भवनमा बत्ती छैन । एक महिना अघि विद्युतीकरण भए पनि अहिलेसम्म विद्युत जडान नभएको इन्चार्ज शाहीले बताए ।
उनले सोलार बत्तीको भरमा काम भइरहेको बताए । प्रहरी चौकी, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, गंगापुर र इलाका प्रहरी कार्यालय मटेहियामा पनि विजुली छैन । ति प्रहरी कार्यालयले काम चलाउ सोलार बत्ती जडान गरिएको छ ।
सवारी साधनको नाममा थोत्रा मोटरसाइकल
एउटा प्रहरी चौकीले कम्तीमा १५ सय घरधुरीलाई सुरक्षा दिनुपर्ने हुन्छ । मुख्य सडक र बस्तीभन्दा टाढा भएका प्रहरी चौकीमा पुग्न सजिलो पनि छैन । सानो पानी पर्ने वित्तिकै सवारी साधन संचालन गर्न नमिल्ने ठाउँमा प्रहरी चौकी छन् । यी प्रहरी चौकीलाई सरकारले एक–एक वटा मोटरसाइकल दिएको छ । तर, ती मोटरसाइकल पनि विग्रिएर थोत्रा भएका छन् । सीमा प्रहरी चौकी सुईयाका इन्चार्ज दीर्गराज शाहीले सरकारी मोटरसाइकल ६ महिनादेखि विग्रिएर थन्किएको बताए ।
त्यसैगरि, प्रहरी चौकी गंगापुरका इन्चार्ज रामकृष्ण थापाले पनि मोटरसाइकल पुरानो भएर चढ्न नमिल्ने भएको बताए । उनले एक हजार ७५० घरधुरीलाई सुरक्षा दिन्छन् । उनी भन्छन्, ‘कतै जाँदाजाँदै मोटरसाइकल विग्रिन्छ । चलाउनु भन्दा नचलाउनु जाती भनेर थन्क्याएर राखेका छौँ,’ उनले भने ।

४६ बर्ष पुरानो सीमा प्रहरी चौकी भवनको खण्डहर ठाउँमा प्रहरीको बेड ।


सरकारी नम्बरका मोवाइल फोन बन्द
सरकारले प्रत्येक प्रहरी चौकीलाई एक–एक वटा मोवाइल सेट र सीम दिए पनि अधिकांश प्रहरी चौकीका सरकारी नम्बर बन्द भएका छन् । जिल्ला प्रहरी कार्यालयले फोनबापतको रकम नदिएपछि प्रहरी चौकीले सरकारी नम्बरमा पैँसा हाल्न छाडेका छन् ।
प्रहरी चौकी फत्तेपुर ‘ख’ का इन्चार्ज रामबहादुर चन्दले पैँसा नभएकोले सरकारी नम्बरको फोन थन्क्याएर राखेको बताए । त्यसैगरि, प्रहरी चौकी फत्तेपुर क र गंगापुरका इन्चार्जले पनि सरकारी नम्बर ब्लक भइसकेको बताए ।
छाप्रोमा भान्सा, उभिएर खान बाध्य
प्रहरी चौकी गंगापुरको भान्सा घर खरले छाएको छाप्रोमा छ । खाना बनाउने ठाउँ नभएपछि खरको छाप्रोलाई भान्साको रुपमा प्रयोग गरिएको इन्चार्ज थापाले बताए । उनले पानी नपरेको बेला काठ गाडेर बनाइएको बेन्चमा बसेर खाना खाने गरेको स्पष्ट पारे । ‘पानी परेन भने बाहिर बनाएको बेन्चमा पालैपालो बसेर खान्छौँ । पानी परेको बेला त्यहि छाप्रोमा उभिएर खान्छौँ,’ उनले भने ।
प्रहरी चौकी फत्तेपुर क को भान्सा सहकारीको जीण भवनमा छ । वडा कार्यालयले फालेका कुर्ची र टेवललाई मर्मत गरि भान्सामा राखिएको इन्चार्ज हमालको भनाई छ ।
त्यसैगरि, प्रहरी चौकी फत्तेपुर ख मा पनि खाना खान समस्या छ । उक्त चौकीमा पनि खाना खानका लागि भान्सा बाहिर काठ गाडेर खाना खाने टेवल र बेन्च बनाइएको छ । ‘घाम, शीत र पानी परेको बेला उभिएर खाना खानुको विकल्प छैन,’ इन्चार्ज चन्दले भने ।

प्रहरी चौकी गंगापुरको घरले छाएको फुसको भान्सा ।
Previous articleआफ्नै सालालाई अपहरण गरि १० लाख फिरौती माग्ने पक्राउ
Next articleनरैनापुरमा मोहर्रमको सार्वजनिक बिदा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here