बाँके, १२ भाद्र ।
नेपालगञ्ज उप–महानगरपालिकाले कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथाम र राहत वितरणमा चार करोडभन्दा बढि रकम खर्च गरेको छ । विभिन्न दाताले प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेको एक करोड ७१ लाख ७८ हजार १४६ रुपैँया मध्ये एक करोड ५२ लाख १३ हजार ५२० रुपैँया खर्च भएको उपमेयर उमा थापा मगरले जानकारी दिइन् ।
स्वास्थ्य सामग्री खरिद, भाडामा बसेकालाई राहत वितरण, क्वारेन्टाइन तथा आइसोलेसन संचालन एवम् ब्यवस्थापन, जिल्ला विपद ब्यवस्थापन कोषलाई प्रदान र विविध गरि उक्त रकम खर्च भएको उनले बताइन् । कोषमा संघीय सरकार, प्रदेश सरकार, विभिन्न सहयोगीदाता, कर्मचारी, संघसंस्था र ब्यक्तिले सहयोग रकम दिएका थिए ।

उनले कोभिड–१९ बाट प्रभावित समुदायलाई २३ वटा वडा कार्यालयले दुई करोड ५५ लाख ३४ हजार २५० रुपैँया बराबरको राहत सामग्री वितरण गरेको स्पष्ट पारिन् । उनले २३ वटा वडाले १४ हजार पाँच सय ९१ जनालाई राहत वितरण गरेको बताइन् । ‘कोभिड–१९ सँग सम्बन्धित विभिन्न शिर्षकमा कुल चार करोड सात लाख ४७ हजार ७७० रुपैँया खर्च भएको छ,’ उनले भनिन् ।
राहत वितरणमा सवैभन्दा धेरै वडा नं. ४ ले खर्च गरेको देखिन्छ । उसले २८ लाख ६८ हजार २५० रुपैँया र सवैभन्दा कम वडा नं. २३ ले एक लाख ८ हजार पाँचसय रुपैँयाको राहत वितरण गरेको उपमहानगरले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ । २३ वटै वडा कार्यालयमार्फत १४ हजार ५११ जनालाई दुई करोड ५५ लाख ३४ हजार २५० रुपियाँ बराबरको राहत वितरण भएको उपमहानगरपालिकाले जनाएको छ ।
