बिना अर्थको दवावले जमुनाह प्रहरीलाई हैरानी

बाँके, १० भद्रौ ।
नेपाल–भारत नाका ६ महिनादेखि सिल छ । मालबाहक गाडी बाहेक अरुलाई आउजाउ गर्न दिइएको छैन । भारतमा रहेकाहरुबाट नेपालमा र नेपालबाट भारत जानहरुबाट कोरोना सर्ने भन्दै दुवै देशको सहमतिमा सीमा नाका सिल गरिएको हो । सीमा नाका सिल गरिएपछि औषधि उपचार गराउन जानेहरु समेत सहज तरिकाले जान पाएका छैनन् । कामका लागि भारत जाने र कामका लागि नेपाल आउनेहरुलाई पनि आउजाउमा रोक लगाइएको छ ।
सरकारी नीति कार्यान्वयन गर्न नेपालतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तैनाथ छन् । यी तीन वटै निकायका सुरक्षाकर्मीले आ–आफ्नो भूमिका निर्वाह गरिराखेका छन् । सीमा वारपार गर्नेलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्छन् । जाँचबुझ गरि क्वारेन्टाइनमा पठाउँछन् । क्वारेन्टाइनमा लैजान नेपाली सेनाले सघाउँछन् ।
नेपाल आउन नेपाली नागरिकताको प्रमाणपत्र देखाउनु पर्ने हुन्छ । भने, भारत जानका लागि साथमा आधार कार्ड हुनुपर्छ । सरकारी नीति कार्यान्वयन गर्न अहोरात्र खटिरहेका सुरक्षाकर्मीहरु जनप्रतिनिधि र राजनीतिक दलका नेताबाट हैरान भएका छन् । भारतबाट सीमा नाकामा आएकाहरुलाई लिन राजनीतिक दलका नेता र जनप्रतिनिधिहरु जमुनाह पुग्ने गरेका छन् । ‘राजनीतिक दलका नेता र जनप्रतिनिधिहरु नाकामा आएर क्वारेन्टाइनमा नपठाउन दवाव दिन्छन् । प्रवेश गर्न नदिँदा धम्की दिन्छन्,’ इलाका प्रहरी कार्यालय, जमुनाहमा कार्यरत एक प्रहरी अधिकृतले भने ।
न्वारन र पास्नीमा समेत आउजाउ गर्न दवाव
न्वारन, पास्नी, जन्मदिन, पुण्यतिथी, दाहासंस्कार, विरामी भेट्ने बहाना बनाएर नेपाल–भारत आउजाउ हुने गरेको छ । कतिपयले छोरी–ज्वाई वीचको झगडा मिलाउन भन्दै भारतीयहरु नेपाल आउन खोज्छन् ।
रक्षा बन्धनका बेला हुल थाम्न नसकेर खुकुलो गर्न प्रहरी बाध्य भयो । त्यस लगत्तै नेपालगन्जमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो । भारतबाट आउनेलाई लिन जनप्रतिनिधि र दलका नेताहरु जमुनाह पुग्दैनन् । इष्टमित्र भेट्न केहि दिनका लागि भारत जानेहरुलाई सिफारिस समेत दिने गरेका छन् । इष्टमित्र भेट्न भारत जानका लागि वडा कार्यालयबाट सिफारिस लिएर आउँछन् । ‘जान मिल्दै भन्ने हो भने वडा अध्यक्ष र राजनीतिक दलका नेताहरुले थर्काउनसम्म थर्काउँछन् । हामी त दुई ढुंगाको तरुल झैँ भएका छौँ,’ इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख प्रहरी नायप निरीक्षक (सई) बिष्णु गिरीले भने ।


औषधि किन्न जानेको जमुनाहमा भीड
नाका सिल भएपछि भारतीय चिकित्सकले सिफारिस गरेको औषधि सेवन गरिरहेका विरामीलाई सास्ती भएको छ । औषधि किन्नका लागि दैनिक सरदर तीन सय जना सर्वसाधारण जमुनाह पुग्ने गरेको सई गिरीले बताए ।
औषधि किन्न जानेको भीड लागेपछि सम्हाल्न गाह्रो हुने गरेको उनले बताए । उनले औषधि किन्नेलाई समेत रुपइडिहा जान नपाइने प्रशासनको निर्देशन भएपछि आफै ल्याई दिने गरेको बताए । ‘औषधि लिन आफै जान्छौँ भनेर दवाव दिन्छन् । नेता गुहार्छन् । पहुँचवालालाई फोन गर्न लगाउँछन् । तर, हामीले कसैको दवावमा नपरेर हामी आफै रुपइडिहा गएर औषधि ल्याई दिन्छौँ । एक जना प्रहरीको काम रुपइडिहा गएर औषधि ल्याउने भएको छ,’ उनले भने, ।
आँखाको औषधि किन्न नेपालगन्ज आउनेको ताँती
नेपालीहरु औषधि किन्न भारत जान्छन्, तर भारतीयहरु आँखाको उपचार गराउन र औषधि किन्न नेपालगन्ज आउने गरेको सई गिरीले बताए । उनले दैनिक सरदर दुई सय भारतीय आँखाको उपचार र औषधि किन्नका लागि जमुनाह आउने गरेको बताए ।
भारतको भन्दा आँखाको उपचार नेपालगन्जमा राम्रो हुने भएकोले बहराइच, सराबस्ती, गोन्डा, लखनउ लगायत जिल्लाका भारतीय आँखा उपचारका लागि नेपाल आउने गरेको उनले जानकारी दिए । ‘टाढा–टाढाबाट आएकाहरु नाकामा आएर हारगुहार गर्छन् । टिठ लाग्छ । जान दिउँ कोरोना सर्ने डर, नजान दिउँ मानवियताको सवाल छ । दोधारमा पर्छौँ,’ गिरीले भने ।

Previous articleप्रशासनलाई झुक्याएर नागरिकताः छोराको नाममा सिफारिस, नातीको फोटो टाँस गरि नागरिकता
Next articleनेपाली सेनाका ५१ सहित एकैदिन ७३ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here