बाँकेका १४८ सुरक्षाकर्मी, ७ चिकित्सक र ३१ स्वास्थ्यकर्मीलाई कोरोना

बाँके, १० भाद्र ।
बाँके जिल्लामा कार्यरत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र बैंकमा कार्यरत कर्मचारीमा धमाधम कोरोना देखिन थालेको छ । विगत तीन महिनाको अवधिमा विभिन्न सुरक्षा निकायमा कार्यरत एक सय ४८ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार नेपाली सेनाका ५१ जनामा कोरोना पुष्टि भएपछि बाँकेमा कोरोना संक्रमितको संख्या १४८ पगेको हो ।
कोरोना संक्रमण हुनेमा सबै भन्दा बढि नेपाली सेनामा कार्यरत सुरक्षाकर्मी छन् । नेपाली सेनामा कार्यरत ८१ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
त्यसपछि दोस्रोमा नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी छन् । नेपाल प्रहरीका ५१ जनामा कोरोना देखिएको छ । ति मध्ये ४७ जना बाँकेमा कार्यरत प्रहरी हुन् भने चार जना अन्य जिल्लाबाट तालिममा आएका प्रहरी भएको उनले बताए ।
उनले दिएको जानकारी अनुसार, सशस्त्र प्रहरी बलका १५ जनामा पनि कोरोना पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, औद्योगिक सुरक्षा गण, नेपालगन्जमा कार्यरत सुरक्षाकर्मीमा कोरोना देखिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत एक जना नगर प्रहरीमा पनि कोरोना पुष्टि भएको छ । नगर प्रहरी इन्चार्ज प्रहरी निरीक्षक सूर्य बोगटीलाई कोरोना संक्रमण भएको हो । नेपाली सेनामा मेजर स्तरका चिकित्सक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक पदका अधिकृतलाई पनि कोरोना संक्रमण भएको श्रेष्ठको भनाई छ ।
जिल्ला कारागार कार्यालय, नेपालगन्जमा रहेका १० जना कैदी र दुई जना थुनुवामा पनि कोरोना संक्रमण भएको उनले जानकारी दिए ।
भेरीका दुई सहित सात चिकित्सकलाई कोरोना
बाँकेमा ७ चिकित्सक र ३१ जना स्वास्थ्यकर्मीलाई कोरोना भएको छ । पछिल्लो पटक भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे र कोरोना फोकल पर्सन डा. संकेत रिसालमा कोरोना देखिएको छ ।
बिरामीको उपचार गर्ने क्रममा भेरी अस्पतालका दुई, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका ४ र सैनिक अस्पताल नेपालगन्जका एक जना गरि ७ जना चिकित्सकलाई कोरोना संक्रमण भएको छ । त्यसैगरि, स्टाफ नर्स, अहेब र प्रयोगशालामा कार्यरत प्राविधिकसहित ३१ जनालाई पनि कोरोना संक्रमण भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।
बाँके जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय ३५ पुगेको छ । कोरोना जितेर ६ सय २८ घर फर्किसकेका छन् । दुई सय ३ जना आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेको श्रेष्ठको भनाई छ ।

Previous articleनेपाली सेनाका ५१ सहित एकैदिन ७३ जनामा कोरोना पुष्टि
Next articleभेरी अस्पतालका थप एक डाक्टरलाई कोरोना संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here