प्रशासनलाई झुक्याएर नागरिकताः छोराको नाममा सिफारिस, नातीको फोटो टाँस गरि नागरिकता

बाँके, ८ भाद्र ।
झुठो विवरण पेश गरि छोरीको छोराको नागरिकता बनाउन सहयोग गर्ने नरैनापुर गाउँपालिका–६, गंगापुरका इमाम दर्जीसँग बयान लिइएको छ । छोरोको नाममा छोरीको छोरा (नाती) को फोटो टाँसेर नागरिकता बनाएको उजुरीको आधारमा दर्जीलाई प्रहरीले पक्राउ गरेको इलाका प्रशासन कार्यालय, नरैनापुरका प्रमुख रामकुमार सोनखरले जानकारी दिए ।
दर्जीले छोराका नाममा नागरिकता बनाउन भनि वडा कार्यालयबाट सिफारिस लिएर नातीको नाममा नागरिकता बनाएको नरैनापुर गाउँपालिका–६ का वडा अध्यक्ष बीरेन्द्रपाल सिंहले बताए । उनले वडा कार्यालयलाई दर्जीले झुक्याएको बताए । ‘छोरोको नाममा सिफारिस लिएर फोटो नातीको टाँसेर झुक्याउने काम भयो,’ उनले भने ।
दर्जीकी छोरी मोसिमाको भारतमा विवाह भएको थियो । दर्जीकी छोरी २०५५ सालदेखि माइतीमै बस्दै आएकी छन् । उनले साविक गंगापुर गाविसमा नाती इम्रानको जन्मदर्ता समेत गराइसकेका छन् । ‘तत्कालिन गाविस सचिवको मिलेमतोमा दर्जीले २०५८ सालमा नातीको जन्मदर्ता गराएको देखिन्छ,’ अध्यक्ष सिंहले भने ।
उनले वडामा बस्ने सवैको नाम थाहा नहुने र ब्यक्तिलाई चिन्न नसकिने बताउँदै मान्छे नचिनेर सिफारिस दिँदा गल्ती भएको स्विकार गरे । ‘दर्जीले छोराको नाममा नातीको फोटो टाँस्लान भन्ने सोँचेका पनि थिएनौँ,’ उनले भने, ‘वडाबासीको विश्वास गर्दा धोका पाइयो ।’
इलाका प्रशासन कार्यालय, नरैनापुरका प्रमुख सोनखरले सवै प्रक्रिया पूरा भएर आएकोले वडा कार्यालयको सिफारिस अनुसार दर्जीका नातीलाई नागरिकता दिएको बताए । ‘वडा कार्यालयले पहिले नै छानविन गरि सिफारिस दिनु पथ्र्यो । कागजात पूरा भएकालाई हामीले नागरिकता दिनै पर्छ । दिएनौँ भने प्रक्रिया पूरा हुँदाहुँदै पनि दिएनन् भन्ने हुन्छ,’ उनले भने, ‘झुठो विवरण पेश गरेर नागरिकता बनाउन सहयोग गर्ने इमामलाई कारवाहीको दायरामा ल्याउँछौँ ।’
नागरिकता जफत
दर्जीले १६ साउनमा वडा कार्यालयबाट नागरिकताको सिफारिस लिए । तर, लकडाउनका कारण उनी नेपालगन्ज आउन सकेनन् । उनका नातीले इलाका प्रशासन कार्यालयबाट १ भदौँमा नेपाली नागरिकताको प्रमाणपत्र लिए ।
भारतमा घर भएका ब्यक्तिले नागरिकता लिएको गाउँघरमा हल्ला फैलियो । बुझ्दै जाँदा इमामले आफ्नो छोरोको नाममा छोरीको छोराको फोटो टाँसेर झुठो विवरण पेश गरेर नागरिकता लिएको खुलासा भयो । झुठो विवरण पेश गरेर भारतीयले नागरिकता लिएको र गैर नेपालीलाई नागरिकता दिलाउन वडा कार्यालयले सिफारिस दिएको भन्दै इलाका प्रशासन कार्यालयमा उजुरी प¥यो ।
उजुरी लगत्तै इलाका प्रशासन कार्यालयले चासो देखायो । प्रहरीलाई खवर गरि पक्राउ गर्न आदेश दियो । प्रहरीको सहायतामा प्रशासनले ५ भदौँमा नागरिकता जफत ग¥यो । भने, झुठो विवरण पेश गरेर नागरिकता बनाउन सहयोग गर्ने इमाम दर्जीलाई पक्राउ गरेको छ । उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
वडा अध्यक्ष, सचिव र पूर्व सचिवसँग बयान लिइने
गैर नेपालीलाई नागरिकता दिलाउन सिफारिस गर्ने वडा अध्यक्ष बीरेन्द्रपाल र वडा सचिवलाई बयानका लागि बोलाइएको छ । ‘गैर नेपालीको जन्मदर्ता बनाउने साविक गंगापुर गाविसका सचिव पनि यो मुद्धामा तानिने देखिन्छ,’ इलाका प्रशासन कार्यालयका प्रमुख सोनखरले भने, ‘सवैसँग बयान लिने तयारी भइरहेको छ ।’
झुठो विवरण पेश गरेर नागरिकता लिने ब्यक्ति भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleकोरोनाका कारण बाँकेमा थप एक पुरुषको मृत्यू
Next articleबिना अर्थको दवावले जमुनाह प्रहरीलाई हैरानी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here