कोभिड विशेष अस्पतालका लागि जुट्न थाल्यो रकम

बाँके, ९ भाद्र ।
भेरी अस्पतालमा कोभिड विशेष अस्पताल स्थापनाका लागि रकम जम्मा हुन थालेको छ । जिल्ला कोभिड क्राइसिस मेनेजमेन्ट सेन्टर (डिसीसीएमसी) ले अस्पताल निर्माण गर्न रकम अभाव भएको भन्दै सहयोगको अपील गरेपछि समुदायस्तरबाट रकम जुट्न थालेको हो ।
डिसीसीएमसीका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले अस्पताल निर्माणका लागि एक करोड संकलन गर्ने लक्ष्य रहेको बताए । उनले ९ भाद्रसम्म २० लाख रुपैँया जम्मा भइसकेको बताए ।
बाँकेमा कार्यरत कर्मचारीले एक दिनको तलव दिने निर्णय गरिसकेको बताउँदै उनले कर्मचारीबाट मात्र २० लाख बढि संकलन हुने दावी गरे । कोष तथा लेखा नियन्त्रण कार्यालयले भर्खरै तलव निकासा गरेको बताउँदै उनले कर्मचारीबाट उठ्ने रकम छिट्टै जम्मा हुने बताए ।
उनले कोभिड अस्पताल निर्माणका लागि सहयोग गर्न चाहने दाताले भेरी अस्पताल विकास कोषको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खातामा रकम जम्मा गर्न अपील गरेका छन् । कोभिड अस्पताल निर्माण गर्न अस्पतालसँग रकम नभएको स्पष्ट पारे ।
कोभिड विशेष अस्पताल निर्माणका लागि जिल्ला विपद ब्यवस्थापन समितिले १० लाख रुपैँया प्रदान गरेको छ । भने, नेपाल राष्ट्र बैंक, नेपालगन्जका कर्मचारीले ५० हजार र पत्रकार जससिंह केसीले २० हजार रुपैँया सहयोग गरिसकेका छन् ।
उद्योग बाणिज्य संघको ५ लाख ५१ हजार सयोग
कोभिड अस्पताल निर्माणका लागि नेपालगन्ज उद्योग बाणिज्य संघले १० लाख रुपैँया प्रदान गरेको छ । अस्पताल निर्माणमा रकम अभाव भएको भन्दै सहयोगको अपील गरिएपछि संघले मंगलवार पाँच लाख ५१ हजार रुपैँया प्रदान गरेको छ ।
मंगलवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले कोभिड बिशेष अस्पताल निर्माण समितिका संयोजक डा. श्यामसुन्दर यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्व बहन गर्दै संघले आर्थिक सहयोग गरेको अध्यक्ष मन्सुरीले बताए । कोभिड संकट समाधानका लागि बाँकेका निजीक्षेत्र सक्रियतापूर्वक लागेको स्मरण गर्दै अध्यक्ष मन्सुरीले आगामी दिनमा पनि अभियान जारी रहने जानकारी दिएका छन् ।


अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरेकोमा कोभिड बिशेष अस्पताल निर्माण समितिका संयोजक डा. यावदले प्राप्त रकमको सही सदुपयोग हुने विश्वास दिलाए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बाँकेमा कोरोना संकट समाधानमा निजीक्षेत्रले महत्वपूर्ण भूमिका निभाएको भन्दै प्रशंसा गरे । उनले स्वास्थ्य मापदण्ड पालना सन्तोषजनक भएको बताउँदै यसैमा हौसिने अवस्था नरहेकोले सचेत रहन आग्रह गरे ।
रकम नहुँदा अस्पताल संचालनमा ढिलाई
भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले कोभिड अस्पताल निर्माण गर्न सरकारले निर्देशन दिए पनि भौतिक पूर्वाधार निर्माण गर्न रकम नभएको बताए । उनले अस्पतालको खाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का गरेकोले समस्या भएको जिकिर गरे ।
कोरोना संक्रमण भई सिकिस्त विरामी परेका विरामीको प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सरकारले अनुमति दिएपछि तयारी थालिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । रकम अभावमा आवश्यक सामग्री खरिद गर्न नसकिएको उनको भनाई छ ।
उनले प्लाज्मा थेरापी विधिबाट उपचार सेवा संचालन गर्न धेरै उपकरण र जनशक्ति आवश्यक पर्ने बताए । कोभिड अस्पतालमा आइसियू र भेन्टीलेटर नभई नहुने भएपनि अहिलेसम्म खरिद गर्न नसकिएको बताए । बाँकेमा संचालित निजी अस्पतालले एसी जडान गर्न सहयोग गरेको उनको भनाई छ । ‘आवश्यक पूर्वाधार निर्माण नगरि कोभिड अस्पताल संचालन गर्नुको कुनै अर्थ रहदैन,’ डा. थापाले भने, ‘सामग्री खरिद गर्न नसक्दा अस्पताल संचालनमा ढिलाई भएको छ ।’

Previous articleभेरी अस्पतालका थप एक डाक्टरसहित ९ जनामा कोरोना पुष्टि
Next articleकोरोनाका कारण बाँकेमा थप एक पुरुषको मृत्यू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here