भेरी अस्पतालमा प्लाज्मा थेरापीको तयारी तीव्र, के हो प्लाज्मा थेरापी ?

बाँके, ७ भाद्र ।
कोरोना संक्रमण भई स्वास्थ्यमा जटिल समस्या भएका विरामीको उपचार नेपालगन्जस्थित भेरी अस्पतालमा गर्ने तयारी गरिएको छ । अस्पतालले जुनसुकै बेला विरामी आउन सक्ने भन्दै कार्यरत चिकित्कसलाई तयारी अवस्थामा राखेको अस्पतालका मेडिकल विभाग प्रमुख बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए ।
जटिल समस्या भएका विरामीको उपचारका लागि आइसियू र भेन्टीलेटरको ब्यवस्था गरिएको बताउँदै प्लाज्मा थेरापीबाट उपचार गर्न चिकित्सक तयारी अवस्थामा रहेको जानकारी दिए । बाँकेमा फेला परेका कोरोना संक्रमित मध्ये दुई जनाको अवस्था खराव भएको बताउँदै उनले ति दुई जनालाई अक्सिजन दिएर उपचार भइरहेको बताए । ‘भेरी अस्पतालमा उपचाररत ८ जना मध्ये दुई जनाको स्वास्थ्य अवस्था खराब छ । अक्सिजन दिएर उनीहरुको उपचार भइरहेको छ,’ डा. पाण्डेले भने ।


कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेमडिसिभर औषधी खरिद प्रक्रिया अगाडी बसेकेको उनले बताए । माग फाराम भरेर खरिदका लागि प्रक्रिया अगाडी बढिसकेको बताउँदै उनले औषधी खरिद भई छिट्टै आउने स्पष्ट पारे । ‘कोरोनाको जटिल समस्या आउन सक्ने खतरालाई मध्यनजर गरि अस्पतालले विरामीको उपचारको सम्पूर्ण ब्यवस्था मिलाउँदै छ,’ उनले भने ।
यसअघि स्थापना गरिएको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पताललाई खारेज गरि कोरोना संक्रमित विरामीको उपचार भेरी अस्पतालमा गरिने भएको छ । त्यसका लागि ५० बेडको जनरल वार्ड निर्माण भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।
जनरल वार्ड निर्माण अन्तिम चरणमा पुगेको डा. थापाले बताए । उनले नेपालगन्जस्थित भेरी अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचारको तयारी अन्तिम चरणमा पुगेको समेत बताए ।


प्लाज्मा थेपारी विधिबाट उपचार प्रभावकारी देखिएपछि भेरी अस्पतालबाट पनि सेवा सुरु गर्न लागिएको उनले बताए । स्वास्थ्य मन्त्रालयले भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजलाई प्लाज्मा थेपारी विधिबाट उपचार गर्न अनुमति दिएपछि अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. खगेन्द्रजंग शाहलाई प्लाज्मा थेरापीको विज्ञको रुपमा नियुक्त भएको उनले जानकारी दिए ।


प्लाज्मा थेरापी विधिबाट उपचार कसरी गरिन्छ ?
प्लाज्मा मानिसको रगतमा पाइने एक किसिमको तरल पदार्थ हो । कोरोना संक्रमितको रगतमा रोग प्रतिरोधात्मक क्षमता (एण्टीबडी) बनेर बसेको हुन्छ । संक्रमितको रगतबाट बनाइएको प्लाज्माले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पु¥याउने डा. पाण्डेले बताए ।
प्लाज्मा थेरापीका लागि कोरोना संक्रमित भई निको भएका ब्यक्तिले १४ दिन आइसोलेसमा बिताएको अर्को दुई हप्ता पछि प्लाज्मा दिन सक्ने भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. पाण्डेले बताए ।
आइसोलेसनमा बसेको १४ दिनपछि स्वाब लिएर पिसिआर विधिबाट फेरि कोरोना परीक्षण गरिन्छ । रिपोर्ट नेगेटिभ आएमा ती व्यक्तिको रगत लिएर सेतो रगत (आरविसी) र प्लेटलेट्स छुट्याइन्छ । त्यपछि बाँकी बचेको रगतलाई प्लाज्मा भनिन्छ । त्यही प्लाज्मालाई आइसियु वा भेन्टिलेटरमा उपचार भइरहेका संक्रमितलाई दिइन्छ । ‘जसलाई धेरै अक्सिजनको आवश्यक्ता परेको छ, त्यस्तो व्यक्तिलाई प्लाज्मा दिने गरिन्छ । यसलाई कन्भल्सेन्ट प्लाज्मा थेरापी भनिन्छ,’ उनले भने ।
संक्रमित व्यक्तिलाई हामी अन्य विरामीलाई रगत जसरी दिन्छौँ, ठ्याक्कै त्यही तरिकाले प्लाज्मा दिइन्छ । दुई घण्टामा २ सय एमएल प्लाज्मा दिइन्छ । डा. पाण्डे भन्छन्, ‘कुनै व्यक्तिलाई एक पटक दिँदा पुग्न सक्छ । कसैलाई दोहो¥याउनु पर्ने हुनसक्छ ।’
यो सामान्य अवस्थामा रक्तदान गरेको जस्तै हो । एउटा स्वस्थ ब्यक्तिले रगत दिए जस्तै संक्रमण भई निको भएको ब्यक्तिले हप्तैपच्छिे प्लाज्मा दिन सक्छ । तर स्वास्थ्य अवस्था राम्रो हुनु पर्छ । एक ब्यक्तिले एक पटकमा एक पिन्ट रगत दिन सक्ने उनले बताए ।
कम्पोनेन्ट मेसिनको सहयोगबाट प्लाज्मा बनाइन्छ । उक्त प्लाज्मालाई चिकित्सकको सिफारिसमा ब्लड गु्रप मिल्ने सिरियस बिरामीलाई दिइने डा. पाण्डेले बताए ।

Previous articleमुख्यमन्त्री शंकर पोख्रेलले दिए अट्वारीको शुभकामना
Next articleकोरोना अस्पताल संचालन गर्न पुराना बेड मर्मत गर्दै भेरी अस्पताल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here