कोरोना अस्पताल संचालन गर्न पुराना बेड मर्मत गर्दै भेरी अस्पताल

भेरी अस्पतालमा कोरोना अस्पताल संचालन गर्न अस्पताल परिसरमा फालिएका पुराना बेड मर्मत गर्दै मजदुर ।

बाँके, ८ भाद्र ।
भेरी अस्पतालमा निर्माण गर्न लागिएको कोरोना अस्पतालको पूर्वाधार निर्माण गर्न रकम अभाव भएको छ । रकम अभाव भएपछि सामान खरिद गर्न नसकेपछि प्राङ्गनमा फालिएका पूराना बेड मर्मत, सम्भार गरि संचालनमा ल्याइने भएको छ ।
खिया लागेर काम नलाग्ने भएपछि अस्पतालको विभिन्न वार्डबाट निकालिएका पुराना बेड मर्मत, सम्भार गरि प्रयोगमा ल्याउन रंगरोगन लगाउने र टुटफुट मर्मत गर्ने काम जारी रहेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले बताए ।
उनले भेरी अस्पतालको खाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोका गरेपछि रकम अभाव भएको बताए । ‘खरिद गरौँ भने खाता सिल छ । पैँसा खोजेर किनौँ भन्ने हो भने ढिला भइसक्यो । त्यसैले पुरानाबाट भए पनि काम चलाउन पुराना बेडमा रंगरोगन लगाउने काम भइरहेको छ,’ अध्यक्ष धितालले भने ।
उनले रकम नभएपछि आवश्यक पूर्वाधार निर्माणका लागि समुदायस्तरबाट रकम माग गरिएको बताए । यस विषम परिस्थितिमा सरकारको मुख ताक्नु भन्दा समुदायस्तरबाट रकम जुटाउन सजिलो भएकोले सवैसँग अपील गरिएको उनको भनाई छ ।
कोभिड क्राइसिस मेनेजमेन्ट सेन्टरका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले अस्पताल निर्माणका लागि रकम आवश्यक परेकाले समुदायस्तरबाट रकम जुटाउन थालेको बताए । अस्पतालमा नयाँ पूर्वाधार निर्माणका लागि एक रुपैँया पनि नभएको उनको भनाई छ ।
अख्तियारले अस्पतालको खाता सिल गरेकोले पनि रकम अभाव भएको उनले बताए । ‘यस्तो बेला कुनै आपत आइलागे रकम अभाव हुन नदिन समुदायस्तरबाट सहयोगको अपील गरेका छौँ,’ उनले भने ।
बाँकेमा कार्यरत राष्ट्रसेवक कर्मचारीले एक दिन बराबरको तलव जम्मा गर्ने निर्णय गरेको उनले बताए । भेरी अस्पतालमा कोभिड अस्पताल निर्माणका लागि नेपाल राष्ट्र बैँक, नेपालगन्जमा कार्यरत कर्मचारीले २० हजार रुपैँया संकलन गरि हस्तान्तरण गरेका छन् ।


भेरी अस्पतालमा निर्माण भइरहेको कोभिड अस्पतालका लागि अस्पतालका चिकित्सक र कर्मचारीहरु रातदिन खटिएका छन् । भौतिक पूर्वाधारका लागि अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामसुन्दर यादवको संयोजकत्वमा ब्यवस्थापन समिति गठन भएको छ । उक्त समितिले एक हप्ता भित्र कोरोना अस्पताल निर्माण पूरा गरि संचालनमा ल्याउने योजना बनाएको डा. यादवले बताए ।
उनले कम्तीमा ५० बेड तयार गरि संचालनमा ल्याउने तयारी गरिएको बताए । ‘कम्तीमा ८ वटा भेन्टीलेटर, आइसियू तयार गरेपछिमात्र सन्तोषको साँस फेर्न सकिन्छ,’ डा. यादवले भने, ‘हामीलाई पैँसा भन्दा सामान आवश्यक छ ।’
कोरोना संक्रमण भई जटिल स्वास्थ्य समस्या भएका विरामीको उपचारका लागि कन्सल्टेन्ट फिजिसियन डा. खगेन्द्रजंग शाह प्लाज्मा थेरापीको विज्ञका रुपमा नियुक्त भइसकेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । ‘कोभिड–१९ का सिरियस बिरामीको प्लाज्मा थेरापीबाट उपचार गर्न डा. शाह विज्ञको रुपमा नियुक्त भई काम अगाडी बढिसकेको छ,’ डा. थापाले भने ।

Previous articleभेरी अस्पतालमा प्लाज्मा थेरापीको तयारी तीव्र, के हो प्लाज्मा थेरापी ?
Next articleभेरी अस्पतालका डाक्टरसहित बाँकेका ६ जनामा कोरोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here