बाँके, ५ भाद्र ।
बैँक तथा वित्तिय संस्था कोरोनाको उच्च जोखिममा देखिएका छन् । शुक्रवार नेपालगन्जस्थित नेपाल बैँक लिमिटेड र साँग्रिला डेभलपमेन्ट बैंकका एक–एक जनामा कोरोना पुष्टि भएको छ ।
ग्लोबल आइएमई बैंकका २० जना कर्मचारीमा कोरोना देखिएपछि नेपालगन्जका तीन र कोहलपुरको एक शाखा यसअघि नै बन्द भइसकेको छ । बैंकमा सेवाग्राहीको भीडभाड हुने र पैँसा आदान प्रदान हुने भएकोले बैंकका कर्मचारीमा कोरोना संक्रमण भएको हुन सक्ने अड्कल गरिएको छ ।
शुक्रवार नेपाल बैँकका ५७ बर्षिय पुरुष र साँग्रिला डेभलपमेन्ट बैँकका ५४ बर्षिय पुरुषका कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनले नेपालगन्ज मेडिकल कलेजमा लिइएको स्वाब मध्ये ६ जनामा कोरोना पुष्टि भएको बताए ।
त्यसैगरि, भेरी अस्पतालमा लिइएको स्वाब मध्ये ६ र राप्तीसोनारी गाउँपालिका–६ का दुई जनामा पनि कोरोना देखिएको बताए ।
भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको स्वाब परीक्षणमा बर्दियाका ६ जनामा पनि कोरोना देखिएको छ । बर्दियामा फेला परेका सवै कोरोना संक्रमित बाँसगढी नगरपालिकाका हुन् । ‘शुक्रबार थपिएकामा नेपालगन्जका १३, राप्तीसोनारीका दुई र कोहलपुरका एकजना छन्,’ उनले भने ।
बर्दियाका शुक्रबार थपिएका संक्रमित सबै बाँसगढी नगरपालिकाका हुन् । बाँसगढी नगरपालिका वडा नं. ३ का चार र वडा नं. २ तथा ९ का एक–एक जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।
बाँकेमा संक्रमितको संख्या ८०३ पुगेको छ । कोरोनामुक्त भएर ५४७ जना घर फर्किएका छन् । बाँकेमा कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन् ।