बाँकेमा छैन तीजको रौनक, सुनसान सहर, सुनसान गाउँघर

फाइल तस्वीर

बाँके, ४ भाद्र ।
अघिल्ला बर्षमा एक महिना अघिदेखि तीजको गीत घन्किन्थ्यो । गाउँ–गाउँमा मादलको तालमा नाचगान गरेको सुनिन्थ्यो । दरखाने महिलाहरु रंगीचंगी लुगा लगाएर एताउता हिडेको देख्दा तीज आएका अनुभूती हुन्थ्यो । तीज गीतको भाकामा नाचगान भएको देख्दा रमाइलो अनुभूती हुन्थ्यो, तर यसपाली राप्तीसोनारी गाउँपालिका–४, की वडा सदस्य डम्मरी परियारलाई तीज आएको जस्तो लागेको छैन । महिना दिनसम्म तीजको दर खाएकी उनले यसबर्ष तीजको अघिल्लो दिनमात्र दर खान पाएकी छन् ।
उनले तीज भित्रिए पनि गाउँघर सुनसान भएको बताइन् । कोरोनाका कारण प्रहरी प्रशासनले भेला हुन नदिएपछि सामुहिक रुपमा दरखान नपाएको उनले बताइन् । तीजको नाचगान सामुहिक रुपमा गर्ने भएकोले यसबर्ष गाउँघरमा नाचगान समेत नभएको बताइन् । गाउँघर सुनसान छ । ‘तीज आए पनि नआएको जस्तो लागेको छ,’ उनले भनिन्, ‘नाचगान गर्न पाए पो तीज आएको जस्तो लाग्ने थियो ।’
बास्तविक दर तीजको एक दिन अघि खाने चलन भए हो । तै पनि अघिल्ला बर्षमा तीजको दर तीजभन्दा महिना अघिबाट शुरु भइसक्थ्यो । शताब्दीऔंदेखि महिलाहरुको शौभाग्यका लागि बसिने यो तीजका आयामहरु समयसँगैै आधूनिक हुँदै गएको छ । महिना अगाडिदेखि दरखाने चलन, तडकभडक र सामाजिकिकरणको नाममा अतिरञ्जीत गर्दै भड्किलो संस्कार र चलन बढ्दै गएको छ । यो चलन गाउँघरमा पनि पुगेको छ । तर यो बर्ष तीज घरमै आइपुग्दा समेत आएको जस्तो अनुभूती नभएको राप्तीसोनारी गाउँपालिका–७, सोनपुरकी बिमला शाहीले बताइन् ।
उनले अघिल्ला बर्षमा महिना अघिदेखि तीजको नाचगान गरेको बताइन् । यस बर्ष अहिलेसम्म गाउँमा नाचगान सुरु भएको छैन । उनले यस बर्षको तीजका लागि नयाँ लुगा समेत किन्न नपाएको बताइन् । ‘नाचगान गर्न खोज्यो, प्रहरी आएर भेला नहुनुस भन्छन् । तीजमा एक्लै नाच्ने कुरा भएन,’ उनले भनिन्, ‘यसबर्ष त तीज आएको जस्तो लागेको छैन ।’
नेपालगन्ज र कोहलपुरमा पनि सामुहिक दरखाने कार्यक्रम भएका छैनन् । अघिल्ला बर्षहरुमा भरिभराउ हुने होटल, कटेज, प्यालेस पनि खाली छन् । यस बर्ष तीजको दरखाने कार्यक्रम नभएको स्वस्तिक कटेज, नेपालगन्जका एलडी शर्माले बताए । उनले अघिल्ला बर्षमा दरखाने कार्यक्रमले भरिभराउ भए पनि यसबर्ष एउटा कार्यक्रम पनि नभएको बताए । ‘एक महिना अघिदेखि दरखाने कार्यक्रम हुन्थे । सामुहिक दरखाने कार्यक्रमका लागि पहिले नै हल बुक हुन्थ्यो,’ उनले भने ।
नेपालगन्जका महिला मिलेर दरखाने गरे पनि कोरोनाका कारण यसबर्ष कार्यक्रम गर्न नपाएको द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँकेकी अध्यक्ष जयन्ती केसीले बताइन् । ‘सामुहिक रुपमा भेला हुन नपाइने भएकोले सामुहिक दरखाने कार्यक्रम भएन,’ उनले भनिन् ।


कृष्णसार एफएमको डिजिटल तीज प्रतियोगिता
हरेक बर्ष तीज गीत प्रतियोगिता गर्दै आएको कृष्णसार एफएमले कोरोनाका कारण यसबर्षको प्रतियोगिताको स्वरुप परिवर्तन गरेको छ । बाँके र बर्दियाका साना–ठूला सहरमा पुगेर प्रतियोगी छनोट गर्दै आएको उक्त एफएमले यसबर्ष डिजिटल प्रतियोगिताको अवधारणा अघि सारेको छ ।
प्रतियोगीले आफूलाई मन परेको गीतमा नाचेर एफएमलाई पठाएको प्रतियोगिताका संयोजक माधव अधिकारीले बताए । उनले प्रतियोगीले तीज गीतमा नाचेको भिडियो २ भाद्रमा एफएमको पेसबुक पेजमा अपलोड गरेको बताए । प्रतियोगीले खेत, बारी, सडकमा नाचेको भिडियो एफएमलाई पठाएको उनको भनाई छ । ‘प्रतियोगीको भिडियोमा आएको लाइक र भ्यूजको आधारमा छनोट गरिने छ,’ उनले भने ।
नाचौ, तीज आठौँ सिजन डिजिटल प्रतियोगिता नाम दिइएको उक्त प्रतियोगिताका लागि ५० जनाले भिडियो पठाएको उनले जानकारी दिए । ति मध्ये पहिलो चरणमा २५ जना प्रतियोगीको भिडियो छनोटमा परेको उनले बताए । २५ भाद्रमा प्रतियोगिता सम्पन्न हुने अधिकारीले बताए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई पुरस्कारको ब्यवस्था समेत गरिएको छ । उनले भने, ‘पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः १५, १०, ५ र ३ हजार रुपैँया पुरस्कारको ब्यवस्था छ,’ उनले भने ।

Previous articleतीजको बहानामा एक दिन अगावै डिस्चार्ज
Next articleपश्चिम पृतनाका थप १७ सहित ३० प्रशिक्षार्थीमा कोरोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here