बाँके, ४ भाद्र ।
आइसोलेसन सेन्टरमा बस्नु पर्ने समय भन्दा एक दिन अगावै बाँकेका ५१ जना विहीवार नै डिस्चार्ज हुन लागेका छन् । शुक्रबार हरितालिका तीज परेकोले ती संक्रमितलाई एक दिन अगावै आइसोलेसन सेन्टरबाट घर पठाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
कोरोनाको लक्षण र चिन्ह नदेखिएका संक्रमितलाई चिकित्सकको सल्लाहमा एक दिन अघि डिस्चार्ज गर्न लागिएको उनले बताए । घरमा गएपछि उनीहरुलाई एक दिन स्वास्थ्यकर्मीले निगरानी गर्ने बताउँदै उनले एक दिन अगावै घर गएका संक्रमितले ८ दिन होमआइसोलेसनमा बस्नुपर्ने सहमति भएको बताए । ‘घरमा गएपछि अपनाउनु पर्ने सावधानी र स्वास्थ्यकर्मीको निगरानीको ब्यवस्था मिलाएर विहीवार बेलुका डिस्चार्ज गर्न लागिएको छ,’ श्रेष्ठले भने ।
ब्यापारी नेता कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहाल पनि एक दिन अगावै डिस्चार्ज हुने भएका छन् । ‘मापदण्ड अनुसार १४ दिन आइसोलेसन बस्नु पर्ने हो, तर लक्षण र चिन्ह केहि नदेखिएकोले एक थप ८ दिन आइसोलेसनमा बस्ने सहमतिमा डिस्चार्ज गर्न लागिएको छ,’ उनले भने ।
बाँकेका विभिन्न आइसोलेसनमा रहेका २८ जना विहीवार विहान डिस्चार्ज भएका थिए । बाँकेमा कोरोना जितेर घर फर्किनेको संख्या विहानसम्म ४९६ पुगेको थियो । एक दिन अगावै ५१ जना डिस्चार्ज भएमा बाँकेमा कोरोनामुक्त हुनेको संख्या ५४७ पुग्ने भएको छ ।
बाँकेमा ७६३ जना संक्रमित फेला परेका छन् । दुई महिला सहित चार जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।