अरुको उद्धार गर्दागर्दै संक्रमित भएका छोटीराम प्लाज्मा दिन इच्छुक

विश्वराज पछल्डङ्ग्या

बाँके, ३ भाद्र ।
नाम जस्तै काम पनि हुन्छ भन्ने छैन । नामभन्दा काम भिन्न पनि हुन सक्छ । अपबाद बाहेक नामभन्दा काम, बानीब्यहोरो, चालचलन फरक भएको पाइन्छ । राप्तीसोनारी गाउँपालिका–७ सोनपुरका छोटीराम थारुको पनि नाम अनुसार काम मिलेको छैन ।
थारु भाषामा उमेर कम, सानो कद, कामधन्दा वा अन्य सानो बस्तुलाई छोटी भनिन्छ । सोनपुरका छोटीरामको पनि नाममात्र छोटी (सानो) छ । उनको मन ठूलो छ । उनी मनका धनी छन् । उनमा सहयोगी भावना छ । आफूभन्दा अरुको भलो चिताउने उनको बानी छ । त्यसैले त भारतबाट आएर सीमानामा अलपत्र परेकालाई उद्धार गर्न प्रयोग भएको गाडी अरुले चलाउन नमानेपछि उनी आफै तयार भए ।
ज्यानको बाजी लगाएर अरुको उद्धार
उनले २ ज्येष्ठ, २०७७ देखि सीमामा अलपत्र परेकालाई गाडीमार्फत ओसार्न थाले । रातविरात नभनी उनले बाँकेको विभिन्न नाकामा आएका आफ्ना वडाबासीलाई गाडीमा लिएर आउँथे । उनले गाडी चलाउन सुरु गर्नुभन्दा पहिले नै भारतबाट आएका दुई जनामा कोरोना पुष्टि भइसकेको थियो । ति दुवै जना उनकै वडाका थिए । ‘भारतबाट आएका ब्यक्तिमा कोरोना देखिएपछि वडा कार्यालयले मान्छे ओसार्न भाडामा लिएको गाडी चलाउन कसैले मानेनन् । सीमा पुगेका नेपाली दाजुभाई अलपत्र परेको खवर सुनेपछि ज्यान दाउमा लगाएर गाडी चलाउने निधो गरेँ,’ उनले भने ।
उनी भारतबाट आएर सीमानाकामा अलपत्र परेकालाई गाडीमा हालेर वडामा निर्माण गरिएको क्वारेन्टाइनमा ल्याउँथे । र, फेरि सीमानाका तिर गाडी कुदाउँथे । यो क्रम २० ज्येष्ठको विहानसम्म चल्यो । त्यो भन्दा पहिले नै उनले ल्याएका धेरैमा कोरोना पुष्टि भइसकेको थियो । आफैले गाडीमा ल्याएकाहरुमा कोरोना पुष्टि भएपछि उनले पनि कोरोना जाँचका लागि स्वाब दिए ।
पोजेटिभ रिपोर्ट आउँदा भोक, पियास सवै हरायो
२० ज्येष्ठ, २०७७ को साँझ अरुको झैँ उनको कोरोना रिपोर्ट पनि पोजेटिभ आयो । तर, उनले थाहा पाउनुभन्दा पहिले नै पूरै वडामा हल्ला फैलिसकेको थियो । ‘फत्तेपुरको गाडी चलाउनु ड्राइभरलाई कोरोना लाग्यो भन्ने हल्ला मैले थाहा पाउनुभन्दा पहिले नै फैलिसकेको थियो,’ उनले भने ।
पोजेटिभ रिपोर्ट आएपछि उनको मुटुले ढ्याङ्ग्रो ठोक्यो । चिन्ताले च्याप्यो । मन भारी भयो । कसैसँग बोल्न मन लागेन । कता कता रिंगाटा लागेर आयो । भोक पियास सवै हराएर गयो । सधँै हाँसिरहने उनको अनुहार मलिन भयो । उनी एकान्तमा टोलाएर बस्न थाले । न बोल्न मन लाग्थ्यो न त खाना खाने रुची हुन्थ्यो । उनी भन्छन्, ‘एकान्तमा बस्न मलाई मजा लाग्थ्यो । कसैले कुरा गर्न खोज्यो भने रिस उठेर आउँथ्योे ।’
भारतबाट आएकालाई ल्याउने बेला उनले सावधानी नअपनाएका होइनन् । उनले माक्स लगााउँथे । बेला–बेला हातमा सेनिटाइजर लगाउँथे । साबुन पानीले हात धुन्थे । होसियारी अपनाउँदै सामाजिक दूरी कायम राख्ने प्रयास गर्थे । तै पनि उनी अछुतो रहन सकेनन् ।
फोक्साको अप्रेसन, तर कुनै संकेत देखिएन
कोरोना पुष्टि हुनुभन्दा पहिले कुनै लक्षण र संकेत देखिएन । सामान्य रुघाखोकी लागेको थियो । घाँटी खसखस भएको अनुभूती उनले गरेका थिए । ‘कोरोनाको लक्षण केहि देखिएन । एक रात हल्का ज्वरो आएको थियो,’ उनले आफ्नो अनुभव सुनाए ।
कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालयले उनलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा निर्माण गरिएको आइसोलेसनमा राख्यो । उनी उक्त आइसोलेसनमा दुई दिन बसे । त्यहाँ बस्दा उनलाई कोरोना लागेको भन्ने अनुभूती नै भएन । घर भन्दा दुईसय मिटर दूरीमा आइसोलेसन भएकोले उनले परिवारका सदस्यलाई पनि बेला–बेला भेट्न पाएका थिए । नजिकबाट कुरा गर्न नपाए पनि टाढाबाट कुरा गर्न र अनुहार हेर्न पाउँदा उनलाई आइसोलेसनमा बसेको जस्तो लागेको थिएन ।
घर नजिकको आइसोलेसनबाट दुई दिनमै सारिए
तर, वडा अध्यक्ष रामलखन थारुले दुई दिनपछि योजना फेरे गरे । छोटीराममा फोक्सोको समस्या भएकोले वडा अध्यक्ष डराए । जुनसुकै बेला समस्या आउन सक्ने भन्दै उनले छोटीरामलाई खजुरास्थित कोरोना विशेष अस्पतालमा लैजाने निर्णय गरे । घर नजिकैको आइसोलेसनबाट छोटीराम खजुरा सारिए । ‘मेरो फोक्सोको अप्रेसन भएकोले वडा अध्यक्ष जी डराउनु भयो । ‘यहाँ राख्दा समस्या आउन सक्ने भन्दै खजुरा पठाउने निर्णय गर्नुभयो । म पनि उहाँको निर्णय काट्न सकेन । खजुराको आइसोलेसनमा १५ दिन बसेँ,’ उनले भने ।
उनलाई देख्दा एक महिनासम्म छिमेकी भागे
खजुरास्थित कोरोना विशेष अस्पतालमा १५ दिन बसेपछि उनी निको भएर घर फर्किए । आइसोलेसनबाट फर्किएपछि एक हप्तासम्म उनी होम आइसोलेसनमा बसे । घरमा बस्दा उनले आफूले खाएको भाँडा, लगाएको लुगा आफै धुन्थे । शौचालय प्रयोग गरिसकेपछि आफै सफा गर्थे ।
निको भएर आएपछि गाउँघरका छिमेकीले उनलाई अर्कै नजरले हेर्न थाले । एक हप्तासम्म घरमा कोही आएनन् । उनीमात्र होइन उनका परिवारका सदस्यलाई देख्दासमेत तर्केर हिड्थे । हाम्रो नजिक आउँदैनथे । ‘एताउता जाँदा पनि हामीलाई अलग्याएको जस्तो गर्थे,’ छोटीरामकी पत्नी सुमिताले भनिन्, ‘एक महिनासम्म बालबच्चालाई छुन दिएनन् । समय बित्दै गएपछि छिमेकीहरु आफै घरमा आउन थाले ।’
आइसोलेसनबाट आउने वित्तिकै धान रोपाइँमा जुटे
आइसोलेसनबाट आएपछि पनि उनले एक महिनासम्म बेसार हालेर उमालेको तातो पानी खाए । उनी आइसोलेसनबाट घरमा फर्किदा धान रोपाइँ सुरु भइसकेको थियो । उनी पनि आउने बित्तिकै रोपाइँमा खटिए ।
धान रोप्नका लागि खेत तयार बनाउन ट्याक्टर चलाए । वियाड उखेले । खेतको आली, कान्ला खने । खेत सम्याए । वियाड बोकेर रोपार्नीलाई सहयोग गरे । ‘आइसोलेसनबाट आएपछि दुई विघा खेतमा धान रोपेँ,’ उनले भने, ‘खेतमा काम गर्न असहज महशुस कहिलै भएन ।’
प्लाज्मा दिन इच्छुक
मनका धनी छोटीरामले कोरोना संक्रमितको ज्यान जोगाउन आफू प्लाज्मा दिन तयार रहेको बताएका छन् । कसैलाई प्लाज्मा आवश्यक परेको खण्डमा प्लाज्मा दिन पछि नपर्ने उनको भनाई छ । ‘मैले दिएको प्लाज्माले कसैको ज्यान जोगिन्छ भने म दिन तयार छु । प्लाज्मा दिएर ज्यान जोगाउन सकियो भने म आफूलाई भाग्यमानी ठान्ने छु,’ छोटीरामले भने ।
उनले निको भएका संक्रमितको प्लाज्मा अर्को संक्रमितलाई दिँदा ज्यान जोगिने कुरा सुने पनि दिने प्रक्रियाका बारेमा जानकारी नभएको बताए । ‘कहिले र कसरी दिनुपर्छ मलाई जानकारी गराउनु प¥यो । म जुनबेला पनि प्लाज्मा दिन तयार छु,’ उनले भने ।


पत्नीले ढाडस दिइन्, मैले आत्मबल बढाएँ
कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनको बोली फुट्न छोड्यो । कसैसँग नबोलेर बसेको देखेपछि उनकी पत्नी सुमिताले आत्मबल बढाउने काम गरिन् । कोरोना लागे पनि लक्षण देखिएको छैन । केहि हुँदैन भनेर खुवै सम्झाइन्, बुझाइन् । ‘डर नमान्नु, चिन्ता नलिनु भनेर खुवै सम्झाएँ । चुपचाप एक्लै बसेको देखेर सान्त्वना र ढाडस दिन्थे,’ उनले भनिन् ।
कोरोना लागेको भन्दा बढ्ता चिन्ता उनलाई पतिलाई चुपचाप बसेको र चिन्ता मानेको देख्दा पिर लागेको थियो । ‘किन चुपचाप बस्नु हुन्छ । बोल्नुस्, कुरा गर्नुस भनेर सम्झाउँथे,’ उनले भनिन्, ‘मलाई त उहाँलाई कोरोना लागेको भन्दा चिन्ता मानेको देख्दा बढ्दा मन दुख्थ्यो ।’
पत्नीको कुरा सुनेर मेरो आत्मबल बढ्थ्यो । बारम्बार फोन गरेर आत्मबल बढाउने काम पत्नीले गरेको उनले सुनाए । ‘उनको ढाडस र मेरो आत्मबलले कोरोनालाई परास्त गर्न सफल भएँ,’ छोटीरामले भने, ‘कोरोनालाई जित्न परिवारका सदस्य, छिमेकी, साथीभाई र इष्टमित्रको सहयोग, हौसला तथा प्रेरणा आवश्यक छ ।’

Previous articleबाँकेका १३ र बर्दियाका दुई गरि १५ जनामा कोरोना
Next articleशाहीले सम्हाले जनस्वास्थ्य दाङको जिम्मेवारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here