बाँके, २ भाद्र ।
कोरोना जितेर बाँकेमा मंगलवार १३ जना डिस्चार्ज हुँदा थप ११ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको परीक्षणमा बाँकेका ११ जनामा कोरोना पुष्टि भएको हो ।
मंगलवार कोरोना पुष्टि भएका सवै नेपालगन्जका हुन् । ति मध्ये चार जना महिला भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनले मंगलवार पाँच बर्षका बालकमा समेत कोरोना पुष्टि भएको बताए । उनी नेपालगन्ज उपमहानगरपालिका–१३ का बासिन्दा हुन् । श्रेष्ठले दिएको जानकारी अनुसार, मंगलवार कोरोना पुष्टि हुनेमा २२–५२ बर्ष उमेर समूहका महिला र पुरुषमा छन् ।
भेरी अस्पतालको पिसिआर ल्याबमा स्वाब परीक्षण गर्दा गुलरिया नगरपालिका, बर्दियाका दुई कोरोना र वीरेन्द्रनगर सुर्खेतका एक जनामा पनि कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा लिइएको स्वाब परीक्षण गर्दा नेपालगन्ज उपमहानगरपालिका–५ का ४५ बर्षिय पुरुषमा पनि कोरोना देखिएको छ ।
योसँगै बाँकेमा कोरोना पुष्टि हुनेको संख्या ७४५ पुगेको छ । ति मध्ये चार जनाको मृत्युु भइसकेको छ । कोरोना संक्रमित मध्ये ४६८ जना निको भएर आइसोलेसनबाट डिस्चार्ज भइसकेको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।