जब सडकमा छटपटिरहेको घोडालाई पत्रकारले देखे…..

बाँके, ३२ साउन ।
३२ साउन विहान ८ः३० बजे । नेपालगन्जको गणेशमान चोकमा उपचार नपाएर दुई दिनदेखि घोडा छटपटाईरहेको भन्ने आशयको भिडियो पत्रकारले आफ्नो फेसबुक वालमा पोष्ट गरे । त्यस लगत्तै धेरैले चासो र चिन्ता राखे । कसैले पशुपंछीको क्षेत्रमा काम गर्ने अधिकारकर्मी कता हराए ? त कसैले स्थानीय सरकार कहाँ गयो ? भन्दै उद्धार र उपचारका लागि आह्वान गरे ।
भिडियो पोष्ट भएको केहिबेरमै पशुपंछी अधिकारको वकालत गर्दै आएका एनिमल नेपालका बाँके प्रतिनिधि सुरेन्द्रदीप कार्कीले चासो देखाए । उनले फेसबुकमा कमेन्ट गर्दै लेखे, ‘कसैले खवर गरेको भए आउँथ्यौँ । दीब्य दृष्टि छैन ।’
उनको कमेन्टमा धेरैले चासो र चिन्ता जनाए । यसअघिका कुरा पनि कोट्याए । सामाजिक संजालमा फोटो पोष्ट गर्नका लागि मात्र पशु अधिकारका कुरा गरेको भन्दै कमेन्ट माथि कमेन्ट गरे । सामाजिक संजालको बहस जारी रहेकै बेला कार्कीले फेरि लेखे, ‘उद्धार र उपचारका लागि प्राविधिक टोली जाँदैछ । छिट्टै उद्धार गरि उपचार हुन्छ ।’
धेरैले पत्रकारले भिडियो र फोटो खिच्नु भन्दा उद्धार गरि उपचारको ब्यवस्था गर्नुपर्दथ्यो भन्ने कमेन्ट गरे । कसैले पत्रकारले आफ्नो दायित्व विर्सेको कुरा पनि गरे । पत्रकार पनि अन्य सर्वसाधारण जस्तै मानव हो किन उद्धार र उपचारका लागि पहल नगरेको हो भन्ने गुनासो पनि गरे ।
हुन त ति पत्रकारले मानविय धर्म निभाएको भए पनि त हुन्थ्यो । पत्रकारले कमेन्टको जवाफ दिँदै भने, ‘सवैको आ–आफ्नो काम गर्ने क्षेत्र हुन्छ । पत्रकारको काम लेख्ने हो । उसले लेखेर, बोलेर, श्रब्यदृष्य देखाएर सरोकारवाला निकायको ध्यानाकर्षण गराउने हो । पत्रकारको पहिलो प्राथमिकता फोटो खिच्ने र समाचार लेख्ने हो । भीरबाट लडिरहेको गोरुको उद्धार गर्नुभन्दा पहिले पत्रकारले फोटो खिच्छ । अनिमात्र उद्धार गर्छ । भ्रममा नपरौँ ।’
सामाजिक संजालमा भिडियो पोष्ट भएको एक घण्टा नबित्दै एनिमल नेपालकी कार्यक्रम संयोजक रेखा श्रेष्ठले चिकित्सकको टोली लिएर गणेशमान चोक पुगिन् । र, सडकमा ढलिरहेको घोडाको उद्धार गरि उपचारमा जुटिन । चिकित्सकको टोलीले सडकमा ढलिरहेको घोडालाई उठाएर सडकको वीच भागमा रहेको बगैचामा लगेर उपचार गरे ।
सडकमा ढलेर टाउको उठाइरहेको घोडाले उपचार पाएपछि घाँस र दाना खान थालेको छ । दुई दिनदेखि सडकमा घस्रिदै उद्धारको पर्खाईमा रहेको घोडाको एकतर्फको छाला गएको छ । पछिल्लो भाग नचल्ने भएको छ । उपचारपछि घोडालाई कान्जी हाउसमा लगिएको श्रेष्ठले बताइन् । ‘घोडालाई बेहोस बनाएर एक्जाभेटरको सहायताले कान्जी हाउस लगिएको छ । अव त्यहिँ राखेर उपचार गर्छौँ,’ उनले भनिन् ।

Previous articleराप्तीसोनारी गाउँपालिकासँग सूचना माग
Next articleकोरोनाको बेवास्ता गरि ठेलमठेल गरि बैंकको लाइनमा सेवाग्राही

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here