सार्वजनिक हुन थाले बाँकेका कोरोना संक्रमित

बाँके, २६ साउन ।
कुनै बेला कोरोना संक्रमित लुकेर बस्नु पर्ने थियो । समाजले हेर्ने नराम्रो दृष्टिकोणका कारण संक्रमितहरु नाम सार्वजनिक गर्न चाहदैनथे । गोप्य बस्न रुचाउँथे । बाहिर आउन सकस मान्दथे । नाम सार्वजनिक नगर्दा अन्य सर्वसाधारणलाई समस्या पर्ने आवाज पनि नउठेको होइन ।
समाजबाट हुन सक्ने भेदभावलाई मध्यनजर गरि सरकारले पनि कोरोना संक्रमित र कोरोनाबाट मृत्यु भएकाहरुको नाम गोप्य राख्ने कार्यविधि ल्याएको छ । अधिकांश संचार माध्ययमले कोरोना संक्रमित र संक्रमणबाट मृत्यु भएकाको नाम गोप्य राख्ने गरेका छन् । समाजबाट अपहेलित हुने डरले धेरैजसो कोरोना संक्रमित आफ्नो नाम र ठेगाना गोप्य राख्न चाहन्छन् । तर, बाँकेका कोरोना संक्रमित खुल्न थालेका छन् ।
नाम र ठेगाना गोप्य राख्दा झनै समस्या निम्तिने भएकोले खुलेर बाहिर आउनु पर्ने उनीहरुको सुझाव छ । कोरोना अन्य रोगभन्दा खतरनाख नभएको बताउँदै उनीहरुले लुकाएर बस्दा झनै समस्या आउने स्पष्ट पारेका छन् । ‘खुलेर बाहिर आउँदा संक्रमित ब्यक्ति र उनीहरुका परिवारका सदस्यसँग अरु सर्वसाधारण सजग हुन्छन् नै खुलेर कुरा राख्दा यसको डर पनि सर्वसाधारणमा कम हुन्छ,’ नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका कोरोना संक्रमित कृष्णप्रसाद श्रेष्ठले भने ।
नेपालगन्ज उपमहानगरपालिका –१ का वडा अध्यक्ष प्रमोद रिजालले पनि नाम र ठेगाना बाहिर नल्याउँदा सर्वसाधारण अलमलमा पर्ने र समाजमा त्रास पैदा हुने धारणा राख्छन् । उनले संक्रमित ब्यक्तिले आफ्नो बारेमा आफै बाहिर ल्याउनु पर्ने बताए । ‘खुलेर आउँदा सर्वसाधारणमा हौसला प्रदान हुन्छ । उसलाई लाग्या छ भने मलाई लागेर के भयो भन्ने भावनको विकास हुन्छ,’ उनले भने, ‘अन्यौलतालाई चिर्न समुदायका अगुवाहरु सार्वजनिक हुन जरुरी छ ।’
सार्वजनिक भएका संक्रमित कसले के लेखे ?
नेपालगन्ज उपमहानगरपालिका–१ का वडा अध्यक्ष प्रमोद रिजालले आफूलाई कोरोना संक्रमण भएको र खजुरास्थित कोरोना विशेष अस्पतालमा स्वास्थ्य लाभ गरिरहेको सन्देश संचार माध्यमलाई पठाए । उनले कोरोना विशेष अस्पतालको बरण्डामा गएर फोटो खिचाए र स्वास्थ्य अवस्था सामान्य भएको फेसबुक मार्फत सार्वजनिक गरे । उनको उक्त सन्देश बाँकेबाट संचालित अनलाइन, पत्रिका र फेसबुकका वाल भरिभराउ भए ।
त्यसपछि नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भयो । उनी कोभिड–१९ आवास ब्यवस्थापन समितिका संयोजक पनि हुन् । उनले पनि आफूलाई कोरोना पोजेटिभ देखिएकोले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार आइसोलेशनमा बसेको फेसबुकमार्फत सार्वजनिक गरे । उनले आफूलाई कुनै पनि स्वास्थ्य समस्या नभएको समेत स्पष्ट पारे । ‘कोरोना पोजेटिभको आवास ब्यवस्थापनमा खटिने क्रममा मलाई पनि विश्वब्यापी कोभिड–१९ महामारीले छोडेन । म स्वास्थ्य लाभका लागि नेपालगन्जस्थित सिटी प्यालेसको आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेको छु,’ उनले फेसबुकमा लेखेका छन् ।
पत्रकार खगेन्द्र दाहालले पनि स्वस्फूर्त कोरोना परीक्षण गराउँदा आफूलाई कोरोना संक्रमण पुष्टि भएको फेसबुक मार्फत सार्वजनिक गरेका छन् । उनले आवाज विहिनहरुको आवाज बुलन्द गर्न ठाउँ–ठाउँमा रिपोर्टिङमा गएको बेला कोरोना भाइरस संक्रमण भएको फेसबुकमार्फत जानकारी गराएका हुन् । उनले आइसोलेशन सेन्टरबाट फेसबुकमा लेख्छन्, ‘कोरोना संक्रमण पुष्टि भएपछि म नेपालगन्जस्थित आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेको छ । मेरो स्वास्थ्य सामान्य छ । मेरो स्वास्थ्यलाई लिएर चिन्ता ब्यक्त गर्ने सवैलाई धन्यवाद ।’
नेपालगन्जका ब्यापारी लोकेन्द्र अर्यालले आफू पनि कोभिड–१९ बाट अछुतो रहन नसकेको फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अनेक सावधानी अपनाउँदा पनि अरु जस्तै म पनि कोभिड–१९ बाट अछुतो रहन सकेन । अरुलाई सर्न सक्ने भएकोले म पनि आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेको छ । मेरो स्वास्थ्य अवस्था ठिक छ । चिन्ता नलिनु होला ।’
नेपालगन्ज उपमहानगरपालिकाका लेखा अधिकृत राजनकुमार केसीले पनि जनताको काम गर्ने क्रममा आफूलाई कोरोना संक्रमण भएको बताउँदै स्वास्थ्यमा कुनै समस्या नभएका सार्वजनिक गरेका छन् । उनले कोरोनालाई जितेर छिट्टै फर्किने र फेरि पनि जनताको काममा सक्रिय हुने जनाएका छन् ।
प्रदेश ५ की सांसद कृष्णा केसी (नमुना) ले पनि आफू पनि कोरोनाबाट अछुतो रहन नसकेको बताउँदै सर्वसाधारणलाई सजग हुन सुझाव दिएकी छन् । उनले आफूसँग एकसातायता सम्पर्कमा रहेका ब्यक्तिलाई सेल्फ आइसुलेट हुन र कोरोना परीक्षण गराउन आग्रह गरेकी छन् ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन बाँकेका अध्यक्ष हुकुम केसीले पनि फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका छन् । उनी लेख्छन्, ‘जनताको सेवामा खटिदै गर्दा म पनि कोरोना भाइरस संक्रमित हुन पुगेको छु । शुक्रबार कोरोना पोजेटिभ पुष्टि भएपछि नेपालगन्जको सिटि प्यालेसमा स्थापना गरिएको आइसोलेसनमा स्वास्थ्कर्मीहरुको प्रत्यक्ष रेखदेखमा कोरोनासंग लडिरहेको छु । समुदायमा कोरोना संक्रमण फैलिएको हुनाले सबैलाई सचेत रहन अनुरोध गर्दछु । अहिले मेरो स्वास्थ्यस्थिति ठिक रहेको पनि सबैमा जानकारी गराउन चाहन्छु ।’
गायक कमल विके निर्मोहीले पनि सामाजिक संजालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । उनले सचेत नागरिकको हैसियतले जाँच गराउँदा कोरोना पुष्टि भएको सार्वजनिक गरेका छन् । उनले सरकारीको नीति अनुसार आइसोलेशनमा बसेको स्पष्ट पारेका छन् । उनी सामाजिक संजालमा लेख्छन्, ‘आदरणिय सम्पुर्ण ब्यक्तित्व, आम संचारका मित्र एवम् हितैसी मित्रगण, एउटा सचेत नागरिकको हैसियतले कोभिड–१९ को जाँच गराउँदा कोरोना पुष्टि भएकोले सरकारको नीति अनुसार आजबाट आइसोलेशनमा जाँदै छु । सबै जनालाई सेफ हुन र चेतना फैलाउन हार्दिक अनुरोध पनि गर्दछु ।’

Previous articleसवारी साधनमा जोर–बिजोर प्रणाली लागू, आज बिजोर नंं. चल्न पाउने
Next article६ दिनका लागि कोहलपुर ‘लकडाउन’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here