
बाँके, २८ साउन ।
बाँकेका विभिन्न आइसोलेशनमा रहेका ३० जना कोरोना संक्रमित निको भएर विहीवार घर फर्किने भएका छन् । ति मध्ये नेपालगन्ज उपमहानगरपालिका–११ का १२ जना भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, आन्तरिक राजस्व कार्यालय आइसोलेशनमा रहेका १० र लायन्स डेन्टल अस्पताल कोरोना आइसोलेशनमा रहेका १६ जना पनि निको भएर विहीवार नै घर फर्किदै छन् । आन्तरिक राजस्व कार्यालय आइसोलेशनमा त्यहिँ कार्यरत संक्रमित कर्मचारी र उनीहरुका परिवारका सदस्यलाई राखिएको थियो । उक्त कार्यालयका अधिकांश कर्मचारी र उनीहरुका परिवारका सदस्य निको भएपछि विहीवार घर पठाउन लागिएको श्रेष्ठले बताए ।
आदर्शनगर स्थित आइसोलेशनमा रहेका तीन जना कोरोना संक्रमित पनि विहीवार नै घर फर्किन लागेको उनले बताए । उनले अहिलेसम्म चार सय ३५ जना निको भएर घर फर्किएको बताए । अव आइसोलेशनमा दुई सय २५ जनाले स्वास्थ्य लाभ गरिरहेका छन् । बाँकेमा ६ सय ६७ जना कोरोना संक्रमित फेला परेका छन् ।
बाँकेमा फेला परेका अन्य जिल्लाका चार जना पनि बाँकेकै आइसोलेशनमा बसेर उपचार भईरहेको उनले बताए । नेपालगन्जको आन्तरिक राजस्व कार्यालय र वडा प्रहरी कार्यालय आइसोलेशनका रुपमा प्रयोग गरिएको छ । त्यहाँ कार्यरत धेरै कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उक्त दुई कार्यालयलाई नै आइसोलेशन बनाइएको हो ।