रिपोर्टर डायरीः ‘सम्झिदा अहिले पनि आङ्ग सिरिङ्ग हुन्छ’

नरैनापुरस्थित दीपन्द्र प्रावि क्वारेन्टाइनका त्रिपालमुनी बसेका सर्वसाधारण ।

विश्वराज पछल्डङ्ग्या

बाँके, २५ साउन ।
२३ बैशाखमा नेपालगन्जका २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि डर लाग्यो । घरबाट निस्कन पनि डर लाग्थ्यो । समाचार संकलन गर्न जाँदा पनि कोरोना पोजेटिभ देखिएको ठाउँमा नगएर बाहिर जान्थेँ । त्यो पनि भीडभाड नहुने ठाउँमा मात्र ।
४ जेठको एका विहानै नरैनापुर गाउँपालिका–५, स्थित दीपेन्द्र प्रावि क्वारेन्टाइनमा बसेका २५ बर्षिय यूवकको कोरोनाका कारण मृत्यु भएको खवर आयो । संक्रमितको संख्या अत्यधिक हुन सक्ने सम्भावना, खान, बस्न समस्या, त्रिपालको क्वारेन्टाइन, औषधि र पानी नपाएर दयनिय अवस्थामा रहेकाहरुको बास्तविक बस्तुस्थिती बुझ्ने हुट्हुटी जाग्यो ।
तर, कोरोना हटस्पटको रुपमा विकास भइरहेको नरैनापुर गएर रिपोर्टिङ गर्न त्यति सजिलो थिएन । तै पनि मनले नमानेपछि म जोखिमलाई आत्मसाथ गरि कोरोनाका कारण मृत्यु भएका युवक बसेको दीपेन्द्र प्रावि क्वारेन्टाइनमा रहेकाहरुसँग कुरा नगरि नछाड्ने निर्णयमा पुगेँ । तर, मेरो मनमा एक किसिमको त्रास थियो ।
………….
५ जेठ विहान कोरोना भाइरस सम्बन्धि रिपोर्टिङ गर्न बाँकेको सुदूरपूर्व नरैनापुर गाउँपालिका जाने योजना अघिल्लो बेलुकी नै बनिसकेको थियो । त्यो रात राम्रोसँग निद्रा परेन । म अन्य दिनभन्दा विहान अलि छिटो उठेँ ।
विहानको नित्यकर्म सक्न नपाउँदै चिया र खाजा तयार भइसकेको थियो । खाजा खाइसकेपछि स्वास्थ्य सुरक्षाका सामग्री तयार गर्दा विहानको ६ बजिसकेको थियो । नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकको कोरोनाका कारण मृत्यु भएको खवर मेरो घरमा ठूलै चर्चा चलेको थियो । म रिपोर्टिङ गर्न जाने क्वारेन्टाइनमा बसेका नौँ जनामा पहिले नै कोरोना र एक जनाको कोरोनाकै कारण मृत्यू भएको पुष्टि भइसकेको थियो । म रिपोर्टिङमै रहेका बेला थप ३१ जनामा कोरोना पुष्टि भयो ।
नरैनापुर क्वारेन्टाइनमा बसेका युवकको मृत्युसहित क्वारेन्टाइनको अवस्था र त्यहाँ बसिरहेका सर्वसाधारणले भोग्नु परेका समस्याको बारेमा रिपोर्टिङ गर्न जाने कुरा सुनेदेखि नै मेरो परिवारमा एक किसिमको निराशा छाई सकेको थियो । परिवारका सदस्यले नजान आग्रह नगरेका होइनन्, तर मलाई मेरो हुट्हुटी मेटाउनु थियो । जोखिम मोलेर काम गर्ने मेरो पेशा भएको भन्दै सुरक्षित साथ रिपोर्टिङ गर्ने आश्वासन दिँदै मैले परिवारका सदस्यलाई सान्त्वना दिएँ ।
…………….
विहानको सवा ६ बजे मोटरसाइकल स्टार्ट गरेर नरैनापुरको यात्रा तय गरेँ । तर मेरो मन शान्त थिएन । मनमा अनेक थरि कुरा खेलिरहेका थिए । एक किसिमको उत्सुकता, हुट्हुटी, डर, त्रास, आफू सुरक्षित हुने उपाय, प्रस्तुत हुने शैली, प्रहरी र स्वास्थ्यकर्मीसँग गर्ने डिलिङका बारेमा बाटोभरी सोच्दै गएँ । बाटोभरि मेरो मुटुले ढ्याङ्ग्रो ठोकिरह्यो । मनलाई सम्झाउँदै म नेपालगन्जबाट नरैनापुरको ३५ किलोमिटर दूरीको यात्रा तय गरिरहेँ ।
मेरो लागि नरैनापुर गाउँपालिका नयाँ होइन । समाचार संकलन गर्न ४०–५० पटक नरैनापुर गइसकेको छु । जयकिसान मावि र दीपेन्द्र प्रावि क्षेत्रको समाचार संकलन गर्न २०६० सालको बाढीका बेला गरिसकेको थिएँ । तर, यहि हो भन्ने एकिन गर्न नसकेर अलमलमा परे ।
फिल्ड रिपोर्टिङ गर्ने क्रममा कुनै घटना भए वा अपठेरोमा परे मलाई खोज्न सजिलो होवस भन्ने उद्देश्यले नेपालगन्जको फुलटेक्रा पुगेपछि पत्रकार प्रियास्मृति ढकाललाई फोन गरेर रिपोर्टिङका लागि नरैनापुर जान लागेको जानकारी गराएँ । उनी म सँग फिल्डमा जान रुचाउँछन् । उनले म पनि जान्छु दाई भन्दै जान तम्सिए । तर, लैजान मैले मानेन । ‘जोखिम ठाउँ छ । कोरोनाको संक्रमण भए मलाई होवस् तपाई नजानुस,’ भनेर उनलाई सम्झाएँ ।
उनले मलाई ढाडस दिँदै भने, ‘दाई कोरोनाको उच्च जोखिम क्षेत्रमा रिपोर्टिङका लागि जाँदै हुनुहुन्छ, आफ्नो ख्याल गरेर रिपोर्टिङ गर्नु होला । हुन त तपाई म भन्दा जानकार हुुनुहुन्छ, तै पनि समाचारलाई भन्दा आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला दाई ।’ यति भनेर उनले फोन राखे । हुन त त्यो ठाउँ कोरोनाको उच्च जोखिम क्षेत्र हो भन्ने मलाई राम्रो जानकारी थियो, तर उनले मेरो बारेमा चिन्ता ब्यक्त गरेपछि मेरो मनमा झनै चिसो पस्यो । फेरि मुटु ढक्ढक गर्न थाल्यो ।
नेपालगन्जबाट हुलाकी सडक हुँदै नरैनापुर पुगिन्छ । राप्ती नदी पार गर्नासाथ पत्रकार कमल न्यौपानेलाई फोन गरेर दीपेन्द्र प्राविमा बसेका बेला देहत्याग गरेका युवकको बारेमा रिपोर्टिङ गर्न जान लागेको जानकारी गराउँदा उनले भने, ‘जानुस, तर एकदमै जोखिमयुक्त क्वारेन्टाइन हो, बहुतै सजग भएर रिपोर्टिङ गर्नु होला ।’
………..
फिल्ड रिपोर्टिङमा जानुअघि म नजिकका साथीभाई, प्रहरी र स्थानीयलाई जानकारी गराएर जान्छु । स्थानीय ब्यक्तिसँग सल्लाह, सुझाव र सहयोग लिँदा सहज एवम् सुरक्षित भइन्छ भन्ने लागेर नरैनापुर गाउँपालिका–६ को एरिया आउने वित्तिकै पत्रकार विनय दिक्षितलाई फोन लगाएँ । उनले जयकिसान मावि जाने बाटो सिकाए । कुनै अपठेरो परे मलाई खवर गर्नु होला म सहयोग गर्छु भन्दै निर्धक्क भएर रिपोर्टिङ गर्न ढाडस दिए । उनको ढाडसले आँट आयो, आत्मविश्वास बढेर आयो ।
उनले भनेको बमोजिम गएपछि म जयकिसान माविमा पुगेँ । विद्यालय बाहिर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी टेन्टमा बसिरहेका थिए । मैले ड्यूटीमा रहेका प्रहरी हवल्दारलाई आफ्नो परिचयसँगै रिपोर्टिङका लागि आएको जानकारी गराएँ । उनले हत्तपत्त आफ्नो हाकीमलाई फोन लगाए र समाचार संकलनका लागि पत्रकार आएको जानकारी गराए ।
इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर विसीलाई रिपोर्टिङका लागि नरैनापुर आउन लागेको जानकारी नेपालगन्जबाट हिड्नुभन्दा पहिले नै गराइसकेको थिएँ । क्वारेन्टाइन पुगेपछि फेरि फोनमार्फत जानकारी गराएँ ।
म त्यहाँ पुग्दा दीपेन्द्र प्रावि क्वारेन्टाइनमा रहेकालाई जयकिसान मावि छेउको खुल्ला चौरमा टेन्ट टाँगेर राखिएको थियो । जयकिसान मावि क्वारेन्टाइनमा रहेकाहरु कोही फोनमा कुरा गरिरहेका थिए । कोही आफन्तसँग कुराकानीमा ब्यस्त थिए । विद्यालय प्राङगनमा आ–आफ्नो समुह बनाएर गफिएको पनि देखिन्थे ।
…………..
मलाई दीपेन्द्र प्राविबाट टेन्टको क्वारेन्टाइनमा सारिएकाको रिपोर्टिङ पहिले गर्नुपर्ने थियो । म टेन्टको क्वारेन्टाइन तर्फ लागेँ । जहाँ दुई बालबालिकासहित ४२ जना छन् । टेन्टको क्वारेन्टाइनमा रहेकाहरुको अवस्था एकदमै दयनिय भएको मैले पाएँ । उनीहरु खुल्ला आकामुनी रात विताएको बताए ।
यत्रतत्र झोला, लुगा, जुत्ता, चप्पल, फोम छरिएको अवस्थामा छन् । कोही आफन्तसँग कुरा गर्नमा ब्यस्त छन् । भूइँमा फोम विछ्याएर कोही सुतिरहेका छन् । कोही बसेका छन् त कोही नुहाइरहेका त कोही नुहाउने पालो कुरेर बसेका छन् । युवकको मृत्यु भएको खवर सुनेपछि क्वारेन्टाइनमा रहेकाहरुलाई भेट्न आउनेको पनि ठूलै लाइन थियो । बस्ने ठाउँ नपाएर धेरैजसो एकैठाउँमा बसिरहेका देखिन्थे ।
…………….
दुवै क्वारेन्टाइनमा बसेकाहरु सामाजिक दूरीको पालना गरेको देखिएन नै कोरोना सर्न सक्ने खतरालाई नजर अन्दाज गरेको मैले पाएँ । एउटै गाउँ र एउटै ठाउँका भएकोले होला उनीहरुले मुख जोडेर कुरा गर्ने र कुम जोडेर बसेको देखिन्थ्यो । कतिपयसँग त लगाउने माक्स समेत थिएन ।
उनीहरुले प्रयोग गर्ने धारा एउटै छ । सँगै नहाउने, लुगा एउटै ठाउँमा सुकाउने, शौचालय एउटै प्रयोग गर्ने देखि लिएर पानी खाने भाँडोसमेत एउटै प्रयोग गरेको उनीहरुले बताए । एक मिटर दूरीको फरकमा सुत्ने गरे पनि शौचालय, धारा र पानी खाने भाँडोसमेत एउटै प्रयोग गरेको क्वारेन्टाइनमा रहेका एक युवकले बताए ।
उनले सामाजिक दूरी कायम गर्न कसैले नभनेको बताउँदै कबड्डी समेत खेलेको बताए । ‘हात, खुट्टा भाचिन्छ भनेर मैले त खेलेन, तर अर्को गाउँका धेरै छन्, उनीहरु मिलेर कवड्डी खेले,’ दीपेन्द्र क्वारेन्टाइनका एक युवकले भने, ‘सामाजिक दूरी भनेको के हो हामीलाई थाहा छैन, न कसैले सिकायो ।’
……………….
म सिधै गएर क्वारेन्टाइनमा भएकाहरुसँग कुरा गर्न र फोटो खिच्न सक्थेँ । तर कोरोना र क्वारेन्टाइन जस्तो संवेदशील क्षेत्रमा रहेकासँग अनुमति बिना कुरा गर्ने र फोटो खिच्ने मेरो पेशागत मर्यादाले दिएन । क्वारेन्टाइन सुरक्षार्थ खटिएका प्रहरीलाई परिचय दिने मेरो कर्तब्य सम्झिए । र, प्रहरी हवल्दारलाई आफ्नो परिचय दिएँ ।
म क्वारेन्टाइनमा आएको जानकारी गराउँदा इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रमुख प्रहरी निरीक्षक विसीले पहिले टाढाबाट सुरक्षित भएर कुरा गर्नुस भन्ने सुझाव दिए । पछि के भयो उनले कुरा फेरे । उनले प्रहरी हवल्दारलाई फोन गरेर फोन दिन भने । उनले दुवै क्वारेन्टाइनमा कोरोना पोजेटिभ भएकोले सिल गरिएको छ । जान मिल्दैन भन्दै मलाई नजान दवाव दिए ।
उनले क्वारेन्टाइनको अवस्थाको फोटो नखिच्न र नकारात्मक कुरा नलेख्न घुमाउरो तरिकाले मलार्ई दवाव दिए । ‘क्वारेन्टाइन अब्यवस्थित छ । क्वारेन्टाइनमा बसेकाहरु भद्रगोल तरिकाले बसेका छन् । यस्ता नराम्रा कुरा नदेखाउनु होला है राम्रो हुन्न’ उनले भने । लामो बार्तालाप पछि मेरो कुरामा उनी सहमत भए । तर मसँग त्यति धेरै सन्तुष्ट थिएनन् उनी । सुरक्षितसाथ टाढैबाट कुरा गर्ने र छोटो कुरा गरेर फर्किने प्रतिवद्धता मैले जनाए । अनिमात्र उनले केहि शर्त सहित जान अनुमति दिए ।
………….
हातमा सेनिटाइजर लगाएर ग्लोब्स, मुखमा एन ९५ माक्स र त्यसमाथि सर्जिकल माक्स लगाएँ । टाउकोमा स्वास्थ्यकर्मीले लगाउने झिल्ली भएको टोपी लगाएर रिपोर्टिङका लागि तयार भएँ । अनि दीपेन्द्र प्रावि क्वारेन्टाइनबाट टेन्टमा सारिएका सर्वसाधारणसँग कुरा गर्ने बातावरण मिलाई दिन प्राथमिक स्वास्थ्य केन्द्र, लक्ष्मणपुरका निमित्त प्रमुख अहेव नविन थापासँग आग्रह गरेँ ।
उनले शुरुमा एन ९५ माक्स र त्यसपछि सर्जिकल माक्स लगाउन सुझाव दिए । मैले पनि त्यसै गरेँ । ‘पहिले एन ९५ माक्स र त्यसमाथि सर्जिकल माक्स लगाउँदा सुरक्षित भइन्छ,’ उनको सुझाव थियो ।
……………..
नविनले भनेपछि क्वारेन्टाइनमा बसेकासँग कुरा गर्न मलाई सजिलो भयो । त्यसपछि मैले दीपेन्द्र प्रावि क्वारेन्टाइनमा मृत्यु भएका युवकसँगै आएका र सँगै बसेकाको खोजी गरेँ । किनकी युवकको मृत्यु कसरी भयो, उनी कसरी भारतबाट आएका थिए, घरमा को को छ, आर्थिक अवस्था कस्तो छ, खवर गरेको कतिबेर पछि स्वास्थ्यकर्मी आए, औषधि पाएकी पाएनन् ? भन्ने खोज्नु थियो ।
मैले सोधेपछि मृतक यूवकसँगै बसेका र एउटै गाउँमा घर भएका गोडिया थरका युवक अगाडी सरे । झण्डै १० मिटर टाढाबाट उनी र म वीच सम्वाद भयो । क्वारेन्टाइनमा मृत्यु भएका युवकसँगै भारतबाट आएको, क्वारेन्टाइनमा सँगै बसेको, सुतेको, खाएको, एक आपसमा आ–आफ्ना दुखसुख साटासाट गरेको कुरा उनले सम्वादको क्रममा बेलिविस्तार लगाए ।
…………..
गोडिया थरका युवा र कोरोनाको संक्रमण भएर मृत्यु भएका यूवक दीपेन्द्र प्रावि क्वारेन्टाइनको एउटै कोठामा बस्थे । उनीहरुको ओछ्यान पनि नजिकै थियो । एउटै गाउँ र उमेर पनि एउटै भएकोले ति दुईले एउटै कोठा र ओछ्यान पनि नजिकै बनाए ।
बेलुकीपख ति दुईले घरपरिवार र घर ब्यवहारका कुरा गर्थे । दुख, सुखका कुरा अनि मुम्वईमा रहँदा पाएका दुखका कुरा पनि आदान प्रदान हुन्थ्यो । ‘लकडाउनले रमजान मनाउन नपाइने कुरा उनले गर्थे, मैले बाँचेपछि अर्को बर्ष राम्रोसँग मनाउला भनेर सम्झाउँथे । उनले रमजान मनाउन नपाएकोमा दुख मानेको कुरा गर्थे,’ ति युवकले भने ।
३ जेठ बेलुकी करिव ८ बजेतिर दुवैजनाले सँगै खाना खायौँ । गर्मी भएकोले ११ बजेसम्म विद्यालयको प्राङ्गनमा बसेर गफगाफ ग¥यौँ । आ–आफ्नो घर र इष्टमित्रलाई फोन ग¥यौँ । मृतक युवकले पनि आफ्नी पत्नीसँग बेलुकी १० बजे फोनमा कुरा गरेको उनले सुनाए ।
…………………
गोडिया र मृतक युवा ११ बजेतिर आ–आफ्नो विस्तरामा सुते । विहानको करिव दुई बजेतिर उनी बाहिर निस्किए । बाहिर गएपछि उनले उल्टी गरेछन् । हामी बस्ने क्वारेन्टाइनका एकजनाले तिम्रो गाउँको एकजनाले उल्टी गरिराखेका छन् बाहिर आउ भनेपछि म बाहिर गए ।
त्यतिबेलासम्म उनको उल्टी थामिएको थिएन । उनले सात–आठ पटक उल्टी गरे । मैले कस्तो लागिराखेको छ भनेर सोध्दा उनले शरिर झमझम गरिराखेको छ । आँखा देखिराखेको छैन । टाउको र पेट दुखेको छ भन्ने जवाफ दिए । त्यतिबेला विहानको करिव २ः१५ बजेको हुनुपर्छ ।
मैले उनलाई पानी दिए । तर, उनले पानी निल्न सकेनन् । हामीले वडा अध्यक्ष र स्वास्थ्यकर्मीलाई फोन ग¥यौँ, तर कसैको फोन उठेन । हाम्रो सुरक्षार्थ खटिएका प्रहरी नेताको घरमा गएपछि क्वारेन्टाइन हेर्ने जिम्मा पाएका नेताका छोरा आए ।
उनी खवर गरेको दुई घण्टापछि करिव ४ः३० बजे आए । स्वास्थ्यकर्मी आउँदा मेरो साथीको बोली बन्द भइसकेको थियो । उनी हाम्रो कुरा सुन्थे, तर फर्काउन सक्दैनथे । इसारामात्र गर्थे । औषधि नपाएर उनले विहान करिव ४ः४५ बजेतिर देह त्याग गरे ।
……………..
विरामी भएको खवर थाहा पाएर आएका स्वास्थ्यकर्मीले चेकजाँच नगरेरै औषधि दिए । त्यो पनि झण्डै तीन मिटर टाढाबाट हेरेर औषधि फालेर दिए । मलाई पानी र औषधि खुवाउन आदेश दिए । ‘पानी समेत पिउन नसक्नेले औषधि खान सक्ने कुरै भएन,’ उनले भने ।
मेरो साथीको मृत्यु भइसकेपछि स्वास्थ्यकर्मी आएर नाडी छामछुम पारे । विहानको करिव ५ः३० बजे एम्बुलेन्स आइपुग्यो । मरिसकेको मान्छेलाई जिउँदो छ भन्दै एम्वुलेन्समा राखेर उपचारका लागि नेपालगन्ज लैजान खोजे ।
समयमा औषधि पाएको भए मेरो साथी बाच्थ्यो होला । उ मलाई बचाऊ भनेर हामीसँग हारगुहार ग¥यो । औषधि र पानी माग्यो । ‘समयमा उपचार पाएको भए उ बाच्थ्यो,’ उनीसँगै मुम्बईबाट आएका अर्काे यूवाले भने, ‘यसमा क्वारेन्टाइन ब्यवस्थापन समिति, स्वास्थ्यकर्मी र गाउँपालिकाको ठूलो गल्ती छ । एक ट्याब्लेट औषधि समेत खान नपाएर उनले देह त्याग गर्न प¥यो ।’
……………..
छोटो कुराकानी सकिनै लागेको बेला नरैनापुरका स्वास्थ्यकर्मीले इन्फ्रारेड थर्मामिटरको सहायताले दीपेन्द्र प्रावि क्वारेन्टाइनबाट खुल्ला चौरमा ल्याइएकाहरुको शरिरको तापक्रम मापन गर्न शुरु गरे । स्वास्थ्यकर्मीले नाम बोलाउँदै अगाडी आउन भनेपछि क्वारेन्टाइनमा रहेकाहरु पालैपालो आएर शरिरको तापक्रम जँचाउन थाले । उनीहरुको अनुहार मलिन थियो । राम्रोसँग खान, पिउन र सुत्न नपाएर थकित देखिन्थे । सँगै एउटै कोठामा बसेका साथीलाई गुमाउँदाको पीडा उनीहरुको अनुहारमा प्रष्ट पढ्न सकिन्थ्यो ।
उनीहरु कोरोना रिपोर्टको ब्यग्र प्रतिक्षा गरिरहेका थिए । स्वाब संकलन भएको दुई दिन बित्दासमेत रिपोर्ट नआउँदा उनीहरुको मनमा खुल्दुली थियो नै पोजेटिभ रिपोर्ट आउने होकी भन्ने भय र चिन्ता थियो । त्यसैले त उनीहरु खुलेर कुरा गर्न सकिरहेका थिएनन् ।
उनीहरुले खाना, नास्ता र पानी समेत नपाएको गुनासो गरे । विहान चिया दिन्छन् । दिउँसो ११ बजेतिर भात र दिउँसो ३ बजे खाजाको रुपमा सुखा चाउचाउ दिएको बताउँदै उनीहरुले बेलुकीको खानामा रोटी पाउने गरेको बताए । ‘खाना राम्रो नभएर क्वारेन्टाइनमा बसेदेखि पेट ढुस्स हुन्छ, मुखबाट अमिलो पानी र गन्हाउने डकार आउँछ,’ एक अधवैँसे अघि सरेर भने । त्यसपछि मन अमिलो बनाएर म त्यहाँबाट बाहिरिए ।
……………….
म फोटो खिच्दै जयकिसान मावि क्वारेन्टाइनतिर लागेँ । उक्त क्वारेन्टाइनमा बसेकाहरु कोही पर्खालमा बसेर फोनमा कुरा गर्दै थिए । कोही घरबाट ल्याई दिएको खाना खाँदै थिए त कोही चौरमा बसेर गफमा ब्यस्त थिए । म बाहिरबाट फोटो खिचेँ र क्वारेन्टाइनको बारेमा टाढैबाट सोधेर फर्किएँ ।
दीपेन्द्र प्रावि क्वारेन्टाइनमा युवकको मृत्यु भएको खवरले मलाई निकै पोलेको थियो । त्यसैले उक्त विद्यालयको अवस्था बुझ्न नगई मेरो चित्त बुझेन । जयकिसान माविदेखि झण्डै दुई किलोमिटर दक्षिणमा छ दिपेन्द्र प्रावि । यो विद्यालयमा पर्खाल, विजुली, पानीको सुविधा छैन ।
जीर्ण भएको भवनको चौरमा कुर्सी, बेन्च यत्रतत्र फालिएका छन् । सुनसान विद्यालय प्राङ्गनमा एक्जाभेटरले खनेको खाल्डो देखिन्छ । सायद युवकको शव उठाउने बेला एक्जाभेटरले खाल्डो बनाएको हुनुपर्छ । युवकको शव छुन नमिल्ने भएकोले एक्जाभेटरले उठाएर लग्यो । राप्ती नदी छेउमा खाल्डो खनेर गाडेको स्थानीयले बताए । कस्तो दुर्भाग्य, आफ्नै छोरा, पति, भाई, भतिजाको शव पनि छुन नमिल्ने, अन्तिम संस्कारमा समेत सहभागी हुन नपाउने, अन्तिम बेलामा पनि मुख हेर्न नपाइने भन्दै थिए स्थानीय । सुनसान विद्यालयको अवलोकन गरि म मृतकको घर नयाँबस्ती तिर आफ्नो मोटरसाइकल दौडाएँ ।
……………….
हुलाकी सडकदेखि दुई किलोमिटर उत्तर–पूर्वमा छ नयाँबस्ती । राप्तीनदीमा आएको बाढीले घरबाससमेत बगाएपछि मृतक युवकका परिवारसहित झण्डै दुईसय परिवार सामुदायिक जंगलमा बसाई सरेका छन् । म बाटोमा भेटिएकाहरुलाई सोध्दै युवकको घरमा पुगेँ । परिवारका सदस्यलाई सान्त्वना दिन उनको घरमा गाउँले, इष्टमित्र र धार्मिक गुरु भेला भएका थिए ।
मृतक युवकको घरमा सरासर जान मेरो मनले मानेन । घर बाहिरकालाई आफ्नो परिचय दिएपछि उनीहरुले युवकका बाबुआमा र उनको पत्नीलाई घर छेउको सडकमा बोलाई दिए । बाबुआमा र पत्नीको आँखाबाट आँशु थामिएको थिएन । कुरा गर्ने क्रममा बाबुको बोली फुट्दैनथ्यो । बोल्दाबोल्दै उनको गला अवरुद्ध हुन्थ्यो ।
पत्नीको त कुरै छोडौँ । उनी बेहोसी अवस्थामै थिइन् । भनिन्, ‘४ जेठको राती १० बजे फोनमा कुरा हुँदा मेरो स्वास्थ्य राम्रो छ, चिन्ता नलिनु, म क्वारेन्टाइन अवधि पूरा गरेर घर आउँछु । अनि स–परिवार राम्रोसँग बसेर खाउँला भन्नुभयो, तर जिउँदो त आउनु भएन नै शव घरमा ल्याउन र राम्रोसँग देख्न समेत पाएनौँ ।’
युवकले घर परिवारलाई सुखी बनाउन विदेशिएका थिए । रमाइलो गरि रमजान मनाउने योजना उनको थियो । आमाबाबु, पत्नी र छोराछोरीलाई पक्की घर बसाउने सपना थियो । उपचार नपाएर क्वारेन्टाइनमा देहत्याग गरेपछि सवै सपना चकनाचुर भएको छ । दुई र चार बर्षका बच्चा टुहुरा भएका छन् । आमाबाबुले एक्लो छोरा गुमाएका छन् । पत्नीको सिउँदो पुछिएको छ । उनको घरपरिवारको रुवाबासी देखेर मन खिन्न बनाउँदै म नेपालगन्ज फर्किएँ ।
…………….
म रिपोर्टिङमा जाने भनेदेखि नै मेरो घरमा चिन्ता थियो । नरैनापुरको यात्रा तय गर्ने बेला श्रीमतिले ग्लोब्स, माक्स र टोपी घरबाट लगाएर जान सुझाइन् । उनले क्वारेन्टाइन पुगेपछि र रिपोर्टिङ गरेर सकेपछि हातमा सेनिटाइजर लगाउन नविर्सनु भन्दै सम्झाइन् । घरबाट निस्कने बेला भनिन्, ‘तपाई माक्स, ग्लोब्स र टोपी लगाउन विर्सनु हुन्छ घरमै लगाएर जानुस ।’ मैले उनलाई राम्रोसँग लगाएर मात्र क्वारेन्टाइनमा जान्छु भनेर आश्वास्त पार्न खोजेँ ।
क्वारेन्टाइन नपुग्दै श्रीमतिले फोन गरिन् । उनले घण्टा–घण्टामा फोन गरेर कामको बारेमा जानकारी लिइन् । ‘काम कति सकियो ? नेपालगन्ज कतिखेर फर्किनु हुन्छ ? जोखिमपूर्ण ठाउँ छ धेरैबेर त्यहाँ नबस्नु हो’ उनले बारम्बार फोन गरेर मेरो जानकारी लिइरहिन् ।
……………..
म नेपालगन्ज पुगेपछि बाटोमा छिमेकी मोहित शाह भेटिए । उनले कहाँबाट आउनु भयो दाई भनि सोधे, मैले नरैनापुरबाट आएको जवाफ फर्काएँ । उनले मुन्टो बटारे । मुन्टो किन बटारेको भनेर मैले उनलाई सोधेँ । उनले मेरो जवाफ फर्काए, ‘नरैनापुरको धुलो माटोमा पनि कोरोना छ रे, तपाईलाई पनि कोरोना सल्क्यो होला । अव क्वारेन्टाइनमा राख्नु पर्छ ।’ धुलो माटोमा पनि कोरोना हुन्छ र म आश्चर्यमा पर्दै उनलाई फेरि जवाफ फर्काएँ ।
नरैनापुरबाट नेपालगन्ज पुग्दा दिउँसोको १ बजेको थियो । विहानको भात १ बजे खाएँ । नरैनापुरमा संकलन गरेको समाचार छिट्टै लेख्नु पर्ने भएकोले खाना खानासाथ ल्यापटप खोलेँ ।
नरैनापुर गएको कुरा फेसबुकमा लेख्ने की नलेख्ने निक्र्यौल गर्न सकिरहेको थिएन । जे होला लेख्छु भनेर फेसबुकमा ‘जष्ट रिटर्न ब्याक फ्रम नरैनापुर आरएम’ लेखेर पोष्ट गरे । धेरैले नगएको भए राम्रो हुन्थ्यो भन्ने कमेन्ट गरे ।
साथीभाईले तिमिलाई क्वारेन्टाइनमा राख्नु पर्छ भन्दै फोन गरे । फेसबुक स्ट्याटस देखेर हुनुपर्छ मेरो जेठो दाजु एकराज चौधरीले फोन गरे । उनले मलाई हत्तपत्त फोन गर्दैनन् । धेरै खुलेर कुरा गर्ने बानी उनमा छैन । ‘के छ खवर ? कस्तो छ ? नेपालगन्जमा कोरोनाको अवस्था के छ ? समाचार संकलन गर्न जानु पर्छ की पर्दैन ? फिल्डमा धेरै नडुल्नु, बाहिर ननिस्कनु, माहोल राम्रो छैन’ भन्दै उनले फोन राखे ।
फेसबुकमा स्ट्याटस लेखेदेखि धेरै साथीभाईले फोनमार्फत चिन्ता जनाए । बेलुकी माइला बहिनी ज्वाईले फोन गरेर चिन्ता ब्यक्त गरे । उनको भनाई पनि बाहिर नहिड्नु होला भन्ने नै थियो । फोन, फेसबुक, मेसेन्जरबाट आएका सल्लाह, सुझाव र प्रतिक्रियाले मलाई रिपोर्टर डायरी लेख्न बाध्य बनायो ।
छोरीले दिइन पिपिई उपहार
कोरोनाको हटस्पटको रुपमा विकास भएको नरैनापुरमा रिपोर्टिङका लागि गएको थाहा पाएपछि छोरीलाई पनि चिन्ता भएछ । त्यहि दिन बजार गएर पिपिई किनेर ल्याइन् । उनी भेरी अस्पतालमा रेडियोग्राफर पदमा कार्यरत छिन् ।
कोरोनाको जोखिमपूर्ण ठाउँमा गएर काम गर्नुपर्ने भएकोले तपाईका लागि पिपिई किनिदिएको उनले बताइन् । भनिन्, ‘रिपोर्टिङमा जाँदा लगाएर जानु होला । आएर घाममा सुकाई दिनु होला । नलगाएर रिपोर्टिङमा गएको थाहा पाए भने म रिसाउँछु ।’
म मेरो छोरीले भनेको कुरामा नकार्न सक्दैन । उनले दिएको उपहार सहर्ष स्विकार गरि रिपोर्टिङमा जाँदा पिपिई प्रयोग गर्ने बाचा गरेको छु, धन्यवाद छोरी ।
संकटका बेला सूचना दिने पत्रकारको धर्म र कर्म
पत्रकारको पेशा नै यस्तै हो । जव जव देशमा संकट पर्छ त्यतिबेला पत्रकार अग्रपंतिमा उभिनु पर्ने हुन्छ । संकट, अभाव, साह्रो, गाह्रो परेको बेला सर्वसाधारणलाई सूचना दिनु र राज्यलाई झकझक्याउनु नै पत्रकारको धर्म तथा कर्म हो ।
पत्रकार भएकोले म पत्रकारको धर्म र कर्म बुझ्छु । तर मेरो घर, समुदायले मेरो पेशा, धर्म र कर्म नबुझ्न सक्छन् । बुझ्नै पर्छ भन्ने पनि छैन । अहिले देशमा संकट आइपरेको छ । म मेरो कर्ममा कत्ति पनि विचलित नभई पत्रकारिताको धर्म निर्वाह गरिरहने छु ।

Previous articleमुख्य बजार क्षेत्र सिल गरिएपछि नेपालगन्ज सुनसान (फोटो फिचर)
Next articleकोरोनाले बाँकेमा थप एक बृद्धाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here