बाँके, २५ साउन ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या बाँकेमा तीन पुगेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत महिलाको आइतवार दिउँसो मृत्यु भएपछि कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको हो । यसअघि बैजनाथ गाउँपालिकाकी एक महिला र नरैनापुर गाउँपालिकाका एक पुरुषको मृत्यु भइसकेको छ ।
स्वास प्रस्वास र ज्वरोले थलिएकी कोहलपुर नगरपालिका–२, की ७० बर्षिया महिलालाई चार दिन अघि उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको निमोनिया भई छातीमा समस्या देखिएको अस्पतालले जनाएको छ ।
महिलाको छातीमा समस्या भई निमोनियासमेत भएको अवस्थामा अस्पताल ल्याइएको र मृत्यू पछि कोरोना पुष्टि भएको शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक डा. दिनेश श्रेष्ठले बताए ।
कडा खालको ज्वरो आएपछि २३ साउनमा उनको स्वाब संकलन गरि परीक्षणका लागि भेरी अस्पतालको पिसिआर ल्याबमा पठाइएको थियो । आइतवार दिउँसो कोरोना रिपोर्ट आउनुभन्दा पहिले नै उनको मृत्यू भएको डा. श्रेष्ठले बताए । ‘रिपोर्ट ढिलो आउँदा उपचार अघि बढाउन सकिएन । रिपोर्ट नआउँदै विरामीको मृत्यू भयो,’ उनले प्रष्ट पारे ।
एकैदिन ३० प्रहरीसहित ४८ जनामा कोरोना
बाँकेमा आइतवार ३० प्रहरीसहित ४८ जना कोरोना सङ्क्रमित थपिएका छन् । वडा प्रहरी कार्यालय, नेपालगन्जमा कार्यरत २९ र एकजना बागेश्वरी मन्दिर परिसर सुरक्षार्थ खटिएका प्रहरीमा कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, वडा प्रहरी कार्यालयमा कार्यरत ४७ जना प्रहरीको स्वाब संकलन गरिएको थियो ।
आइतवार दाङका तीन जनामा पनि कोरोना पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । संक्रमण रोक्न स्थानीय प्रशासनले आइवार विहानदेखि लागू हुने गरि निषेधाज्ञासँगै केहि क्षेत्र सिल गरेको छ । नेपालगन्जको सुर्खेतरोडको
पुलाल चोकदेखि गणेशमान चोकको पूर्वलाई सील गरेको छ ।