भेरी अस्पतालको प्रसुती वार्ड सिल

बाँके, २४ साउन ।
भर्ना भएकी गर्भवती महिलामा कोरोना पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्जकोे प्रसुती वार्ड सिल गरिएको छ । उपचारका लागि भर्ना भएकी गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि प्रसुती वार्ड सिल गरिएको अस्पतालले जनाएको छ । रुकुम चौरझारीकी गर्भवती महिला प्रसुती वार्डमा बुधवार भर्ना भएकी थिइन् ।
बच्चा जन्मिने महिना पुगिसकेकाले विहीबार शल्यक्रिया गरेर बच्चा निकाल्ने तयारी गरिएको थियो । शल्यक्रियाको तयारी भइरहेका बेला अचानक उनलाई ज्वरो आएपछि कोरोना भाइरस परीक्षण गर्न स्वाब निकालिएको थियो । तीन दिन अघि लिइएको स्वाबको रिपोर्ट शनिवार आउँदा उनमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
गर्भवती महिलालाई कोरोना पोजेटिभ देखिएपछि उनलाई शिक्षण अस्पताल कोहलपुरमा लैजाने तयारी गरिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । शिक्षण अस्पताल कोहलपुर कोभिड–३ लेभलको अस्पताल हो ।
जटिल खालका कोरोना संक्रमित विरामीको उपचार त्यहिँ हुने गरेको छ । उक्त अस्पतालले यसअघि कोरोना संक्रमित तीन जनाको सफलतापूर्वक शल्यक्रिया गरिसकेको छ ।
प्रसुती वार्डलाई सिल गरि आउजाउ बन्द गरिएको उनले बताए । उनले वार्डलाई सेनिटाइज गरि संचालनमा ल्याइने बताए । ती महिला तीन दिनसम्म प्रसुती वार्डमा बसेकाले त्यहाँ भएका अन्यलाई पनि कोरोना सरेको आशंका गरिएको छ ।

Previous articleबाँकेमा शनिवार थपिए २० कोरोना संक्रमित
Next articleप्रदेश सांसद नमुनालाई कोरोना संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here