नौमती बाजा संरक्षणः बाहुन–क्षेत्रीको सह्रानिय प्रयास (फिचर)

बाँके, २३ साउन ।
दमाई जातीले बजाउने नौमती बाजा लोप हुन थालेपछि बाँकेका गैरदलित (बाहुन र क्षेत्री) यसको संरक्षणमा जुटेका छन् । पश्चिम नेपालको पहाडी जिल्लामा लोकप्रिय मानिने नौमती बाजा लोप हुन थालेपछि संरक्षणमा जुटेको खजुरा गाउँपालिका–२, गौघाटका दलबहादुर मल्लले बताए । दमाई जातिले बजाउँदै आएको नौमती बाजा बजाउन छोडेपछि संरक्षणका लागि दुईबर्ष अघि संगठित भएको उनले बताए ।
नौमती बाजा संरक्षणका लागि स्थानीयले समूह बनाएका छन् । समूहमा जेष्ठ नागरिक समेत सदस्य छन् । समूहमा १७ जना स्थानीय सदस्य छन् । समूहका सदस्य आफ्नो कुशलता अनुसार, दमाह, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बजाउँछन् । उनीहरुले बाजा बजाउन सुर्खेतबाट गूरु ल्याएर सिकेका थिए । łपश्चिम नेपालको लोक संस्कृति झल्काउने नौमति बाजा लोप हुन थालेपछि संरक्षण गर्नुपर्छ भन्ने लागेर संगठित भयौँ,’ दलबहादुरले भने ।


टाढा–टाढाबाट माग बढ्दै
जिल्लामा हुने सभा, समारोह, सम्मेलन, बार्षिक उत्सव, विवाह भोज, विजय उत्सव, पूजा र महोत्सवमा यहि सिंगारु तथा बाजा समूहलाई नै बोलाउने गरिन्छ । जिल्ला बाहिरबाट पनि माग हुन थालेको बाजा समूहका सदस्य टीकाराम ओलीले बताए । उनका अनुसार, सुर्खेतमा आयोजना भएको पर्यटन महोत्सवमा सिंगारु तथा बाजा समूहले नौमति बाजा बजाउने अवसर पाएको थियो । łविवाह र महोत्सव हुने समयमा प्रायः नौमति बाजा बजाउनमै दिन बित्छ,’ ओलीले भने ।
लोक संस्कृति प्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि सहर बजारमा हुने कार्यक्रमको शोभा बढाउन नौमति बाजाको खोजी हुन थालेको समूहका अध्यक्ष भीमबहादुर खत्रीले बताए । उनले कुनै बेला एकै दिन धेरै ठाउँका लागि फोन आउने गरेको बताए । łराम्रो साइत र मौसम राम्रो भएको बेला एकै दिन दुई–तीन ठाउँमा बाजा बजाउन आउनु प¥यो भनेर फोन आउँछ,’ अध्यक्ष खत्रीले भने ।


नौमती बाजालाई सामूहिक बाजा बनाउने प्रयास
दमाई जातिले बजाउने भएकोले नौमती बाजालाई łदमाह’ पनि भनिन्छ । दमाई जातिलाई हेर्ने दृष्टिकोण परिवर्तन भइनसकेकोले कुनै–कुनै विवाह, पाटी र पूजामा बाजा बजाउन गएका बेला सिंगारु तथा बाजा समूहका सदस्य पनि अपहेलित हुनु परेको छ । दमाई भनेर नछुने र टाढा बस्न भन्छन् । łकुनै–कुनै ठाउँमा दमाई भनेर तिमी भनेर सम्बोधन गरेको घटना पनि छ,’ भीमबहादुरले भने ।
दमाई भनेर अपहेलित गरे पनि आफूहरुलाई दुख नलाग्ने गरेको समूहका अर्का सदस्य यामबहादुर महतराले बताए । उनले दमाई भनेर अपहेलना गर्दा आफूहरुलाई नमाजा नलाग्ने गरेको बताए । łअरुले अपहेलना गर्दा हामीलाई झनै गर्व लाग्छ । बाजा बजाउन जानेकोमा हामीलाई पछुतो होइन खुसी महशुस हुन्छ,’ उनले भने ।
उनले संस्कृति कुनै एउटा जातिको मात्र नभई सवैको साझा हुने बताए । पहिले दमाई जातीले बजाउने भएकोेले उनीहरुको जस्तो लागे पनि नेपालमा भएका संस्कृति सम्पूर्ण नेपालीको साझा भएको उनको भनाई छ । łपश्चिम नेपालको परिचय बोकेको नौमती बाजा बजाएर संरक्षण गर्ने प्रयास गरेकोमा हामी गौरवान्वित छौँ,’ यामबहादुरले भने ।


ठाउँ र दूरी हेरेर शुल्क निर्धारण
सिंगारु तथा बाजा समूहले पहिले सल्यान, सुर्खेत, दैलेख क्षेत्रमा प्रचलित सिंगारु नाच मात्र नाच्दै आएको थियो । पछि आफ्नै क्षेत्रमा लोकप्रिय मानिने नौमति बाजा लोप हुन थालेपछि संरक्षणको प्रयास गरेको दलबहादुर मल्लले बताए ।
नौमति बाजा बजाए बापत बाजा समूहले निश्चित शुल्क लिने गरेको छ । उनले दूरी र ठाउँ हेरेर शुल्क लिने गरेको बताए । ठाउँ र दूरी हेरेर एक दिनको १२–२५ हजार रुपैयाँ शुल्क लिने गरेको मल्लले जानकारी दिए । łब्यक्ति र संस्थालाई पनि फरक शुल्क लिने नियम बनाएका छौँ,’ उनले भने ।
समूहलाई दर्ता गरेर बैधानिकता दिइने भएको छ । समूह दर्ता नगर्दा विल, भरपाई मिलाउन समस्या भएकोले दर्ता प्रक्रिया अगाडी बढाइएको उनको भनाई छ । पारिश्रमिक लिँदा आधिकारिक संस्था चाहिने भएकोले दर्ता गर्न लागिएको उनले बताए । łलुज फोरमलाई बैधानिकता दिने तरखरमा छौँ,’ मल्लले भने ।


पञ्चेबाजाको ठूलो रुप नौमती बाजा
नौमती बाजा नौ वटा बाजाहरुको सामूहिक बाजा हो । यो पञ्चे बाजाको ठूलो रुप हो । जसमा चार वटा अरु बाजाहरु थपिएको हुन्छ । यस अन्तर्गत दमाह, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई दुई वटा हुन्छन् ।
सहनाई र नरसिंगा फुकेर, ठूलो दमाह, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौ जना बाद्यवादक लोक कलाकारहरुले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो बाद्यसमूहलाई नौमती बाजा भनिएको हो ।
सहनाई अर्थात सनई नौमती बाजाको प्रमुख आकर्षण हो जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ । फुक्दै पौन फेर्दै यसमा मुरलीमा झैं आठवटा प्वालहरुमा औंला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोककलाकारहरुले मात्र बजाउन सक्छन् ।
एउटा सनई औंला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ त्यसैले सूर दिने सनईलाई भाले सनई र औंला चाल्दै भाखा हालेर बनाइने सनईलाई पोथी सनई पनि भनिन्छ । नौमती बाजामध्ये ठूलो बाजाका रुपमा दमाहा पर्दछ । तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ ।

Previous articleनिषेधाज्ञा उलंघन गरि पसल खोल्ने २५ जना क्वारेन्टाइनमा
Next articleतीन दिन लम्बियो निषेधाज्ञा, बाँकेमा थपिए ४९ संक्रमित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here