साउन १२ यता बाँकेका सात वटा सरकारी कार्यालय सिल

बाँके, २२ साउन ।
बाँकेका सरकारी कार्यालय एकपछि अर्कोगरि सिल भएका छन् । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बाँकेका सरकारी कार्यालय एकपछि अर्को सिल गरि कामकाज बन्द गरिएका छन् ।
पहिलो पटक १२ साउनमा यातायात ब्यवस्था कार्यालयका एक महिला कर्मचारीमा कोरोना संक्रमण देखियो । त्यसयता आठ दिनको अवधिमा सात वटा सरकारी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सवै कार्यालयलाई सिल गरि कामकाज बन्द गरिएको छ ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि सर्वसाधारणको स्वाब संकलन गरि कोरोना परीक्षण सुरु भएको छ । यातायात ब्यवस्था कार्यालयका कर्मचारी पछि आन्तरिक राजस्व कार्यालय, नेपालगन्जका अधिकृतलाई कोरोना संक्रमण पुष्टि भयो । नेपालगन्जस्थित त्रिभुवन चोकका असंगठित मजदुरसँगै उनको पनि स्वाब संकलन गरिएको थियो । जुम्ला घर भई आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि कार्यालय सिल गरि त्यहाँ कार्यरत कर्मचारी र उनका परिवारको स्वाब संकलन गरियो ।
भेरी अस्पतालमा स्वाब परीक्षण गर्दा १५ साउनमा कार्यालयका सात कर्मचारी र तीन जना नातेदारमा कोरोना पुष्टि भयो । कार्यालयमा कार्यरत कर्मचारी र परिवारका सदस्यमा कोरोना देखिएपछि उक्त कार्यालयलाई सिल गरि आइसोलेशन सेन्टर बनाइएको छ । सरकारी कार्यालयमा कार्यरत संक्रमित कर्मचारीलाई त्यहिँ राखिएको छ ।
राजस्व कार्यालयका कर्मचारीसँगै स्वाब परीक्षण गराएका बाँके जिल्ला अदालतका एक जना कर्मचारी र उनका नातेदारमा पनि कोरोना पुष्टि भएपछि अदालत पनि बन्द गरियो । त्यस लगत्तै लिइएको स्वाब परीक्षण गर्दा १८ साउनमा अदालतका थप चार जनामा कोरोना देखियो । सोही दिन राँझास्थित नेपाली सेनाको अस्पतालमा कार्यरत चिकित्सक र दुई जना सिपाहीमा कोरोना देखियो । त्यसपछि अदालतलाई पूर्ण रुपमा बन्द गरिएको छ । त्यहाँ कार्यरत कर्मचारी र न्यायाधीशलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । नेपाली सेनाको अस्पताललाई पनि सिल गरिएको छ ।
अदालतपछि १९ साउनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष र सात जना कर्मचारीमा कोरोना पुष्टि भयो । त्यसपछि उपमहानगरपालिकाको कार्यालय पनि सिल गरि कामकाज बन्द गरिएको उपप्रमुख उमा थापा मगरले बताइन् । उनले जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण भएपछि अति आवश्यक काम बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको बताइन् ।
१८ साउनमा इलाका प्रहरी कार्यालय, कोहलपुरका कैदीमा कोरोना पुष्टि भएपछि उक्त प्रहरी कार्यालयलाई पनि सिल गरिएको छ । प्रहरी कार्यालयलाई क्वारेन्टाइन बनाएर भित्र रहेका प्रहरीलाई बाहिर आउन दिइएको छैन । कार्यालयले दिने सवै सेवा बन्द गरि सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । कोहलपुर क्षेत्रको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परीचालन गरिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष खड्काले बताए ।
सरकारी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि बाँकेमा १५ साउनबाट लकडाउन गरिएको छ । लकडाउनकै बेला २० साउनमा कारागार कार्यालय, बाँकेका सात र वडा प्रहरी कार्यालय, नेपालगन्जका ६ जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि भएपछि कारागार कार्यालय र वडा प्रहरी कार्यालय सिल गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज हरिबहादुर बस्नेतले बताए । प्रहरी कार्यालयले सूचना टाँस गरि कार्यालयका केहि प्रहरी कर्मचारीलाई कोरोना पुष्टि भएकोले कामकाज बन्द गरिएको जानकारी गराएको छ । कारागार कार्यालयमा पनि भेटघाट र आउजाउ बन्द गरिएको बाँके प्रहरीले जनाएको छ ।
अत्यावश्यक सेवाका कार्यालयमात्र खुल्ला
सरकारी कार्यालय र अति ब्यस्त हुने बजार क्षेत्रका सर्वसाधारणमा कोरोना संक्रमण देखिन थालेपछि बाँके प्रशासनले सरकारी र अर्ध सरकारी कार्यालय बन्द गरेको छ । तीन दिने लकडाउन घोषणा गरेको प्रशासनले टेलिकम, स्वास्थ्य, मेडिकल, खानेपानी, विद्युत, सरसफाई, सुरक्षा निकाय बाहेक अन्य सेवाप्रदायक कार्यालय तीन दिनका लागि बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
उनले सरकारी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गर्न परेको बताए । संक्रमित फेला परेको कार्यालय शील गरिएको छ । ‘संक्रमण नदेखिएको कार्यालयका कर्मचारीलाई जोगाउन कामकाज बन्द गरिएको छ,’ उनले भने ।

Previous articleअनुहारमा मासु पलाएका नेत्रलालले गरे सहयोगको याचना
Next articleएक डाक्टरसहित एकैदिन बाँकेका २८ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here