बाँके, २१ साउन ।
नेपालगन्जमा बसोबास गर्ने मुस्लिम समुदायमा ढाका टोपी लगाउनेको संख्या बढ्दो छ । नेपालगन्जका अधिकांश मुस्लिम अगुवाहरु ढाका टोपीमा सजिएर बाहिर निस्कन्छन् । कार्यक्रम, समारोह र पाटीमा मात्र नभई घर, पसल तथा घर बाहिर जाँदा ढाका टोपी लगाउने गरेका छन् । राष्ट्रियता र पहिचानका लागि अधिकांश मुस्लिमले टोपी लगाउने गरेको समाजसेवी मोहम्मद हारुनले बताए । ‘धर्म गूरुदेखि सर्वसाधारण मुुस्लिमले नेपाली टोपी प्रयोग गर्छन्,’ उनले भने ।
उनले मुस्लिम समुदायमा टोपी लगाउने परम्परा भएको बताए । कुनै शुभ कार्य वा धार्मिक कार्य गर्दा टोपी लगाएर मात्र गर्ने प्रचलन रहेको उनको भनाई छ । ‘टोपी लगाउने मुस्लिम समुदायको संस्कृति नै हो,’ उनले भने ।
नेपालगन्जका मुस्लिमले टोपीलाई नेपाली पहिचानसँग जोडेर हेर्ने गरेका छन् । त्यस मध्येका नेपालगन्ज उपमहानगरपालिका–४, गणेशपुरका मेराज अहमद हलवाई पनि एक हुन् । पसलमा बस्दा होस् वा घर बाहिर जाँदा ढाका टोपी लगाउँछन् । ‘नेपालीको पहिचान झल्काउन ढाका टोपी लगाउँछु,’ उनले भने ।
ढाका टोपी नलगाउँदा नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझीका रहमान मियाँलाई के–के विर्से जस्तो लाग्छ । बाल्यकालदेखि नै ढाका टोपी लगाएकाले टोपी नलगाए उनलाई खल्लो महशुस हुन्छ । उनी पनि हमेसा ढाका टोपीमै बस्छन् ।
बाल्यकालदेखि नै टोपी लगाउने बानी परेकोले टोपी नलगाउँदा अर्कै लाग्ने गरेको उनले बताए । ‘ढाका टोपी लगाउन पाउँदा गर्व लाग्छ,’ उनले भने, ‘नेपाली मुस्लिमको परिचय ढाका टोपीले दिने गरेको छ,’ उनले भने ।
घर बाहिर निस्कदा पूर्व सांसद अब्दुल हमिद सिद्धिकी पनि ढाका टोपी लगाएर मात्र निस्कन्छन् । नेपाली मुस्लिमको पहिचान बनाउन ढाका टोपी लगाउने गरेको उनले बताए । उनले टोपी लगाएर मात्र शुभ कार्य गर्र्दै आएको बताए ।
ढाका टोपीले बाहिरी देशमा नेपाली मुस्लिमको सम्मान
नेपाली भएको चिनाउने एकमात्र माध्ययम ढाका टोपी भएकोेले बाहिरी देश जाँदा समेत ढाका टोपी लगाएर जाने गरेको नेपालगन्जका ब्यापारी मोहम्मद सफिक बागवानले बताए । उनले हजका लागि साउदी अरेवियाको मक्का मदिना गएको बेला ढाका टोपीले नेपाली मुस्लिम भएको परिचय गराएको स्मरण गरे । ‘मलाई ढाका टोपी लगाएको देखेर अरवमा बस्दै आएका एकजना नेपाली दौडिदै आएर मलाई भेटे,’ उनले भने, ‘टोपीले नै म नेपाली मुस्लिम भएको परिचय गरायो ।’
नेपाली टोपी लगाएर भारतमा जाँदा सम्मान मिल्ने गरेको हाजी मोविन अहमदले बताए । उनले टोपीले नेपाल र नेपालीको पहिचान गराउने र अर्कोतर्फ राष्ट्रियता बलियो हुने गरेको बताए । ‘भारतमा जाँदा नेपाली मुस्लिम भनेर सम्मानजनक ब्यवहार पाइन्छ,’ उनले भने ।
इस्लाम धर्ममा टोपी अनिवार्य
भगवानको अगाडी टाउको देखाउन हुँदैन भन्ने धार्मिक मान्यता अनुसार पूजापाठ गर्दा वा शुभ साइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्म गूरु मौलाना जब्बार मन्जरीले बताए । उनले मस्जिदमा नमाज पढ्दा र कुनै शुभ कार्य गर्दा इस्लाम धर्मावलम्बीलाई टोपी अनिवार्य गरिएको जानकारी दिए ।
टोपी अनिवार्य भएकोले आफूलाई मन पर्ने टोपी लगाउने गरेको बताउँदै उनले अन्य टोपीभन्दा ढाका टोपी धेरै लगाउने गरेको बताए । ‘अरु टोपी लगाउँदा पनि हुन्छ, तर धेरैजसो मुस्लिम धर्मका अगुवाले ढाका टोपी लगाउने गरेका छन्,’ उनले भने, ‘अन्य टोपी लगाउनु भन्दा आफ्नो देशको राष्ट्रियता झल्कने टोपी नै लगाउन उचित लाग्छ ।’ उनले नेपालीको पहिचानका लागि टोपी अनिवार्य भएको बताए ।