जहाँका २२ परिवारले पशु बध गर्दैनन्, पशुपंछी पनि पाल्दैनन्

बर्दिया, १९ साउन ।
बढैयाताल गाउँपालिका–७, तिलकानाका सर्वसाधारणले कहिलै पनि पशु बध गर्दैनन् । बसाई सराई गरेर आउने नयाँ परिवार पनि गाउँलेले अवलम्बन गर्ने नियम पालना गर्न थालेपछि यहाँ पशु बध नगर्नेको संख्या बढ्दै गएको छ । शुरुमा तीन घरले पशु बध नगर्ने र माछामासु नखाने नियम बनाए । त्यहि नियम एक–दुई गर्दै गाउँका सवैले पालना गर्न थालेपछि अहिले बढेर २२ घर पुगेको छ ।
झण्डै ३० बर्षअघि तीन भाईले सुरु गरेको अभियानमा सहभागी हुनेको संख्या बढ्दै गएको अभियानका सुरुवातकर्ता लक्ष्मीप्रसाद रेग्मीले बताए । आहाराका लागि पालन गरिएका पशु बध गर्ने कार्य हिन्दू धर्म विपरित भएकोले अभियान थालेको उनले बताए । गाउँमा पशु बध गरेको आफूले नदेखेको उनले बताए । ‘बाहिरबाट मासु ल्याएर केहि यूवाले खाएको सुनिन्छ, तर टोलमा कसैले पनि पशु बध गरेको देखिदैन,’ उनले भने ।
टोलमा पशु बध गर्न पाइन्छ । बध गर्नेलाई कारवाही गर्न कुनै नियम पनि बनाइएको छैन । पशु बध हुँदैन भन्ने बुझेका परिवारमात्र टोलमा बसाइँ सराई गरेर आउने गरेको शिक्षक समेत रहेका स्थानीय विष्णु अर्यालले बताए । ‘धेरैजसोलाई थाहा छ । पशु बध हुँदैन भनेर हामीले जानकारी गराई राख्न पर्दैन,’ उनले भने, पशु बध गर्दैनौँ भन्नेहरु मात्र बसाइँ सराई गरेर आउँछन् ।’
बसाइँ सराई गरेर टोलमा आउनेले समेत नियम पालना गरेको स्थानीय हरिकृष्ण रेग्मीले बताए । उनले टोलमा बस्ती बढे पनि पशु बध नगर्नेको संख्या बढ्दै गएको बताए । ‘तीन घरमा सीमित थियो । अहिले छिमेकमा रहेको टोलमा पनि पशु बध नगर्नेको संख्या बढ्दै गएको छ,’ उनले भने ।
पशुपंछी समेत पाल्दैनन्
तिलकानाका सर्र्वसाधारणले मासु खानका लागि प्रयोग हुने पशुपंछी समेत पाल्दैनन् । आफूले पालेको पशुपंछी अरुले काटेर खाने भएकोले मासुका लागि प्रयोग हुने पशुपंछी घरमा नपाल्ने गरेको रुक्मिणी पौडेलले बताइन् ।
गाउँका कसैले पनि पशुपछी नपालेको बताइन् । ‘नपाल्नु भनेर कसैलाई करकाप गरिदैन । सवैले स्वस्फूर्त रुपमा पशुपंछी पाल्दैनन्,’ उनले भनिन् ।
आहाराका लागि प्रयोग हुने पशुपंछी नपाल्दा कुनै घाटा नभएको स्थानीय हरिकृष्ण रेग्मीले बताए । उनले त्यसको सट्टा दुध दिने पशु पालन गरेको बताए । उनले भने, मासुका लागि प्रयोग हुने पशुपंछी विक्री गरेर हुने आम्दानी भन्दा दुध, दहिबाट धेरै आम्दानी गर्छौँ,’ उनले भने ।
घरमा कुखुरा र बाख्रा समेत नपाल्ने गरेका तिलकानामा पशु बध गर्नेहरु गाउँमा लामो समय टिक्न नसकेको रेग्मीले बताए । ‘बसाइँ सराई गरेर आएका एकजनाले काट्थे पछि उनी पनि बसाइँ सराई गरेर आफै गए,’ उनले भने ।
टोल शान्त, जिविकोपार्जनमा सहज
मादक पदार्थ खाने त परकै कुरा तिलकानाका सर्वसाधारणले पान मसाला समेत खाँदैनन् । माछा, मासु खाने कल्पनासमेत गर्न नसकिने स्थानीय हरिकृष्ण रेग्मीले बताए । धेरैजसो परिवारका सदस्यले पान मसाला र सुपारी समेत खाँदैनन्,’ उनले भने ।
उक्त गाउँका अधिकांश घर पक्की छन् । ब्यवस्थित रुपमा बसोबास रहेको उक्त बस्ती शान्त र सुन्दर छ । टोलमा कसैले मादक पदार्थ सेवन नगर्ने भएकोले टोल शान्त भएको उनले बताए । ‘टोलमा मादक पदार्थ सेवन गर्ने भए पो होहल्ला हुने थियो,’ उनले भने ।
उनले माछामासु नखाँदा रकम बचत भएको बताए । जाँडरक्सी र माछामासु किन्ने पैँसा जोगिदा जिविकोपार्जनमा सहज भएको उनले बताए ।

Previous articleस्रोत नखुलेको रकमसहित बाँके निकुञ्जका वार्डेन पक्राउ
Next articleबाँकेमा २४ साउनसम्म निषेधाज्ञा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here