कोरोना अस्पतालबाट वडा अध्यक्षको अपीलः कोरोनासँग खेलवाड नगर्नुस्

बाँके, १९ साउन ।
नेपालगन्ज उपमहानगरपालिका–१ का वडाअध्यक्ष प्रमोद रिजालले आफ्नो स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको बताएका छन् । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष आइसोलेशन अस्पतालबाट सन्देश पठाउँदै उनले आफूलाई कुनै स्वास्थ्य समस्या नभएको स्पष्ट पारेका छन् ।
वडा कार्यालयको काममा निरन्तर खटिरहेको अवस्थामा १९ साउन, २०७७ मा कोरोनाको संक्रमण पुष्टि भएको जनाउँदै उनले अरु नागरिकलाई सुरक्षित रुपमा बस्न आग्रह गरेका छन् । कोरोना विशेष अस्पतालबाट अध्यक्ष रिजाल भन्छन्, ‘यस परिस्थितिमा शुभेच्छा र सद्भावका लागि सवैलाई धन्यवाद दिन्छु । यस विश्वब्यापी कोरोना महामारीमा सुरक्षित साथ बस्नुस् । खेलवाड नगर्नुस् । स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्नुस् ।’
उनले लकडाउनको पूर्ण रुपमा पालना गर्न आग्रह गर्दै उनले कोरोनासँग खेलवाड नगरि सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सुझाव दिएका छन् । ‘कोरोनाले धनी, गरिव, ठूलो, सानो कसैलाई चिन्दैन । कसलाई कोरोना छ भन्ने अनुहार हेरेर चिन्न सकिदैन पनि,’ उनले भने, ‘कोरोनाबाट बच्ने प्रमुख उपाय भनेकै सामाजिक दूरी कायम राख्ने र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु हो ।’
उनीसँगै नेपालगन्ज उपमहानगरपालिकाको प्रशासन शाखामा कार्यरत कर्मचारीमा पनि कोरोना देखिएको छ । उनको पनि खजुरास्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

Previous articleथप ११ जनामा कोरोना पुष्टि
Next articleस्रोत नखुलेको रकमसहित बाँके निकुञ्जका वार्डेन पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here