–अविसेक डाँगी
दाङ, १७ साउन ।
थारु समुदायमा विद्यमान कला, संस्कृति अलिखित छन् । आफ्नो मौलिक भाषा भए पनि लिखित दस्तावेजिकरण गर्न नसक्दा थारु समुदायमा रहेका मौलिक संस्कृति, संस्कार र परम्परा लोप हुने अवस्थामा छन् । लिखित दस्तावेज नहुँदा बुढापाकासँगै मौलिक संस्कृति, परम्परा, गीत पनि हराउँदै गएका छन् । थारु समुदायमा रहेका मौलिक भाषा, संस्कार, संस्कृति, परम्परा, गीत पुस्तान्तरण हुन सकेको छैन । शिक्षाका कारण थारु समुदायले आफ्नो भाषा, संस्कृति, संस्कार, परम्परालाई कागजको पानामा उतार्न नसके पनि पछिल्लो पुस्ता दस्तावेजिकरण गर्न अग्रसर भएको छ ।
यसकै एउटा उदाहरण थारु समुदायको विवाहमा गाइने ‘माँगर’ लाई किताबमा उतारिएको छ । उक्त कृतिको शुक्रवार दाङको घोराहीमा बिमोचन भएको छ ।
लौव अग्रासन साप्ताहिकले प्रकाशनमा ल्याएको उक्त कृति लोक गायक् एवम् थारु अगुवा बेझलाल चौधरीले लिपिबद्ध गरेका हुन् । ‘माँगर’ कृतिको घोराही उपमहनगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले विमोचन गरेपछि बजारमा आएको छ ।
कृतिको विमोचन गर्दै उमहानगनगरकी उपप्रमुख न्यौपानेले थारु समुदायको मौलिक कला, संस्कृतिको संरक्षण गर्न सकेमात्र थारु समुदायको पहिचान र अस्तित्व जोगिने बताइन् । थारु समुदायको आफ्नै मौलिक् पहिचान, कला, संस्कृति हँुदाहँुदै पनि पछिल्लो समयमा लोप भइरहेको बताउँदै उपप्रमुख न्यौपानेले यसको विकासका लागि युवा पुस्ताले जिम्मेवारी लिनुपर्ने बताइन् ।
न्यौपानेले थारु समुदायको भाषा, साहित्य, कला संस्कृतिको विकासको लागि घोराही उपमहानगरपालिका सधै लागि परेको बताउदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिन्् ।
यसैगरि, लोक तथा संस्कृतिविद डा. गोविन्द आचार्यले माँगरमा थारु समुदायको वास्तविक लोक जीवन समेटिएको बताए । कृतिको समिक्षा गर्दै उनले कुनै बेला माँगर गीत विना थारु समुदायको विवाह अधुरो हुने प्रसंग निकाल्दै उनले संस्कृति बिनाको समाज पहिरन बिनाको मानव जस्तै हुने धारणा राखे । पछिल्लो समयमा माँगर गीत लोप भइरहेको छ । ‘संस्कृति हराउनु थारु समुदायका लागि मात्र नभई सिंगो देशका लागि पनि बिडम्बना हो,’ उनले भने । लोप हुँदै गएको संस्कृतिको जगेर्ना युवा पुस्ताले गर्नुपर्ने कुरामा जोड दिए ।
लौव अग्रासन साप्ताहिकका प्रधानसम्पादक केवी चौधरीको अध्यक्षता तथा लौव अग्रासन साप्ताहिकका÷प्रकाशक सम्पादक सन्तोष दहितले सहजीकरण गरेको ‘माँगर विमोचन’ कार्यक्रममा घोराही उपमहनगरपालिका–७ का वडा अध्यक्ष खोपीराम चौधरी, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, माँगर लेखक लोकगायक बेझलाल चौधरी लगायतले बिचार राखेका थिए ।