भीडभाड नगरि बक्रईद र रक्षाबन्धन मनाउन प्रशासनको आग्रह

बाँके, १६ साउन ।
बाँके प्रशासनले भीडभाड नहुने गरि बक्रईद र जनैपूर्णिमा मनाउन आग्रह गरेको छ । इस्लाम धर्मावलम्बीले शनिवार र हिन्दु धर्मावलम्बीले सोमवार रक्षा बन्धन (जनैपूर्णिमा) मनाउने भएका छन् ।
जनैपूर्णिमाका दिन निजी सवारी साधन र रक्षाबन्धनसँग सम्बन्धित पसल संचालन गर्न सकिने प्रशासनले जनाएको छ । प्रशासनले बक्रईदको अवसरमा भीडभाड नगर्न, सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध गरेको छ ।
शनिवार राति १२ बजेबाट मंगलबार राति १२ बजेसम्मका लागि जारी गरिएको लकडाउनका बेला अत्यावश्यक सेवा संचालनमा ल्याउन पाइने पनि प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । łलकडाउनको समयमा अत्यावश्यक सेवा बाहेक अन्य कुनै पनि सेवा संचालनमा ल्याउन पाइने छैन,’ सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जारी गरेको सूचनामा भनिएको छ ।
पुनः जारी गरिएको लकडाउन अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, दुध तथा दुग्धजन्य पदार्थ, फोहोरमैला ब्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा संचालन गर्न पाइने उपाध्यायले बताए । त्यसैगरि, एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कुटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालबहाक गाडी र सवारी अनुमती (पास) भएका गाडी मात्र संचालनमा आउन पाउने छन् ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णय अनुसार तीन दिनका लागि लकडाउन गरिएको प्रशासनले जनाएको छ । संक्रामक रोग ऐन २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) अनुसार लकडाउन गरिएको बताउँदै प्रशासनले अत्यावश्यक काम बाहेक कसैलाई पनि बाहिर ननिस्कन भनेको छ । łलकडाउनको उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने जानकारी गराइन्छ,’ जारी सूचनामा उल्लेख छ ।
बाँकेमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा बढ्दै गएपछि बाँके प्रशासनले तीन दिनका लागि पुनः लकडाउन गर्न परेको स्पष्ट पारेको छ ।

Previous articleबाँकेका नौँ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण
Next articleकोरोना भित्रिन नदिन उपमहानगर कार्यालय प्रवेशमा कडाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here