लागूऔषधको दलदलबाट निस्केर ‘उत्तम छोरा’ बनेका ‘उत्तम’ (फिचर)

लामो समयदेखि लागूऔषध दुब्र्यसन विरुद्धको अभियानमा लागेका नवकिरण पुनस्र्थापना केन्द्र, नेपालगन्जका निर्देशक उत्तम खरेल ।

बाँके, १४ साउन ।
धेरै ब्यक्तिले आफ्नो विगतलाई सम्झन्छन् । विगतमा भए–गरेका गल्ती, कमजोरीबाट पाठ सिक्छन् । र, आफूलाई सुधार्दै आगामी दिनको योजना बनाउँछन्् । अरुको कथा सुन्छन् । आफ्नो कथा अरुलाई सुनाउँछन् । र, प्रेरणा दिन्छन् । यस्तै मध्येका एक हुन् उत्तम खरेल ।
नेपालगन्ज उपमहानगरपालिका–९, बाँकेगाउँका उनी विगतलाई सम्झिन्छन् । विगतमा गरेका गल्तीको पश्चाताप गर्छन् । ०६४ साल अगाडीका घटना सम्झिँदा मन थाम्न सक्दैनन् उनी । विद्यालय कालको कुरा कोट्याउँदा उनी गहभरी आँशु पार्दै भक्कानिन्छन् पनि । बोल्न खोज्छन्, तर सक्दैनन् । बोल्दा बोल्दै टक्क अडिएर चुपचाप लाग्छन् । अरुले देख्लान भन्ने डरले आँखाको परेलीमा आएको आँशु हत्तपत्त लुकाउन खोज्छन् ।
उनी पूर्व लागूऔषध प्रयोगकर्ता हुन् । सर्पले सर्पको खुट्टा देख्छ भने झैँ उनले लागूऔषध प्रयोगकर्ताको दुख, ब्यथा बुझ्न सक्छन् । लागूऔषध प्रयोगकर्तालाई चिन्दछन् । र, उनीहरुको ब्यथामा मल्हम पट्टी लगाउँछन् । विगतबाट पाठ सिकेर आफूलाई सुधार्दै लागूऔषध दुब्र्यसन विरुद्धको अभियानमा क्रियाशील छन् उनी ।

नवकिरण पुनस्र्थापना केन्द्र भवन ।


उनी नेपालगन्जमा लागूऔषध पुनस्र्थापना केन्द्र स्थापना गर्ने पहिलो ब्यक्ति हुन् । नवकिरण पुनस्र्थापना केन्द्र, काठ्माडौँमा उपचार पछि निको भएर उनी १२ साउन, ०६४ मा नेपालगन्जमा नवकिरण पुनस्र्थापना केन्द्र स्थापना गरे । उनले लागूऔषधको दलदलमा फसेका झण्डै एक हजार जनालाई निको बनाएर घर पठाइसकेका छन् ।
महेन्द्र मावि, नेपालगन्जमा कक्षा ८ मा पढ्दा उनले चुरोट तान्न सिके । साथीभाईले चुरोट तानेको देखेपछि उनलाई पनि रहर लाग्यो । उनले देखासिखीमा एक सर्को, दुई सर्को चुरोट ताने । पछि त्यहि लत बस्न गयो ।
जति धेरै पढाईको कक्षा उक्लिदै गए उनी त्यति नै लागूऔषधको मात्रा पनि बढ्दै गयो । उनी १० कक्षामा पुग्दा स्म्याक, कोकिन, हिरोइन, ब्राउनसुगर जस्ता कडा खालका लागूऔषध सेवन गर्ने भइसकेका थिए । ‘हरेक बर्ष विद्यालयको कक्षा उक्ले जस्तै लागूऔषधको मात्रा बढ्दै जान्थ्यो,’ उनले भने, ‘१२ कक्षा पुग्दा लागूऔषध विना जिउन नसक्ने भइसकेको थिएँ । ‘वान्स मोर’ भन्दै लागूऔषध सेवन गर्थेँ ।’
लागूऔषधको दलदलमा फसेर उठ्न नसक्ने भइसकेका उत्तम अहिले लागूऔषध दुब्र्यसनमा फसेर जीवन बर्बाद बनाइरहेकाको सेवामा तल्लिन छन् । उनी अरुको भविष्य प्रति चिन्ता गर्दै पुनर्जिवन दिने महाउत्तम काममा जुटेका छन् । त्यसैले त नेपालगन्जमा उदाहरण बनेका छन् उनी । अहिले छोरा त उत्तम जस्तो उत्तम हुनु पर्छ भन्नेको जमात धेरै बनाइसकेका छन् उनले ।
उनले साविक मध्यपश्चिम र सुदूरपश्चिमका साथै भारतको बहराइच, श्रावस्ती जिल्लाका धेरैको जीवन सुधारेर ठूलो गुण लगाएका छन् । उनको अभियान निरन्तर जारी छ । कुनै बेला लागूऔषध बिना बाच्न नसक्ने उनी अहिले सुपारीसमेत खाँदैनन् । ‘विगतलाई भुलेर म मेरो परिवार र समाजको उहादरण बन्न चाहन्छु । मेरो कारण समाज, परिवार र मेरा सन्ततीको भविष्यमा असर नपरोस् भन्ने चाहन्छु,’ उनले भने, ‘म मेरो ब्यक्तिगत जीवनलाई भन्दा समाज र परिवारको भविष्यप्रति सजग छु ।’

नवकिरण पुनस्र्थापना केन्द्र भवन ।


बाबु सरकारी जागिरे । आमाको पनि संस्थानमा जागिरी थियो । उनलाई सानोमा रुपैँया, पैँसाको कुनै कमी थिएन । बाँके र बर्दियामा जमिन पनि प्रशस्तै थियो । त्यसैले त उनका बाबुले उनलाई डाक्टर बनाउन चाहन्थे । तर, उनी बाबुआमाको ठिक विपरित हिडे । लागूऔषधमा फसेपछि उनले पढाई अगाडी बढाउन सकेनन् । पढ्न नसकेपछि उनी नेपाली सेनामा भर्ती हुन् राँझाको इमामनगर ब्यारेकमा गए,तर उनी त्यहाँ पुग्नुभन्दा पहिले नै बाबुआमाको फोन ब्यारेकमा पुगिसकेको थियो ।‘मेरो बाबुआमाको चाहना डाक्टर बनाउने थियो । सेनामा भर्ती हुन गएको थाहा पाउनासाथ म पुग्नु भन्दा पहिले नै ब्यारेकमा फोन गइसकेको थियो,’ उनले विगत सम्झिदै भने ।
उनलाई पढ्न नपाएको भन्दा किशोर अवस्थामा बाबुआमाको चित्त दुखाएकोमा बढ्ता दुख लाग्छ । लागूऔषध सेवन गर्ने समयमा उनका बाबुआमाले उनलाई सुधार्ने धेरै प्रयास गरे । नेपालगन्जमा विग्रिन थालेपछि पढ्न काठ्माडौँ पठाए । किर्तीपुरको महंगो निजी विद्यालयमा भर्ना गरे । तर, कुनै सीप चलेन । उनी फेरि नेपालगन्ज फर्किए । मैले मेरो बाबुआमाको धेरै चित्त दुखाएको छु । ‘मलाई पढ्न नपाएको भन्दा बाबुआमाको चित्त दुखाएकोमा बढ्दा दुख छ,’ उनले भने, ‘पहिले जति चित्त दुखाए अव खुसी देख्न चाहन्छु ।’
उनले जुनसुकै काम गर्दा पनि बाबुसँग सल्लाह लिन्छन् । आफ्नो योजना सुनाउँछन् । यो काम गर्दा कस्तो होला भनेर सोध्छन र बाबुको सल्लाह बमोजिम अगाडी बढ्छन् । ‘मेरो योजना सुन्दा बुवामा खुसीको सीमा हुँदैन । आँखाबाट हर्षको आँशु खस्छ । मुहार चम्किलो देख्दा अझ राम्रो काम गर्नुपर्छ भन्ने आँट र साहस बढ्छ,’ खरेलले भने ।


उनीसँगै पढेका साथी मध्ये कोही पाइलट छन् । कोही डाक्टर भएर विरामीको सेवामा तल्लिन छन् । कोही अमेरिका, अष्ट्रेलिया, थाइल्याण्ड जस्ता विकसित देशको नागरिकता लिएर स्थायी रुपमा बसेका पनि छन् । ‘मैले ठूलो पद र धन कमाउन सकेको छैन, तर लागूऔषधको दलदलमा फसेर जीवन बर्बाद गरिरहेकाहरुलाई पुनर्जिवन दिन पाएकोमा मलाई गर्व छ,’ खरेलले भने, ‘रुपैँया, पैँसा भन्दा अरुलाई पुनर्जिवन दिन सकेकोमा मलाई आनन्द छ ।’
मानविय जीवनमा जान अन्जानमा गल्ती हुन्छ । तर, विगतमा भए–गरेका गल्ती र कमजोरीलाई सच्याउँदै जुन ब्यक्ति अगाडी बढ्छ, त्यो नै महान मानिन्छ । उत्तम खरेलले पनि यहि शिद्धान्त अंगालेका छन् । उनी विगतमा जे गरे पनि अहिले समाजमा उदाहरण बन्ने अभियानमा छन् । त्यसैले त उनी सफल हुँदै गएका छन् पनि । अहिले सुपारी, पान समेत मुखमा हाल्दैनन् । ‘जाँड, रक्सी, चुरोट, विडी, तम्बाकु त के विगत १५ बर्षदेखि सुपारी समेत मुखमा हालेको छैन,’ उनले भने ।
मेरो छोरा, मेरो बाबाले सुपारी समेत खानु हुन्न भन्ने सुन्दा उनलाई असाध्यै खुसी लाग्छ । उनका दुई छोरी छन् । छोरी र परिवारका सदस्यको मुख हेरेर उनले धेरै चिज त्यागेका छन् । छोरीहरुको मुखबाट बाबा भन्ने शब्दले उनलाई थप काम गर्ने हौसला दिन्छ । ‘मेरो बाबाले सुपारी, पानसमेत खानुहुन्न भनेको सुन्दा त्यो शब्द मलाई अति नै प्यारो लाग्छ,’ उनले भने ।
विगतमा गरेका नराम्रो गतिविधिको बारेमा सन्ततीलाई थाहा नदिने पक्षमा छन् । आफ्नो कारण सन्ततीको भविष्यमा असर पर्न सक्ने तर्फ सजग छन् उनी । ‘म पूर्व लागूऔषध प्रयोगकर्ता हुँ भन्ने मेरा छोरीहरुले थाहा पाए भने उनीहरुको मानसिकतामा नराम्रो असर पर्ने तर्फ सजग छु,’ खरेलले भने ।
सकारात्मक सोँच, स्वच्छ अभियान र निस्वार्थ भावको सेवा देखेर उनका बाबुआमा खुसी छन् । उनले चलाएको अभियानमा साथ दिँदै बाबुआमाले नवकिरण पुनस्र्थापना केन्द्र संचालनमा साथ दिएका छन् । पुनस्र्थापना केन्द्र संचालनका लागि नेपालगन्ज उपमहानगरपालिका–१०, गोडियनपुरमा घर बनाउन सहयोग समेत गरेका छन् ।


सुध्रिनुमा उनले बाबुआमासँगै पत्नीको हात भएको सम्झिन्छन् । ‘बाबुआमा र पत्नीको साथ, सहयोग र हौसलाले नै मैले आफ्नै घरमा पुनस्र्थापना केन्द्र संचालन गर्ने अवसर पाएको छु । उहाँहरुको साथ, सहयोग बिना म एक कदम पनि अगाडी बढ्न सक्दैन,’ उनले भने, ‘मेरो काममा मेरी पत्नीले निगरानी गर्छिन् । र, अगाडी बढ्ने बाटो देखाउँछिन् । यसैमा मलाई ठूलो सन्तुष्टि लाग्छ ।’
लागूऔषध या जाँड, रक्सी, चुरोट, विडी, तम्बाकुको लतबाट छुटकारा पाउन दृढ इच्छा हुनुपर्ने उनको ठम्याई छ । दृढ इच्छा शक्ति भएकै कारण उनले एक पटक पुनस्र्थापना केन्द्रमा बसेर लागूऔषध छोड्न सकेको बताए । ‘लागूऔषध छोड्न दृढ इच्छा शक्ति सँगै घरपरिवारका सदस्यको सहयोग र वातावरण हुनु पर्छ,’ उत्तमले भने ।
लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको देख्दा उनलाई चिन्ता लाग्छ । उनी लागूऔषध प्रयोगकर्ताको संख्या घटाउने विषयमा घोत्लिन्छन् । चिन्तन, मनन् गर्छन् । योजना बनाउँछन् । बेला–बेला लागूऔषध दुब्र्यसन विरुद्धको सचेतनामुलक कार्यक्रम संचालन पनि गर्छन् ।


लागूऔषधले देश विकासमा ठूलो असर गरेको उनले महशुस गरेका छन् । यूवा शक्ति लागूऔषधको दलदलमा फस्दा समेत राज्यले यसतर्फ चासो नदेखाएकोमा उनलाई चिन्ता छ । लागूऔषधलाई राज्यले गम्भिर रुपमा नलिँदा यसले झनै प्रशय पाएको भान भएको छ । ‘विकास, निर्माणका लागि बजेट छुट्याए जस्तै लागूऔषध दुब्र्यसन नियन्त्रणका लागि पनि राज्यले बजेट छुट्याउनु पर्छ,’ उनले भने, ‘यसतर्फ राज्य गम्भिर नभए यसले जटिल रुप लिने निश्चित छ ।’

Previous articleबाँकेका ३७९ जनाले जिते कोरोना
Next articleआन्तरिक राजस्व कार्यालयका ११ कर्मचारीसहित २७ जनामा कोरोना संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here