शिक्षकबाट पहिचान फेरिएका ‘मोरिङ्गा बाबा’

उनी विरुवा विना जीवन देख्दैनन् । भन्छन्, ‘विरुवा विना मानव सृष्टि एक पल पनि चल्न सक्दैन ।’

बाँके, १४ साउन ।
कुनै बेला शिक्षकको रुपमा परिचय बनाएका हेमन्तराज काफ्लेको परिचय फेरिएको छ । उनले जन्मदिनमा विरुवा उपहार दिने हरित अभियन्ताको परिचय बनाएका छन् । कैलालीको टिकापुर स्थायी घर भई हाल नेपालगन्ज उपमहानगरपालिका–१८ बस्दै आएका काफ्लेले कसैको जन्मदिन परेको थाहा पाउने वित्तिकै उपहारको रुपमा विरुवा लिएर घरमै पुग्छन् । त्यसैले उनी अहिले शिक्षक भन्दा बढ्ता विरुवा उपहार दिने हरित अभियन्ताको रुपमा चिनिन्छन् ।
११ बर्षको उमेरदेखि नै विरुवा उपहार दिन थालेका उनले ११ हजार भन्दा धेरैलाई विरुवा उपहार दिइसकेका छन् । साथीभाईदेखि देशका उच्च ओहोदाका ब्यक्तिलाई समेत उनले विरुवा उपहार दिइसकेका छन् । उनले सवैभन्दा पहिले जन्मदिनको अवसर पारेर आफ्नै बहिनीलाई निमको विरुवा उपहार दिए । उक्त विरुवा अहिले हुर्कीसकेको उनले बताए ।
सानैदेखि बातावरणमा रुची राख्ने उनले साथीभाईको जन्मदिन थाहा पाउने वित्तिकै घरमै पुगेर विरुवा उपहार दिन्छन् । ‘बातावरण प्रति सानैदेखिको रुची हो । त्यसलाई साकार पार्न साथीभाईलाई निशुल्क रुपमा विरुवा उपहार दिन्छु,’ उनले भने ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, सांसद एवम् गायिका कोमल ओली, नायक राजेश हमाल, महावीर पुन, विक्रम पाण्डे लगायतलाई निम र चितल चिनीको विरुवा उपहार दिइसकेका छन् । उनले देशका नाम चलेका ब्यक्तिदेखि नेपालगन्जका चिकित्सक, वकिल, प्राध्यापक, पत्रकार, नागरिक समाजका अगुवा, सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी समेत छन् ।
उनले उपहार दिएका विरुवा हुर्केर ठूला भइसकेका छन् । उनले विरुवा उपहार दिएर नेपालगन्जलाई हरियाली बनाउने अभियान मात्र थालेका छैनन् । उनले घर आगन र करेसाबारीमा रुख रोप्नु पर्छ भन्ने चेतना पनि जगाएका छन् । उनी भन्छन्, ‘मैले विरुवा उपहार दिएर रुख रोप्ने प्रेरणा मात्र दिएको छैन, रुख रोपेपछि बातावरण सफा हुन्छ भन्ने सन्देश पनि दिएको छु । मेरो प्रेरणाले नेपालगन्ज लगायत देशका अन्य सहरमा ६० हजार विरुवा रोपिएको छ ।’
उनले जन्मदिन, बैबाहिक बर्षगाँठ, ब्रतबन्ध र विभिन्न चाडपर्वको अवसर पारेर निम, जामुन सितलचिनी, कोइराल, अगस्त र कागतीका बिरुवा उपहार दिन्छन् । उनले विरुवामा मात्र एक लाख रुपैँया खर्च गरिसकेका छन् । ‘पहिलो चरणमा विरुवा किनेर उपहार दिएँ । अहिले आफ्नै करेसाबारीमा विरुवा उत्पादन गरि वितरण गर्छु,’ उनले भने ।
जिल्ला बन कार्यालय, जिल्ला बनस्पती कार्यालय सँग समन्वय गरेर उनले विरुवा ल्याउँछन् । तर, त्यतिले नपुग्ने भएपछि उनले आफ्नै घरमा सितलचिनी, निम, कोइराल लगायतका विरुवा उत्पादन गर्न थालेका छन् । शिक्षण पेशामा संलग्न उनी फुर्सदको समयमा विरुवा उत्पादन गर्छन् । ‘विरुवा उपहार दिन पाउँदा मलाई स्वर्गिय अनुभूति हुन्छ,’ उनले भने, ‘हरेक दिनजसो विरुवा उहार दिएकै हुन्छु ।’
उनले उपहार दिने विरुवाले वातावरण संरक्षणमा टेवामात्र दिँदैनन् रोग निवारणका लागि समेत उपयोगी छन् । उनले सितलचिनीको रुखको पात, जरा, बोक्रा, फलले तीन सय वटा रोगमा काम लाग्ने बताए । ‘मैले दिने विरुवा बहुउपयोगी छन्,’ उनले भने ।
क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अभियन्ता समेत रहेका काफ्लेले समरस्ता इन्टरनेश्नल अवार्ड, भारत र ग्रिन युथ अवार्ड, युक्रेनद्वारा सम्मानित भइसकेका छन् । त्यसैगरि, बनमन्त्रालयको हरित अभियन्ता राष्ट्रिय सम्मान र बास ब्राइट्ल्याण्ड अवार्डबाट पनि सम्मानित भइसकेका छन् । ‘हरित अभियानमा लागेकै कारण मैले विभिन्न सम्मान र पुरस्कार पाएको छु,’ काफ्लेले भने ।
जन्म, विवाह, ब्रतवन्ध र बैवाहिक बर्षगाँठको अवसरमा विरुवा उपहार दिँदा उनलाई पागलको संज्ञा दिइन्थ्यो । तर, उनले हिम्मत हारेनन् । अहिले उनको परिचय फेरिएको छ । उनी अहिले मोरिङ्गा बाबा उपनामले चिनिन्छन् । उनी भन्छन्, ‘म शिक्षक हुँ । मेरो धेरै समय शिक्षण पेशामा बित्छ, तर मलाई शिक्षक भन्दा धेरैले हरित अभियन्ता र मोरिङ्गा बाबा भनेर चिन्दछन् ।’
उनी द विलियन ट्रिज नामक संस्थाको स्वयम्सेवक पनि हुन् । बातावरण प्रति उनको मोहमा धेरैले साथ दिएका छन् । उपहार दिएको विरुवा हेर्न उनी घर–घरमा पुग्छन् । काफ्ले भन्छन्, ‘मलाई मैले दिएको विरुवाको मोह छ । र, त म विरुवाको अवस्था बुझ्न घर–घर पुग्छु र स्याहार सुसार गर्ने विधिको बारेमा जानकारी गराउँछु ।’ उनी विरुवा विना जीवन देख्दैनन् । भन्छन्, ‘विरुवा विना मानव सृष्टि एक पल पनि चल्न सक्दैन ।’ नयाँ पत्रिका दैनिकबाट साभार ।

Previous articleकोरोना कहरमा साढे सात हजारलाई माइतीको खाना
Next articleबाँकेका ३७९ जनाले जिते कोरोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here