बाँकेका ८ स्थानीय तहका ११४ गाउँ बाढीको उच्च जोखिममा

विक्रम सम्वत २०७१ सालमा राप्ती नदीमा आएको बाढीले सडक भत्काएपछि यातायात सुचारुका लागि अस्थायी बाटो बनाउँदै सशस्त्र प्रहरीको टोली ।

बाँके, १३ साउन ।
बाँकेका आठ स्थानीय तहका ३५ वटा वडाका एकसय १४ गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले बाँकेका एक सय चार गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोला लगायत साना, ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरेको छ ।
केन्द्रले राप्तीसोनारीका ९ वटै वडाका ४३ गाउँ बाढीको उच्च जोखिममा भएको जनाएको छ । राप्तीसोनारी गाउँपालिका–१ का सिक्टा, जरुवा, बैरिया, ओजखोला, चप्परगौडी र तितेनघारी, वडा नं. २ का मदुवा, हरिहरपुर, औरह्वा, टिकुलीपुर, शमशेरगन्ज, बेलबास र राजपुर तल्लोबस्ती बाढीको उच्च जोखिममा रहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।
त्यसैगरि, वडा नं. ३ का शाहीपुर, नवलपुर, बैसा, गल्राबास, सिनाबास र परसरामपुर तथा वडा नं. ४ का लालपुर, धामपुर र भगवानपुर पनि राप्ती नदीको उच्च जोखिममा पर्ने गाउँ हुन् । भने, राप्तीसोनारी गाउँपालिका–५ का ललही, आलीनगर, पठरिया, रिहार डाँडा र चिलहरिया पनि राप्ती नदीको उच्च जोखिममा रहेको बाँके प्रशासनले जनाएको छ ।
राप्तीसोनारीको ६ नं. वडाका खल्लाटेपरी, गोडियनपुर्वा, वडा नं. ७ का खल्ला झगडिया, बसन्तापुर, भवनियापुर, पहाडीपुर, देउपुर्वा, पिप्रह्वा, गेदवा, सोनपुर पनि राप्ती नदीको उच्च जोखिममा रहेका गाउँ भएको सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । उनले वडा नं. ८ का बालापुर, पेरानी र वडा नं. ९ का ढकेरी, महादेवा तथा ढकेरी पनि बाढीको उच्च जोखिममा रहेका गाउँ भएको उनले बताए ।
उनले दिएको जानकारी अनुसार, नेपालगन्ज उपमहानगरपालिकाको एउटा गाउँमात्र बाढीको जोखिममा रहेको छ । नेपालगन्ज उपमहानगरपालिका–२० को मदनापुर डुडुवा खोलाको जोखिममा रहेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ ।
केन्द्रले खजुरा गाउँपालिका–५ र ६ का सात वटा गाउँ मानखोला र पेडारी खोलामा आउने बाढीको उच्च जोखिममा भएको केन्द्रले प्रकाशन गरेको नक्सामा उल्लेख छ । खजुरा गाउँपालिका–५ र ६ का गिजरा, पुरैना, दसविघा, आठविघा, बाह्रविघा, शान्तिनगर र सल्यानी टोली बाढीको उच्च जोखिममा रहेको गाउँ भएको केन्द्रका फोकल पर्सन गौरीलाल बुढाथोकीले जानकारी दिए । खजुरा गाउँपालिका वडा नं. २ को गुँरासपुर पनि बाढीको जोखिममा गाउँमा पर्दछ ।
त्यसैगरि, डुडुवा गाउँपालिका वडा नं. १ को पिप्रह्वा, कृषि चौफेरी, पाझा, खडैचा र टेपरी, वडा नं. २ को सन्तलिया, अमृतपुर्वा, भेलोरपुर्वा, दासपुर्वा, खोलमसाहा, बाबागाउँ, कैरातीपुर्वा, कोहली र वडा नंं. ३ को रमपुर्वा, कटैह्या, हलकारापुर्वा, लोधपुर्वा र राजापुर्वा पनि राप्ती नदी र डुडुवा खोलाको उच्च जोखिममा रहेका गाउँ हुन् । भने, डुडुवा गाउँपालिका–४ का दुई वटा गाउँ पनि बाढीको जोखिममा रहेका छन् । केन्द्रका फोकल पर्सन बुढाथोकीका अनुसार, खालेमसाहा र लालापुर्वा, वडा नं. ५ का खजुरागौडी, लडियाघाट, सिधनिया तल्लोबस्ती, लिवाङ्गी टोल र शिवराजपुर राप्ती नदी र डुडुवा खोलाको उच्च जोखिम क्षेत्र भित्र पर्दछन् ।
बाँकेको सुदूरपूर्व नरैनापुर गाउँपालिकाका ५ वटा वडाका २० गाउँ पनि बाढीको जोखिममा छन् । नरैनापुरका बानियागाउँ, महतनिया, सुइया, वहाउँपूर्वा, कोटिया, कोदिपुर, रतेहिया, घोडदौरिया, नौसहरा, नरैनापुर, दौलतपुर, मटेहिया, जमुनाहा, भगवानपुर, निवाजीगाउँ, सोनवर्षा, कुदरबेटवा, गंगापुर, भोजपुर र जमुनी पनि बाढीको जोखिममा भएको बुढाथोकीले बताए ।
कोहलपुर नगरपालिका–१०, ११, १२ र १४ का कालिकानगर, मुक्त कमैया टोल, चप्परगौडी र बजारटोल पनि बाढीको जोखिममा रहेको केन्द्रले जनाएको छ । बैजनाथ गाउँपालिका वडा नं. २, ३, ४, ५, ६, ७ र ८ वडाका मकैबारी, जबदहवा, रामपुर, कलरामपुर, बानियाभार, इटा नाला, जनमत टोल, छमनिया, गरही, परशरामपुर सम्झनाबजार, गुरुवागाउँ, सिंहभवानी, गरही, सम्झना बजार र प्रशुरामपुर पनि बाढीको जोखिममा रहेको केन्द्रले जारी गरेको नक्साङ्कनमा उल्लेख छ । केन्द्रका अनुसार, जानकी गाउँपालिका–१ को साइगाउँ, शिवपुरी, पचपोखरा, बढैया गाउँ पनि बाढीको उच्च जोखिममा रहेका छन् ।
बाढीको उच्च जोखिममा रहेका गाउँ र ठाउँको पहिचान गरि उद्धार, राहत तथा पूर्व सूचनासहित पूर्व तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । उनले बाढीबाट हुने क्षति न्यूनिकरण गर्न उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको बताउँदै उद्धार गरिएका ब्यक्तिलाई सेल्टरमा राख्ने र बाढीमा परेका ब्यक्तिको उद्धारका लागि प्रयोग हुने हेलिकप्टर बस्ने हेलीप्याड निर्माण गरिएको बताए । łक्षति हुन नदिन सवै खालका उपाय अवलम्बन गरिएको छ,’ उनले भने ।

Previous articleसुपरपावर सुर्ती र कमला पसन्दसहित दुई पक्राउ
Next articleजिविकोपार्जनका लागि विपन्न परिवारलाई बाख्रा र चल्ला प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here