
बाँके, १३ साउन ।
माइती नेपालले सञ्चालन गरेको खाना अभियानमा सात हजार पाँचसय ५० जनाले खाना खाएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको जमुनहा लगायतका स्थानमा सात हजार जनालाई खाना खुवाएको माइती नेपालले कोहलपुरमा पाँच सय ५० जनालाई खुवाई सकेको माइती नेपाल, नेपालगन्जका प्रमुख केशव कोइरालाले जानकारी दिए ।
कोरोनाका कारण रोजगारी गुमाएका परिवार र ब्यक्तिलाई लक्षित गरि खाना खुवाउने अभियान थालिएको उनले बताए ।
१६ असारबाट शुरु भएको अभियानले सात हजार पाँच सय ५० बढिलाई खाना प्रदान गरेको कोइरालाको भनाई छ । उनले नेपालगञ्ज उपमहानगरपालिका–१२ मा पर्ने बेलासपुर, भेरी प्राविधिक शिक्षालय चोक, नयाँबस्ती, वडा न.ं १३ को घसियारनटोल, मसानघाट, बुलबुलिया, वडा नं. १९ को आलानगर, मोहनपुर, वडा नं. २० को गायत्रीनगर र वडा नं. ९ को खट्कनपुर्वाका गरिव तथा निमुखा परिवारलाई खाना बितरण गरिएको जानकारी दिए ।

यस्तै, नेपालगञ्ज क्वारेन्टाइनमा बस्ने तथा निलसागर बृद्धाश्रममा रहेका असहाय, अशक्त ब्यक्तिहरुलाई पनि अभियानमा समेटिएको उनले बताए । कोरोना महामारीको प्रकोपका कारण दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका ब्यक्तिलाई थोरै भए पनि राहत प्रदान गर्न खाना खुवाउने अभियान थालेको उनको भनाई छ ।
बिद्यमान असहज परिस्थितिमा महिला तथा बालबालिकालाई पौष्टिकयुक्त खाना खुवाएर उनीहरुको दैनिक जीवनलाई थोरै भएपनि सहयोग पु¥याउने अभियानको प्रमुख उद्देश्य रहेको कोइरालाले बताए ।
स्थानीय तहको सहकार्यमा यूएन वुमनको सहयोगमा सञ्चालित अभियानमा १४ हजार जनालाई एक छाक खाना खुवाइने उनले बताए ।