–अविसेक डाँगी
दाङ, १२ साउन ।
दंगीशरण गाउँपालिका–१, बाँकीबेटारपुरमा गुफा फेला परेको छ । जंगलको फेदमा रहेको गुफाभित्र पस्न सजिलो नभए पनि भित्र ठूला–ठूला दुई वटा हल जस्तो कोठा भएको स्थानीय बताउँछन् ।
घस्रिएर पसेपछि भित्र उभिन मिल्ने ठूलो–ठूलो दुई वटा हल जस्तो कोठा भएको गुफाभित्र पसिसकेका स्थानीय यूवराज खड्काले बताए । ‘गुफाभित्र हिंस्रक जंगली जनावर र खतरनाक सर्प, विच्छी हुन सक्ने आशंकामा सर्वसाधारण गुफा भित्र पस्न डराउँछन्,’ उनले भने, ‘भित्र पसेपछि त्यसभित्रका बातावरण हेर्दा आनन्द आउँछ, तर धेरै बस्न डर लाग्छ ।’
तुल्सीपुरबाट झण्डै १५ किलोमिटर र दंगीशरण गाउँपालिकाको सदरमुकाम हेकुलीबाट पाँच किलोमिटर दक्षिण चुरे पर्वतको फेदमा सुन्दर गुफामा पुग्न सकिन्छ । गुफा भित्र अध्यारो भएकोले पस्न डर लाग्छ । अहिलेसम्म दुई–चार जनाा बाहेक गुफामा पस्न हिम्मत नगरेको निमावि, बाँकीबेटारपुरका सेवा निबृत्त शिक्षक समेत रहेका स्थानीय भुवनदाश डाँगीले बताए ।
उनले गुफाको बारेमा स्थानीयलाई पहिलेदेखि नै जानकारी भए पनि प्रचार प्रसार नहुँदा ओझेलमा परेको बताए । ‘यसको संरक्षण र प्रचार प्रसार गर्न सके पर्यटकको आकर्षणको केन्द्र विन्दू बन्न सक्छ,’ उनले भने ।
सानो छँदादेखि नै गुफाको बारेमा थाहा पाएको रहरपुरका स्थानीय रामबहादुर चौधरीले बताए । कनरिया खोलासँग जोडिएको गुफा नजिक घाँस, डाउरा गर्न गएको स्मरण गर्दै उनले गुफा भएको थाहा पाए पनि खासै चासो नदिएको बताए । ‘साथीभाईले गुफामा पसौँ भन्थे, तर भित्र के छ ? कस्तो छ ? बाघ, भालु हुने हुनकी भन्ने डरले पसेनौँ । भित्र पसेकाहरुले बैठक गर्न मिल्ने हल जस्तो दुईटा कोठा छ भन्छन्,’ उनले भने ।

गुफा राजा दंगीशरणको आश्रयस्थल हुनसक्ने अनुमान
बर्षौँ पुरानो गुफा भएकोले ऐतिहासिक हुन सक्ने स्थानीयको अनुमान छ । डरका कारण भित्र धेरैबेर बस्न नसकेको बताउँदै प्रत्यक्षदर्शी यूवराज खड्काले भित्र देवीदेवताको मुर्ती, पौराणिक गरगहना तथा इट्टा, माटाका भाँडा हुन सक्ने अनुमान लगाए ।
दाङमा राजकाज गरेका दंगीशरण राजाको कोटदेखि दुई किलोमिटर दूरीमा रहेको उक्त गुफाभित्र राजा दंगीशरणले बैठक गरेको हुन सक्ने अनुमान छ । गुफाभित्र अहिले पनि मानिस बसेको जस्तो देखिने भएकोले राजा दंगीशरण र गुफा वीच कुनै न कुनै सम्बन्ध हुन सक्ने सेवा निबृत्त शिक्षक समेत रहेका दंगीशरण गाउँपालिका–१, रामपुरका लिगबहादुर चौधरीले बताए । ‘राजा दंगीशरण र गुफा वीच निश्चित रुपमा कुनै न कुनै सम्बन्ध हुनुपर्छ । यो गुफा राजाको आश्रयस्थल हुन सक्छ । यस बारेमा गाउँपालिकाले खोज अनुसन्धान गर्न आवश्यक छ,’ उनले भने ।
तत्कालिन गोल्टाकुरी गाविसका पूर्व अध्यक्ष यज्ञबहादुर विष्टले पनि दंगीशरण राजासँग गुफाको सम्बन्ध रहेको अनुमान लगाए । ‘पुरानो भएकोले दंगीशरण राजाले गोप्य बैठक गर्न गुफा बनाएको हुनु पर्छ । या त कुनै अप्ठ्यारो परेको बेला यहि लुक्ने आश्रय स्थल बनाएको पनि हुन सक्छ,’ उनले भने, ‘दंगीशरण र गुफा विच कुनै न कुनै सम्बन्ध अवश्य छ । खोजविन गरेर यसको बास्तविकता पत्ता लगाउन जरुरी छ ।’


गुफासँगै मनोरम प्राकृतिक दृष्यको अवलोकन गर्न सकिने
गुफा पुग्नुअघि कनरिया खोलाको मनोरम दृष्य, भरैयाको ऐतिहासिक छाङ्गा, विभिन्न किसिमका बनस्पती, ठूला–ठूला ढुंगा, खोलामा कलकल बग्ने पानी र चुरे पर्वतको सुन्दर प्राकृतिक दृष्यको मजा लिन सकिन्छ ।
जंगलमा चराचुरिङ्गीको चिरचिर आवाज, मौसम अनुसार चराको आवाजको आनन्द लिन पाइने त छदैँछ नै गर्मीयाममा खजुरी फल, थाकल, हिउँदमा टाटा र बर्षातमा जामुनको स्वाद समेत लिन सकिन्छ ।
घना जंगलमा गुफा पर्ने भएकोले बाघ, भालु र सर्प, विच्छीसँग जोगिनु पर्ने हुन्छ । जंगलमा पाटेबाघ, भालु, हरिन, चित्तल, खरायो, लोखर्के जस्ता जनावर पाइने गरेको स्थानीय बयोबृद्ध शेरबहादुर विष्टले बताए । यहाँ पुग्ने पर्यटकले गुफाको आनन्दमात्र नभई विभिन्न प्राकृतिक शौन्दर्यसँगै जंगली जनावर र चराचुरुङ्गी हेरेर पनि आनन्द लिन सक्ने उनले बताए । ‘तल हेर्दा शरिर सिरिङ्ग हुने प्राकृतिक छाङ्गा र विभिन्न आकृतिका ढुंगाको पनि अवलोकन गर्न सकिन्छ,’ उनले भने ।


गुफालाई पर्यापर्यटनको रुपमा विकास गर्ने गाउँपालिकाको योजना
गाउँपालिकाले गुफा संरक्षण तथा प्रचार प्रसार गर्ने योजना बनाएको छ । चालू आर्थिक बर्षभित्र गुफासम्म सडक निर्माण गर्ने योजना भएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए । उनले गुफाको संरक्षण गरि पर्यटकिय स्थलको रुपमा विकास गरिने बताए । ‘गुफालाई पर्यटनसँग जोड्ने गाउँपालिकाको योजना छ,’ अध्यक्ष चौधरीले भने, łदंगीशरण राजा र गुफा वीचको सम्बन्धका बारेमा पनि खोजविन तथा अनुसन्धान गाउँपालिकाले गर्ने छ । पर्यटनसँग दंगीशरण राजालाई जोड्ने योजनामा यो पनि एक हो ।’
उपाध्यक्ष पिमाकुमार खड्का ओलीले पनि गाउँपालिकाभित्र पर्ने ऐतिहासिक धरोहरको संरक्षण गरि पर्यटकिय स्थलको रुपमा विकास गरिने बताइन् । उनले गुफालाई लक्षित गरि योजना बनाई पर्यटकिय स्थलको रुपमा विकास गरिने बताइन् । गुफा हाम्रो सम्पत्ती हो । यसको संरक्षण, सम्बद्र्धन गरि प्रचार प्रसार गर्ने स्थानीय सरकारको दायित्व हो,’ उनले भनिन् ।
गुफा संरक्षणका लागि वडा कार्यालय विशेष योजना बनाएको वडा अध्यक्ष श्रीप्रसाद चौधरीले बताए । उनले सडक निर्माणसँगै पर्यापर्यटनका लागि आवश्यक पूर्वाधार निर्माण गरिने बताए । łगुफालाई पर्यटनसँग जोडेर स्थानीको आर्थिक उपार्जनका लागि बातावरण बनाइने छ,’ उनले भने ।
गुफामा कसरी पुग्न सकिन्छ ?
तुल्सीपुरबाट करिव १५ किलोमिटर बबई नदीको किनारमा अवस्थित चुरेपवर्त मालाको फेदमा गुफा छ । तुल्सीपुरबाट सुकौरारोड हुँदै १० किलोमिटर दक्षिणमा आएपछि बबई नदी भेटिन्छ । बबई नदीमा झोलुङ्गे पुल भएकोले बर्षातको समयमा चार पाङ्ग्रे गाडी लैजान मुस्किल पर्छ ।
तर, तुल्सीपुर–सल्यान कालिमाटी रोड हुँदै १० किलोमिटर पश्चिम गएपछि पोटली नआउँदै दंगीशरण गाउँपालिकाको सदरमुकाम हेकुली जाने सडक आउँछ । उक्त सडक भएर पाँच किलोमिटर दक्षिण गए बैबाङस्थित बबई नदी आउँछ । बबई नदीमा झोलुङ्गे पुल र निर्माणाधिन पक्की पुल छ । नदी तरेर गएपछि बाँकीबेटारपुरमा पर्ने गुफामा पुग्न सकिन्छ ।
त्यसैगरि, तुल्सीपुरबाट शितलपुर, बबई हुँदै ढकनाबाट सिधै पश्चिम भएर पनि गुफा भएको ठाउँ पुग्न सकिन्छ । नेपालगन्जबाट जानेहरुले तुल्सीपुर नगएर दमार गाउँ वा ढकना भएर पनि गुफामा जान सकिने स्थानीय इन्द्रमणी बस्नेतले जानकारी दिए । ढकना र दमारगाउँबाट गुफा झण्डै सात किलोमिटर पश्चिममा पर्छ ।

