त्रिभुवन चोक र सदरलाइनका ब्यापारीमा कोरोनाको त्रास, बन्द गर्ने की चलाउने दोधारमा ब्यापारी

तस्वीरः लकडाउन खुलेपछि नेपालगन्जका त्रिभुवन चोक र सदरलाइनमा किनमेल गर्नेको घुइँचो ।

बाँके, १२ साउन ।
नेपालगन्जमा किनमेल गर्ने सर्वसाधारणको भीड्भाड छ । लकडाउन खुकुलो भएसँगै नेपालगन्जमा भीड्भाड सुरु भएको हो । लकडाउन खुलेसँगै सार्वजनिक यातायातका साधन संचालनमा आएदेखि नेपालगन्जमा सर्वसाधारणको भीड थामिनसक्नु छ । यसले कोरोनाको जोखिम बढाएको छ ।
एकातिर सर्वसाधारणको भीड अर्कोतर्फ सदरलाइन र त्रिभुवन चोकका ब्यापारीमा कोरोना संक्रमण देखिएपछि नेपालगन्जमा त्रास बढेको छ । त्रिभुवन चोकको एक मिठाई पसल संचालन गर्दै आएका ब्यापारीमा कोरोना पुष्टि भएपछि आसपासका ब्यापारी तथा सर्वसाधारणमा कोरोनाको त्रास बढेको छ ।
सदरलाइनमा सुन तथा कपडा पसलमा कार्यरत मजदुर श्याम रैदासले त्रिभुवन चोकका एक ब्यापारीमा कोरोना पुष्टि भएपछि सर्वसाधारण त्रसित भएको बताए । नेपालगन्ज उपमहानगरपालिका–११ सदरलाइनका दुई जनामा कोरोना पुष्टि भएपछि यस क्षेत्रका ब्यापारी र सर्वसाधारण त्रसित भएको उनले बताए ।
शनिवार सार्वजनिक पिसिआर रिपोर्ट अनुसार नेपालगन्ज उपमहानगरपालिका–११ का एक पुरुषमा कोरोना पुष्टि भएको छ । उनको त्रिभुवन चोकमा मिठाई पसल छ । छिमेकमै कोरोना संक्रमित फेला परेपछि सर्वसाधारणमा त्रास फैलिएको जुत्ता, चप्पल ब्यापारी बिष्णु मैनालीले बताए । ‘त्रासका बाबजुद ब्यापार गरिरहेका छौँ । ब्यापार नगरौँ भने खान पाइदैन । ब्यापार गरौँ भने कोरोनाको त्रास छ । ब्यापार गर्ने की बन्द गर्ने दोधारमा छौँ,’ उनले भने । शुक्रवार पनि सोही वडाका एक जनामा कोरोना पुष्टि भएको थियो ।
समुदायस्तरमा कोरोना संक्रमण देखिए पनि राज्यले चासो नदेखाएको उनले बताए । उनले संक्रमितको घर र पसल भएको क्षेत्र सील गर्ने नीति भए पनि राज्यका निकायले यस प्रति चासो नदिएको बताए । ‘राज्यले चासो नदिँदा कोरोना संक्रमणको खतरा झनै बढेको छ,’ उनले भने ।
सदरलाइनमा सुनको ब्यवसाय गर्दै आएका बिनोद बैश्यले पनि राज्यले चासो नदिएको बताए । उनले संक्रमण देखिएको इलाकालाई सील गरेर अरुलाई सर्नबाट जोगाउने दायित्व राज्यको भए पनि अहिलेसम्म संक्रमितको घर र पसल सील नभएको बताए । ‘पसल खुल्ला हुँदा ग्राहक र थाहा नपाएका ब्यक्ति घर र पसलमा जाने सम्भावना हुन्छ,’ उनले भने ।
नेपालगन्जमा मजदुरी गर्दै आएकी बर्दियाकी एक महिलामा पनि कोरोना पुष्टि भएको छ । उनी कामका खोजीमा त्रिभुवन चोकमा आएको बेला जिल्ला स्वास्थ्य कार्यालयको टोलीले स्वाब लिएको थियो । उनी पनि कामको खोज्दै हरेक दिन त्रिभुवन चोकमा पुग्ने गरेकी थिइन् ।
बाँकेमा समुदायस्तरमा कोरोना पुष्टि हुनेको संख्या सात पुगेको छ । यी मध्ये दुई जना कोहलपुरका हुन् ।


हट्यो त्रास, सामाजिक दूरी घट्यो, बजारमा भीड
पछिल्लो समय सर्वसाधारणमा कोरोनाको त्रास घटेको छ । त्रास घटेसँग स्वास्थ्य सामग्रीको प्रयोग, हात धुने र सेनिटाइजर लगाउने बानी पनि हट्दै गएको छ ।
सरकारले मास्क लगाउन अनिवार्य गरे पनि किनमेलका लागि बजार गएकाहरुले समेत मास्क लगाएको पाइदैन । भने, हिड्डुल गर्नेहरु बिना मास्क नेपालगन्जमा घुुमेको देखिन्छ । किनमेलका लागि पसलमा गएकाहरुले सामाजिक दूरी पालना नगरि भीडभाडमै किनमेल गरेको नेपालगन्ज उपमहानगरपालिका–१३ का केशव डाँगीले बताए ।
उनले सर्वसाधारणमा कोरोनाको त्रास हटेको बताए । पहिले–पहिले ग्राहकले टाढाबाट सामान किनमेल गर्थे । ब्यापारीले पनि ग्राहक बस्ने सीमा तोकिदिएका हुन्थे । ‘अहिले न ग्राहकले नियम पालना गर्छन् न त ब्यापारीले नै सामाजिक दूरीको ख्याल गरेको पाइन्छ,’ उनले भने ।
पहिले जस्तो डर नलाग्ने गरेको नेपालगन्ज उपमहानगरपालिका–१२, का मोहम्मद हुसैनले बताए । उनले पनि पहिले जस्तो सजगता नअपनाएको बताए । ‘पहिले बेला–बेलामा हात धुने, सेनिटाइजर लगाउने, अरुसँग टाढा बस्ने, भीडभाडमा नजाने र मास्क नलगाएर बाहिर निस्कन्थ्यौँ । पछिल्लो समय डर हटेसँगै सजगता पनि कम अपनाउन थालेको महशुस हुन्छ,’ उनले भने ।
नेपालगन्जका बैंक, वित्तिय संस्था, सरकारी कार्यालय र संस्थानमा सर्वसाधारणको भीड लाग्ने गरेको छ । महशुल बुझाउन तथा अन्य प्रयोजनका लागि कार्यालयमा पुगेकाहरुले पनि सामाजिक दूरी ख्याल नगरेको नेपालगन्ज उपमहानगरपालिका–१० का राधेश्याम धोवीले बताए । ‘लाइनमा बसेका सर्वसाधारणलाई कोरोनाको चिन्ताभन्दा कसरी छिटो महशुल बुझाउने भन्ने चिन्ता भएको देखिन्छ,’ उनले भने ।
उनले पछिल्लो समय कोरोनाको जोखिम झनै बढेको बताए । ‘पहिले सवैजना सजग थिए । सामाजिक दूरीको ख्याल गर्थे । अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कदैनथे र पो सुरक्षित थियौँ,’ उनले थपे ।
कोरोनाबाट सजग हुन चिकित्सकको सुझाव
समुदायस्तरमा कोरोना समसंक्रमण देखिएपछि सजग हुन चिकित्कसले सुझाव दिएका छन् । लकडाउन खोलेसँगै क्वारेन्टाइनमा सिमित रहेको कोरोना समुदायस्तरमा देखिएपछि चिकित्सकले सजग हुन सुझाव दिएका हुन् ।
सरकारले लकडाउन खोले पनि कोरोना संक्रमणको जोखिम झनै बढेर गएको भन्दै चिकित्सकले भीडभाडमा नजान, मास्क प्रयोग गर्न, समय–समयमा सावुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, मुख र नाकमा हात नलैजान तथा तातो पानी तथा झोलिलो कुरा खान सुझाएका छन् ।
भेरी अस्पतालका ग्याष्ट्रोलोजिष्ट फिजिसियन समेत रहेका कोरोना फोकल पर्सन डा. संकेत रिसालले लकडाउन खोलेपछि कोरोना संक्रमणका जोखिम झनै बढेको बताउँदै सजग हुन सुझाव दिए । ‘लकडाउन खुलेपछि जताततै मानिसको भीडभाड छ । सामाजिक दूरी पनि कायम गरेको देखिदैन,’ डा. रिसालले भने, ‘आफ्नो सुरक्षा आफै गर्ने बेला हो यो ।’
उनले कोरोनाबाट जोगिन कार्यालय, बैंक, वित्तिय संस्था वा पसलमा जाँदा कम्तीमा एक मिटरको दूरी कायम राख्नु पर्ने बताए । उनले पहिलेको भन्दा पछिल्लो समय कोरोनाको जोखिम बढेको बताए । ‘पहिले क्वारेन्टाइनमा सिमित भएकोले त्यति जोखिम थिएन । अब समुदायस्तरमा फैलिएकोले पहिलेभन्दा अहिले जोखिम बढेको छ,’ उनले भने ।
उनले आफ्नो सुरक्षा आफै गर्नुको विकल्प नभएको बताए । उनले अति आवश्यक काम बाहेक घरबाट ननिस्कन सुझाव दिए । पिसिआर विधिबाट कोरोना जाँच हुन नसकेकोले संक्रमितको संख्या एकिन गर्न नसकिने बताए ।
चिनेजानेको र नजिकको साथी हो भन्दैमा विश्वास नगर्न उनले सुझाए । ‘मानिसलाई हेरेर कोरोना लागेको छ–छैन पत्ता लगाउन सकिदैन । आफूले चिनेको र नजिकको मानिसमा पनि कोरोना संक्रमण हुन सक्छ,’ उनले भने, ‘चिनेका र नजिकका ब्यक्तिसँग कुरा गर्दा पनि सामाजिक दूरी कायम गर्ने बानी बसाल्न जरुरी छ ।’

Previous articleकोरोना परीक्षणमा भेरी अस्पताल देशकै दोस्रो
Next articleदंगीशरण गाउँपालिका–१ मा ऐतिहासिक गुफा फेला, दंगीशरणको आश्रयस्थल भएको अनुमान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here