कोरोना परीक्षणमा भेरी अस्पताल देशकै दोस्रो

बाँके, ११ साउन ।
पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने नेपालगन्जस्थित भेरी अस्पताल देशकै दोस्रो भएको छ । पिसिआर परीक्षण गर्नेमा पहिलो स्थानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं र दोस्रो स्थानमा भेरी अस्पताल रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएसँगै भेरी अस्पतालमा स्थापना भएको प्रयोगशालामा १० साउनसम्म १९ हजार स्वाब परीक्षण भएको छ । पहिलो स्थानमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ८२ हजार ३३० वटा थ्रोट स्वाब परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
तेस्रो स्थानमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा १८ हजार ७६६ वटा नमूना स्वाब परीक्षण भएको छ । त्यसैगरि, १८ हजार ३२१ वटा नमूना परीक्षण गरेर सुर्खेत प्रादेशिक अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत चौथो र १६ हजार २७३ वटा नमूना परीक्षण गरेर सेती प्रादेशिक अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, धनगढी पाँचौमा स्थानमा रहेको छ ।
देशभर सञ्चालनमा रहेका पिसिआर परीक्षण प्रयोगशाला मध्ये सबैभन्दा कम नेपाल पुलिस अस्पताल प्रयोगशाला काठमाडौंले नमुना परीक्षण गरेको छ । पुलिस अस्पतालमा रहेको प्रयोगशालामा ३९१, लुम्बिनी प्रादेशिक प्रादेशिक अस्पताल बुटवलमा ८०९ र स्टार अस्पताल प्रयोगशाला सानेपा ललितपुरमा ८९५ वटा पिसिआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमै स्वाब परीक्षणमा दोस्रो स्थानमा परेपछि भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले प्रयोगशालामा कार्यरत प्राविधिकलाई बधाईसहित धन्यवाद दिएका छन् ।
अध्यक्ष धितालले प्रयोगशालामा कार्यरत प्राविधिकहरुप्रति सम्मान व्यक्त गर्दै आफ्नो जिम्मेवारीलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका छन् । अस्पतालमा कार्यरत चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी र प्रयोगशालामा खटिने प्राविधिकको मेहनत, लगनशीलता र परिश्रमका कारण पिसिआर विधिबाट कोरोना परीक्षण गर्नेमा भेरी अस्पताल दोस्रो भएको हो,’ उनले भने, भेरी अस्पतालको शिर उचो बनाउन भेरी अस्पतालका प्राविधिक मित्रहरुले असाध्यै मेहनत गर्नु भएको छ । यसका लागि उहाँहरु सम्मानका पात्र हुनुहुन्छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले पनि प्रयोगशालामा कार्यरत प्राविधिकप्रति सम्मान व्यक्त गर्दै सम्मान ब्यक्त गरेका छन् । पिसिआर विधिबाट भेरी अस्पतालमा भएको कोरोना परीक्षण देशकै नमुना बनेको छ,’ प्रजिअ कुरुम्बाङ फेसबुक पेजमा लेख्छन्, भेरी अस्पतालको प्रयोगशालामा खटिने प्राविधिक र स्वाब संकलनका लागि फिल्डमा खटिने प्राविधिकहरु प्रति उच्च सम्मान छ । हामी खुसी र गौरवान्वित छौं ।’

Previous articleबञ्चरो प्रहार गरि पतिको हत्या
Next articleत्रिभुवन चोक र सदरलाइनका ब्यापारीमा कोरोनाको त्रास, बन्द गर्ने की चलाउने दोधारमा ब्यापारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here