बाँके, ९ साउन ।
समुदायमा रहेका चार जनामा शुक्रवार कोरोना पुष्टि भएको थियो । नेपालगन्जका दुई र कोहलपुरका दुई जनामा कोरोना पुष्टि भएको २४ घण्टा भित्र नेपालगन्जमा कार्यरत मजदुरमा पनि कोरोना पुष्टि भएको छ ।
भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा तीन जना मजदुरमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । यो सँगै बाँकेमा समुदायस्तरमा कोरोना पुष्टि हुने कोरोना संक्रमितको संख्या सात पुगेको छ ।
शनिवार सार्वजनिक गरिएको कोरोना रिपोर्ट अनुसार बाँसगढी नगरपालिका घर भई हाल नेपालगन्जमा डेरा गरि बस्दै आएका एक महिलामा पनि कोरोना पुष्टि भएको छ । छोरीसँगै बस्दै आएकी ति महिला घर बनाउने मजदुर हुन् ।
त्यसैगरि, नेपालगन्ज उपमहानगरपालिका–११ का एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनको पनि त्रिभुवन चोकमा स्वाब संकलन गरिएको थियो । भने, जुम्ला घर भई हाल आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर्मचारीमा पनि कोरोना देखिएको हो । उनको पनि त्रिभुवन चोकमा स्वाब संकलन गरिएको श्रेष्ठले बताए ।
८ साउनमा जिल्ला स्वास्थ्य कार्यालयको टोलीले त्रिभुवन चोकमा भेला भएका एक सय ३० जना मजदुरको स्वाब संकलन गरेको थियो । ति मध्ये तीन जनामा कोरोना पुष्टि भएको श्रेष्ठको भनाई छ । उनले त्रिभुवन चोकको एक मिठाई पसलेलाई समेत कोरोना संक्रमण भएको बताए । ‘मजदुरसँगै स्वाब संकलन भएको त्रिभुवन चोकका एक मिठाई पसलेलाई पनि कोरोना भएको पुष्टि भयो,’ उनले भने ।
यो सँगै बाँकेमा कोरोना संक्रमितको संख्या चार सय तीन पुगेको छ । शनिवार पुष्टि भएका संक्रमितसँगै २९ जनाको आइसोलेशनमा उपचार भइरहेको छ ।