बाँकेमा समुदायस्तरमै पुग्यो कोरोना, नेपालगन्ज र कोहलपुरका दुई–दुई जनामा संक्रमण

बाँके, ९ साउन ।
बाँकेमा कोरोना समुदायस्तरमा पुगेको छ । क्वारेन्टाइन बाहिरका ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको प्रष्ट भएको हो ।
शुक्रवार फेला परेका चार जना क्वारेन्टाइन बाहिरका भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । उनले समुदायस्तरमा कोरोनाको संक्रमणको अवस्था पत्ता लगाउन जोखिम समुहको पहिचान गरि स्वाब संकलन गरिएको बताए । पिसिआर जाँचलाई समुदायस्तरमा विस्तार गरिएको उनले बताए ।
उनका अनुसार, कोहलपुरका ९३ जनाको स्वाब ८ साउनमा लिइएको थियो भने नेपालगन्जका ५५ जनाको स्वाब ६ साउनमा संकलन गरिएको हो ।
पिसिआर विधिबाट कोरोना जाँच गर्दा कोहलपुरका दुई र नेपालगन्जका दुई गरि समुदाय भित्रका चार जनामा कोरोना पुष्टि भएको उनले बताए । ‘यसले समुदायस्तरमा कोरोना फैलिएको संकेत गर्छ,’ उनले भने ।
श्रेष्ठले दिएको जानकारी अनुसार, कोहलपुरमा फेला परेका एक जना भारतबाट सिधै घरमा गएको बुझिएको छ । नेपालगन्जमा फेला परेका पनि भारतबाट आएका हुनसक्ने अनुमान गरिएको छ ।
उनले सर्वसाधारणको बढि भीडभाड हुने कार्यालय, समुदाय र समुहको पहिचान गरि स्वाब संकलन भइरहेको बताए । अहिलेसम्म त्रिभुवन चोकमा भेला हुने मजदुर, चलायमान समुदाय भित्र पर्ने पत्रकार, सर्वसाधारणको धेरै भीड्भाड हुने यातायात, भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीको स्वाब संकलन गरि पिसिआर विधिबाट कोरोना जाँच गरिएको बताए । ‘जिल्लामा कोरोनाको अवस्था बुझ्न परीक्षणको दायरा बढाइएको छ,’ श्रेष्ठले भने ।
भेरी अस्पतालमा पिसिआर प्रविधिबाट गरिएको परीक्षणमा नेपालगञ्जका दुई र कोहलपुरका दुई जना पुरुषमा कोरोना पुष्टि भएको उनले बताए । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या चार सय पुगेको छ । श्रेष्ठका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका–११ का ४० बर्षिय पुरुष र १२ नं. वडाका १८ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।
बाँकेमा तीन सय ७० जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म तीन वटा गाउँपालिका कोरोना मुक्त भइसकेका छन् । दुई जनाको स्वाब संकलन भए पनि रिपोर्ट नआउँदै मृत्यू भएको थियो । पछि उनीहरुमा कोरोना भएको पुष्टि भएको थियो ।

Previous articleनेपालगन्जका दुई र बर्दिया तथा दाङका एक–एक जनामा कोरोना
Next articleराखेप सदस्य सचिवमा फेरि पनि सिलवाल आउने सम्भावना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here