१६ लाख रुपैँयासहित भेरी अस्पतालका कम्प्यूटर सहायक पक्राउ

बाँके, ८ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्ज स्थित भेरी अस्पतालमा छापा मारेर कमिसन र स्रोत नखुलेको रकमसहित कम्प्यूटर सहायक अरुणराज खनाललाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरस टेस्ट गर्ने पिसिआर उपकरण लगायत विभिन्न मेडिकल उपकरण खरिद गरेबापत खनालले ब्यापारीबाट कमिसन बापत लिएको १० लाख नगद र चेक गरि रु. १६ लाख १३ हजार नौँ सय ७५ रुपैँया फेला परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका शाखा अधिकृत मिनराज थापाले बताए ।
उनका अनुसार, ब्यापारीबाट लिएको १६ लाख १३ हजार नौँ सय ७५ रुपैँया बरामद भएको छ । विशेष सुराकीको आधारमा अस्पतालमा कार्यरत कम्प्युटर सहायक खनालले कमिसन बापतको रकम लिइरहेको भन्ने बुझिएपछि आयोगका सूचना अधिकारी पाण्डेसहितको टोली बिहीबार दिउँसो भेरी अस्पतालमा छापा मारेको थियो ।
कम्प्यूटर सहायक पदमा कार्यरत भए पनि उनी लामो समयदेखि स्टोर सम्हाल्दै आएका थिए । उनले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र अन्य कर्मचारीलाई रिझाएर पदको दुरुपयोग गरेको अख्यिारको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
स्टोर सम्हाले बापत उनले अस्पतालमा कार्यरत उच्च तहका ब्यक्तिलाई कमिसन बापतको रकम दिँदै आएका थिए । कमिसनसहित पक्राउ परेका खनालसँगै आवश्यकता अनुसार अस्पतालका अन्य कर्मचारीलाई पनि अनुसन्धानका लागि बोलाउन सक्ने उनले बताए । ‘अहिले अनुसन्धानको क्रममा छ । अस्पतालका आधा दर्जन कर्मचारी अख्तियारको उच्च निगरानीमा छन्,’ सूचना अधिकारी पाण्डेले भने ।
केही दिनअघि अस्पतालमा ल्याइएको कोरोना भाइरस परीक्षण (पिसिआर) उपकरण खरिदमा आर्थिक चलखेल भएको र प्रक्रिया नपु¥याएर खरिद गरिएको भन्दै भेरी अस्पतालका विरुद्ध आयोगमा उजुरी परेको थियो । अस्पतालले अख्तियारलाई उपलब्ध गराएको कागजपत्र सन्तोषजनक नदेखिएपछि थप अनुसन्धानका लागि आयोगको टोलीले छापा मारेको पाण्डेको भनाई छ ।
उजुरीको आधारमा आयोगले ४ असारमा भेरी अस्पतालका बारेमा पहिलो चरणको छानविन शुरु गरेको थियो । खनाललाई पक्राउ गरेको आयोगको टोलीले थप अनुसन्धानका लागि अस्पतालसँग आवश्यक कागजपत्र मागेको छ ।
अस्पतालले बायो मेडिकल इक्यूपमेन्ट लगायतका मेडिकल उपकरण तथा औजार बिना टेण्डर खरिद गरि आर्थिक चलखेल र अनियमितता गरेको भन्दै भेरी अस्पताल विरूद्ध अख्तियारमा असार पहिलो साता उजुरी दर्ता भएको पाण्डेले बताए । भेरी अस्पतालले कोरोनाको जाँच तथा अन्य प्रयोजनका लागि करोड भन्दा बढि रकमको मेडिकल उपकरण खरिद गरेको थियो ।

Previous article६५ सीसी कोरेक्ससहित दुई यूवा पक्राउ
Next articleज्यान मार्ने उद्योग मुद्दामा फरार दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here