जसले नरैनापुरका अध्यक्षलाई हिरो बनाए, तर पाएको पारिश्रमिक फिर्ता गरे

बाँके, ७ साउन ।
कुनै बेला बाँकेको नरैनापुर गाउँपालिका कोरोना संक्रमणको इपी सेन्टर थियो । नरैनापुर गाउँपालिका–५, मटेहियास्थित दीपेन्द्र प्रावि क्वारेन्टाइनमा रहेका एक युवकको मृत्युसँगै हरेक दिन कोरोना संक्रमित फेला पर्न थालेपछि त्यहाँ कोरोनाको सन्त्रास फैलियो । संक्रमितलाई लिन सधैँजसो एम्बुलेन्स नरैनापुर पुग्थ्यो । साइरन बजाउँदै एम्बुलेन्स जाँदा त्यहाँका सर्वसाधारण झनै त्रसित हुन्थे । के आपत आइलाग्यो भन्दै भगवान पुकार्थे ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना पुष्टि भएपछि सर्वसाधारण घर बाहिर निस्कन सकेनन् । दुई महिनासम्म आफ्नै छिमेकीसँग भेट्ने र कुरामा गफिने बातावरण उनीहरुले पाएनन् । कोरोना संक्रमितलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीले एम्बुलेन्समा राखेर नेपालगन्ज ल्याउँदा त्यहाँका सर्वसाधारणको मन कम्ता दुखेन । घर नजिक आएको बेला कम्तीमा १४ दिन क्वारेन्टाइनमा बसेर फेरि १४ दिन आइसोलेशनमा बस्दा उनीहरुलाई पर्नु पीर परेको थियो । कोरोनाको कुनै लक्षण नदेखिए पनि कोरोनाको बिल्ला भिराउँदा उनीहरुलाई पत्याउन गाह्रो हुन्थ्यो । तै पनि देश, समाज र परिवारका लागि मन नलागेर पनि एम्बुलेन्समा चढेर आइसोेलेशन आउँथे ।
कोरोना पुष्टि भएपछि उनीहरु सुरक्षाकर्मीबाट घेरिन्थे । सुरक्षाकर्मीको कडा सुरक्षा वीच उनीहरु नेपालगन्ज ल्याइन्थे । उनीहरुलाई क्वारेन्टाइन र आइसोलेशनमा बस्ने भन्दा कोरोना संक्रमण भएको बिल्ला भिराउँदा पीडा दिन्थ्यो । तै पनि अरुलाई कोरोना संक्रमणबाट जोगाउन उनीहरु राज्यले बनाएको नियम र कानुनको परिधीभित्र रहेर क्वारेन्टाइन तथा आइसोलेशनमा बसेर राज्यलाई सहयोग गरे ।
क्वारेन्टाइनमा बसेका बेला कोरोना पुष्टि भएपछि उनीहरुलाई भगाउन र नेपालगन्ज नजान त्यहाँका केहि नेता र अगुवाले प्रयास नगरेका होइनन् । तर, उनीहरुले आफ्नो गाउँठाउँका नेता र अगुवाको भनाई भन्दा देशले बनाएको कानुन र नीतिमा विश्वास गरेर क्वारेन्टाइन तथा आइसोलेशनमा इमान्दारीपूर्वक बसे । निको भएपछि घर फर्किए ।
जुन बेला नरैनापुर कोरोनाको इपी सेन्टर थियो, तव त्यहाँ स्थानीय सरकारका कर्मचारी थिएनन् । लकडाउनपछि सरकारी कार्यालय बन्द भए । कर्मचारी आ–आफ्नो घर गए । त्यतिबेला गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह एक्लै फिल्डमा खटिएर कोरोना संक्रमण विरुद्धको लडाइँ लडिरहेका थिए ।
गाउँपालिकामा कर्मचारी नभएकोले साथ दिने कुरै भएन । जनप्रतिनिधिले पनि साथ नदिएपछि उनी कोरोना विरुद्धको युद्धमा एक्लै होमिए । उनले जनप्रतिनिधि गुहारे । गाउँपालिकाका समाजसेवी, नागरिक समाजका अगुवा, शिक्षक सवैसँग सहयोगको याचना गरे, तर न जनप्रतिनिधि बाहिर निस्के न त समाजसेवी र नागरिक समाजका अगुवा नै उनको गुहार सुने ।
उनले धमाधम कोरोना संक्रमित थपिदै गएपछि राज्यसँग हारगुहार गरे । हारीसकेँ भनेर हात उठाउन खोज्दै थिए । उनलाई नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक सज्जाक खाँ, महेन्द्र मावि मटेहियाका लेखापाल शिवचरण यादव, शिक्षक आरिफ खाँ र नरैनापुर विपद ब्यवस्थापन शाखा प्रमुख लक्ष्मीकान्त मिश्राले साथ दिए ।
उ बेला कोरोनाको ईपी सेन्टर रहेको नरैनापुर अहिले कोरोना मुक्त भएको छ । गाउँपालिकामा फेला परेका सवै कोरोना संक्रमित निको भएर घर फर्किएका नछन् । कोरोनालाई जितेपछि नरैनापुरका अध्यक्ष इस्तियाक अहमद शाह हिरो भएका छन् । तर, उनको एक्लो प्रयासले उनी हिरो भएका होइनन् । हिरोलाई हिरो बनाउने पात्र तीनै सज्जाक, लक्ष्मीकान्त, आरिफ र शिवचरण हुन् ।
उनीहरु रातदिन नभनि कोरोना नियन्त्रणका लागि काम गरे । समाज सुरक्षित रहेमात्र आफू सुरक्षित भइन्छ भन्दै उनीहरु अहोरात्र कोरोना नियन्त्रणका लागि गाउँगाउँ परिचालन भए । क्वारेन्टाइन ब्यवस्थापनमा खटिए । सर्वसाधारणको गाली खाए, तर हार खाएनन् । घरपरिवार र समाजबाट अपहेलित भए । घर जान प्रतिवन्ध लगाइयो । उनीहरु घर छोडे । तर, क्वारेन्टाइन ब्यवस्थापनका लागि पाएको जिम्मेवारी निर्वाहबाट एक कदम पछि हटेनन् ।
कोरोना नियन्त्रणका लागि गाउँपालिकाले क्वारेन्टाइन ब्यवस्थापन मुल समिति बनायो । अरु बस्न मानेनन्, तर उनीहरु असहज परिस्थितिमा देश र समाजको सेवा गर्न पाउनुलाई भाग्य सम्झिए । र, जिम्मेवारी निर्वाह गर्न बिश्राम गरेनन् । गाउँपालिकाले क्वारेन्टाइन ब्यवस्थापनमा खटिएकाको लागि २१ लाख ३५ हजार ६ सय रुपैँया निकासा गरेको छ । सात सदस्यीय क्वारेन्टाइन मुल ब्यवस्थापन समिति गठन गरेको गाउँपालिकाले सात–सात जनाका दरले १७ वटा क्वारेन्टाइनमा क्वारेन्टाइन ब्यवस्थापन समिति पनि गठन गरेको छ ।
यादव र खाँद्वारा पारिश्रमिक फिर्ता
क्वारेन्टाइन मुल ब्यवस्थापन समिति र क्वारेन्टाइन ब्यवस्थापन समितिका सदस्यलाई दैनिक पारिश्रमिक दिने निर्णय गरि गाउँपालिकाले पारिश्रमिक बापतको रकम निकासा समेत गरिसकेको छ । मुल ब्यवस्थापन समितिका सह–संयोजक र अन्य पाँच जना सदस्यको खातामा प्रति ब्यक्ति ४८ हजारका दरले रकम जम्मा भइसकेको छ । तर, जो रातदिन नभनि क्वारेन्टाइन ब्यवस्थापनमा खटिएका थिए ती मध्ये शिवचरण र सज्जाकले पारिश्रमिक नलिने घोषणा गरेका छन् । समिति गठन हुने समयमा कुनै पारिश्रमिक नलिने घोषणा गरेकाहरुको नाममा समेत रकम जम्मा भएपछि समितिका सदस्यद्वय सज्जाक खाँ र शिवचरण यादवले विपद ब्यवस्थापन कोषमा रकम फिर्ता गरेको पत्र गाउँपालिकालाई पठाइसकेका छन् ।
आफूले पारिश्रमिक नलिने पहिले नै घोषणा गरे पनि क्वारेन्टाइन ब्यवस्थापन मुल समितिले बैंकमार्फत पारिश्रमिक दिएको जानकारी पाउनासाथ पारिश्रमिक रकम अस्विकार गरेको सज्जाकले बताए ।
रकम फिर्ताका लागि अर्का सदस्य शिवचरण यादवले पनि चेक तयार पारेका छन् । उनी पनि कोषको खातामा रकम जम्मा गर्न बैंक गएका थिए । साउनमा कामकाज गर्न बैंकले नमानेपछि फर्किएको उनको दावी छ । देशलाई अपठेरो परेको बेला सहयोग गर्नुपर्ने ठाउँमा पारिश्रमिक लिँदा अपराध गरेको ठहर्ने भएकोले गाउँपालिकाबाट पाएको पारिश्रमिक फिर्ता गर्ने निर्णय गरेको खाँलको भनाई छ ।
महेन्द्र मावि, मटेहियाका लेखापाल यादवले पनि निस्वार्थ भावले सेवा गर्न समितिमा बसेको बताउँदै आफूले पाएको ४८ हजार रुपैँया कोषमा फिर्ता गर्ने निर्णय गरेको बताए । असहज परिस्थितिमा समाज र देशका लागि केहि योगदान दिनुपर्छ भन्ने लागेर क्वारेन्टाइन ब्यवस्थापनमा खटिए । ‘मैले लाभका लागि नभई सेवा भावका साथ काम गर्न समितिमा बसेको हुँ । देशलाई दिने ठाउँमा लिन राम्रो लागेन । रकम फिर्ता गर्ने निर्णयमा पुगेँ,’ यादवले भने ।
पारिश्रमिक बापतको रकम फिर्ता गर्ने घोषणा गरेका दुई जना सदस्यले लकडाउनका बेला आफ्नै रकमबाट खाद्यन्न खरिद गरेर कोरोना पीडितलाई राहत वितरण गरेका थिए । उनीहरुको अभियानमा नरैनापुर गाउँपालिकाका लेखापाल प्रकाश अधिकारी र विपद ब्यवस्थापन शाखा प्रमुख लक्ष्मीकान्तले समेत साथ दिएका थिए । चार जनाले २५–२५ हजार रुपैँया उठाएर खाद्यन्न खरिद गरि वितरण गरेको लक्ष्मीकान्तले बताए ।
घर छोडे, तर क्वारेन्टाइन ब्यवस्थापन गर्न छाडेनन्
क्वारेन्टाइन ब्यवस्थापनमा रात दिन खटिएपछि परिवारका सदस्यले समेत अवहेलना गरेको मुल ब्यवस्थापन समितिका सदस्य सज्जाकले बताए । उनले घरका सदस्य समेत डराउन थालेपछि दुई महिना गाउँपालिकाको आवास गृहमा बसेको बताए । ‘घर र समाजका मान्छेले कोरोना सार्ने भए भन्दै गाली गर्न थालेपछि कर्मचारी आवास गृहमा गएर बस्न थाल्यौँ,’ उनले भने, ‘कर्मचारीले त्यहाँ पनि छिछि दूरदूर गरेर हैरान बनाए । काम गर्दा अनेकौँ खालका दुख झेल्यौँ । समुदायस्तरमा कोरोना संक्रमण फैलिनबाट जोगायौँ । यसैमा सवैभन्दा खुसी लाग्छ ।’

Previous articleपेट्रोलियम पदार्थ आयातमा एक अर्व १० करोड राजस्व घाटा
Next article६५ सीसी कोरेक्ससहित दुई यूवा पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here