बाँके, ३ साउन ।
खीर भन्ने वित्तिकै मिठो र स्वादिलो खानाको रुपमा चिनिन्छ । दुधमा चामल पकाएर त्यसमा विभिन्न किसिमका पौष्टिक तत्वयुक्त मसला हाल्ने भएकोले यो स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ । प्रायःजसोले खीरमा चिनी, नरिवल, ल्वाङ, सुकमेल, काजु, किस्मीस हाल्छन् । अनि सहरमा पाइने महंगो भाँडामा राखेर खीर खान्छन् ।
तर, कोहलपुर नगरपालिका–८, पिपिरीमा माटोको भाँडोमा खीर दिइन्छ । जसलाई ‘मट्का खीर’ नाम दिइएको छ । माटोको भाँडोमा राखिने भएकोले यसको नाम ‘मट्का खीर’ राखिएको महाराजा क्याटरिङ टेण्ट पण्डालका संचालक गोविन्द शरण महाराजले बताए । खीर खाँदा माटोको स्वाद मिसिने भएकोले अन्य खीरको तुलनामा यो खीरको स्वाद फरक छ । खाँदा खाउँ–खाउँ लागिरहन्छ ।
मट्का खीरमा २४ किसिमका पौष्टिकतत्व मिस्याइएको छ । यसले खीरलाई स्वादिलो मात्र बनाएको छैन । स्वास्थ्यका लागि फाइदाजनक पनि छ । ‘खीर स्वादिलो मात्र नभई स्वास्थ्यवद्र्धक समेत छ । खीर खाने ब्यक्तिको इम्यूनिटी पावर पनि बढाउँछ,’ उनले भने, ‘मट्का खीरमा शुद्धता छ । यो प्राकृतिक, हाइजेनिक र पवित्र पनि छ ।’
कोरोनाबाट जोगिन विश्वभरका देश लकडाउन चलिरहेको थियो । इम्यूनिटी पावर भएकालाई कोरोना रोगले हत्तपत्त नछुने हल्लीखल्ली मच्चियो । इम्यूनिटी पावर भएकालाई कोरोना लागे पनि धेरै असर नगरेको प्रमाणित पनि भयो । त्यसपछि गोविन्द शरण महाराजले पनि इम्यूनिटी पावर बढाउने उपाय सोँचे ।
उनले भारतको हरिद्वारस्थित बृन्दा बन आश्रमको २० बर्षे अनुभवलाई ब्यवहारिक रुपमा उतार्ने योजना बनाए । उनले १५ दिनसम्म आफ्नो छोरीलाई खुवाए । खीर खाएपछि छोरीको इम्यूनिटी पावर बढेको उनले पाए । अनि अन्य सर्वसाधारणको पनि इम्यूनिटी पावर बढाउनु पर्छ भन्ने लागेर उनले असार पहिलो सातादेखि मट्का खीर बजारमा ल्याए ।
बजारमा ल्याएको मट्का खीर नेपालमै पहिलो भएको उनको दावी छ । नेपालको विभिन्न ठाउँका होटलमा खीर खान पाइन्छ, तर कोहलपुरमा पाइने मट्का खीर स्पेशल, मारवाडी, चिसो, तातो र केसरयुक्त २४ प्रकारका पौष्टिक तत्वयुक्त मसलाको प्रयोग भएको उनले बताए । ‘मट्का खीरले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ,’ उनले भने ।

माटोको भाँडोमा खाँदा स्वास्थ्यलाई फाइदा
पाँच तत्वको मानव शरिरमा माटो पनि पर्ने भएकोले माटोको भाँडोमा खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने उनले बताए । उनले फलाम, स्टील, सिसा, काँच, तामाका भाँडाको तुलनामा माटोको भाँडामा किटाणु कम हुने भएकोले पनि खीर खुवाउन माटोको भाँडा प्रयोग गरिएको उनले दावी गरे । ‘माटोको भाँडामा केहि हदसम्म किटाणु बस्न नसक्ने र बसे पनि लामो समयसम्म टिक्न सक्दैनन् भन्ने छ,’ गोविन्दशरण महाराजले भने ।
खीर खाने नेपाली संस्कृतिको जगेर्ना गर्ने अर्को उद्देश्य भएको बताए । उनले खीर विक्रि गरेर फाइदा नभएको बताउँदै स्थानीय उत्पादनलाई बढावा दिने अर्को उद्देश्य रहेको स्पष्ट पारे । ‘खीर खाने संस्कृतिको विकास भए एकातिर स्थानीय किसानले उत्पादन गरेको दुध खपत हुनेछ भने अर्कोतर्फ हराउँदै गएको माटोको भाँडा बनाउने पेशा संरक्षणमा टेवा पुग्ने छ,’ उनले भने ।
खीर रोग प्रतिरोधात्मक, तर मूल्य सस्तो
मट्का खीर महंगो पनि छैन । ग्राहकको मागलाई मध्यनजर गरि ५० रुपैँया, सय र एक सय ५० रुपैँयामा मारवडी चिसो–तातो केशरयुक्त मट्का खीर खान पाइन्छ । खीरको मुल्य फरक भए पनि ब्राण्ड भने एउटै भएको गोविन्द शरणले बताए ।
उनले क्वालिटी कायम राख्न खीर आफै बनाउँछन् । ‘ग्राहकलाई मिठो तथा पौष्टिक तत्वयुक्त खीर खुवाउन पाएकोमा मलाई गर्व छ । म खीरको क्वालिटी घट्न नदिन सजग छु । आफै भान्सामा गएर खीर तयार गर्छु,’ उनले भने ।

मट्का खीर खान आउने ८५ प्रतिशत यूवा
मट्का खीरको स्वाद लिनेको संख्या दिनदिनै बढ्दै गएको छ । स्वादिलो सँगै स्वास्थ्यका लागि फाइदाजनक भएकोले यूवा पुस्ताले बढि रुचाउने गरेका छन् । पण्डालमा आएर खीर खाने मध्ये ८५ प्रतिशत यूवा रहेको उनले बताए । खीर खानकै लागि नेपालगन्जबाट यूवाको समुह कोहलपुर पुग्ने गरेको छ । उनले खीर खान दैनिक एक सय भन्दा बढि आउने गरेका छन् । ती मध्ये ३० प्रतिशत नेपालगन्जका भएको उनले बताए । उनले खीर खान स–परिवार आउने गरेको पनि बताए । आएका मध्ये ४० प्रतिशत परिवार सहित आउने गरेको उनको भनाई छ । ‘परिवारसहित आउने पनि यूवा नै हुन् । खीरमा युवाको रुची देख्दा खुसी लाग्छ,’ उनले भने ।
उनले साउन र भदौँमा खीर खानेको संख्या बढ्ने बताए । उनले साउन र भदौँमा खीर खाने नेपाली संस्कृति भएको बताए । ‘यो दुई महिनामा दुई–तीन सय जना खीर खान आउने अनुमान छ,’ उनले भने ।
राजनीतिक दलका नेता र पत्रकारको रोजाईमा पनि मट्का खीर
मट्का खीरको स्वाद लिन राजनीतिक दलका नेतादेखि नागरिक समाजका अगुवा, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, उद्योगी, ब्यापारीको समुह मण्डालमा पुग्ने गरेको छ । माटोको भाँडोमा खाँदा छुट्टै स्वाद आउने र स्वास्थ्यबद्र्धक भएकोले फुर्सद पाउने वित्तिकै पण्डालमा आउने गरेको नेकपा, कोहलपुरका नेता नरेन्द्र न्यौपानेले बताए ।
उनले खीरमा २४ थरिका पोषिलो तत्व मिस्याइएकोले मिठो स्वादसँगै इम्यूनिटी पावर बढ्ने गरेको बताए । अन्य ठाउँमा बनाएको खीरको तुलनामा यसको स्वाद बेग्लै भएको बताउँदै उनले खाँदा बेग्लै आनन्द मिल्ने गरेको बताए । उनले भने, ‘मट्का खीर खाँदा बेग्लै आनन्द आउँछ । यहाँ पाइने खीरमा माटोको स्वाद पनि मिसिएकोले नयाँ स्वाद पाइन्छ । यो खाँदा इम्यूनिटी पावर पनि बढेको महशुस हुन्छ,’ मट्का खीर खान महाजा क्याटरिङ टेण्ट पण्डालमा पुगेका न्यौपानेले भने, ‘मिठो लागेकोले असार महिनामा मात्र तीन पटक आएर खाइसकेँ ।’
पत्रकार हेमन्त विक पनि समय–समयमा पण्डालमा गएर मट्का खीर खान्छन् । उनले अन्य परिकारको तुलनामा शुद्ध र हाइजेनिक भएकोले मट्का खीर मन परेको बताए । ‘तेलमा तारेको खाने कुरा भन्दा दुधबाट बनेको खीरले मानव स्वास्थ्यलाई फाइदा पुग्ने भएकोले मेरो रोजाईमा मट्का खीर परेको छ,’ उनले भने ।

पण्डालमा सामाजिक दूरी पालना
कोरोना भाइरसबाट जोगाउन राज्यले अवलम्बन गरेको नीति टेण्ड पण्डालमा पनि लागू गरिएको छ । खीर खान आउनेका लागि एउटा टेवलमा चार वटा कुर्ची राखिएको छ ।
गेटबाट प्रवेश गर्ने वित्तिकै हात सेनिटाइज गर्ने ब्यवस्था छ । भीडभाड हुन नदिन र सामाजिक दूरी पालना गराउन पण्डालका कर्मचारी खटिन्छन् । खीर खाइसकेपछि हात धुनका लागि डिटोल र सावुनको ब्यवस्था गरिएको छ । कोरोना भाइरस सर्न नदिन सजगता अपनाइएको छ । ‘राज्यले अवलम्बन गरेको नीतिको पूर्ण पालना हुनेगरि ब्यवस्था मिलाइएको छ,’ संचालक गोविन्द शरण महाराजले भने ।
