आँट, संघर्ष र धैर्यताले राजनीतिमा सफल मोहम्मदीको अन्तर कथा

बाँके, ३ साउन ।
त्याग, समर्पण, आँट, संघर्ष र धैर्यताले नेपालगन्ज उपमहानगरपालिका–८, एकलैनीकी मोहम्मदी सिद्धिकी वडा अध्यक्ष हुँदै संविधान सभा सदस्य भइन् । उनी मुस्लिम समुदायबाट निर्वाचित पहिलो जनप्रतिनिधि पनि हुन् । पति राजनीतिकर्मी भएकोले बाहिर निस्केर राजनीति गर्न उनलाई त्यति गाह्रो भएन, तर खुल्ला राजनीतिमा आउँदा उनले समाजबाट अनेक थरिका लाञ्छना र भेदभाव सहनु प¥यो ।
विक्रम सम्वत् २०६१ सालमा मुस्लिम महिलाको अधिकारका लागि फातिमा फाउन्डेशन नामक संस्था स्थापना गर्ने क्रममा उनीमाथि अनेक थरिका लाञ्छना लगाइयो । ‘धर्म खतरामा पार्ने भइन भनेर सामाजिक बहिस्कार गर्नेदेखि मञ्च खडा गरेर मेरो विरुद्ध समाजलाई भड्काउने, धम्की दिने, पर्चा, पम्पलेट प्रकाशन गरेर अफवाह फैलाउने जस्ता कार्य भए,’ उनले विगत सम्झिदै भनिन् ।
महिलालाई घर बाहिर पठाए धर्म र संस्कृतिमाथि खलल पर्छ भन्ने मान्यताले अझैँसम्म जरा गाडेको छ । मुस्लिम महिलालाई समाजले मात्र नभई स्वयम् घरपरिवारले समेत राजनीति र सामाजिक कार्यमा लाग्न सजिलै गरि अनुमति दिँदैनन् ।
उनलाई परिवारको साथ थियो, तर समाजले हेर्ने नजर भिन्न थियो । समाजको हेर्ने नजरलाई चिर्दै उनी निरन्तर आफ्नो अभियानमा लागिरहिन् । हिम्मत हारिनन् । अभियानलाई विश्राम दिइनन् ।
पति र सासुको सपना साकार पार्नु थियो उनलाई । समाजले लगाएको लाञ्छना, धम्की र अफवाहको प्रवाह नगरि उनी निरन्तर अगाडी बढिरहिन् । उनी धार्मिक आस्था र धर्मको मर्ममाथि ठेस नपुग्ने गरि संस्थाको नेतृत्व गरिरहिन् । ‘समाजले म माथि लगाएको लाञ्छनाले थप हौसला प्रदान ग¥यो । अझ अगाडी बढेर काम गर्नु पर्छ भन्ने अँझ धेरै आँट र विश्वास जाग्यो,’ उनले भनिन्, ‘धर्मको मर्म अनुसार अगाडी बढेकोले समाजले म प्रति विश्वास गर्न थाल्यो । त्यसपछि मलाई काम गर्न सजिलो हुँदै गयो ।’
समाजले लगाएको लाञ्छना मेटाउन र इस्लाम धर्ममा महिला अधिकारको कुरा बुझाउन उनलाई १० बर्ष लाग्यो । मुस्लिम समुदायमा जन्मिएर उच्च स्थानमा पुग्न सकेकोमा उनलाई गर्व छ । उनले भनिन्, ‘संविधान सभा सदस्य भएर संविधान लेख्न पाएँ । यहाँसम्म पुग्नुमा परिवारको सकारात्मक सोँच, मेरो त्याग, आँट र धैर्यता हो भन्ने मलाई लाग्छ ।’
उनका पति प्रजातन्त्र पक्षधर थिए । प्रजातन्त्रका लागि लड्दालड्दै १९ फागुन, २०४७ मा ह्रदयघातका कारण उनको मृत्यू भयो । पतिको सपना साकार पार्न मोहम्मदी सिद्धिकी अघि सरिन् । ‘उहाँ (पति) को सपना पूरा गर्न म राजनीतिमा होमिए । तर, राजनीतिमा आउन मलाई सजिलो थिएन । तै पनि आफ्नो अभियानमा छाडिन् । निरन्तरको संघर्ष, लगनशीलता र धैर्यताले सफल भएँ,’ उनले भनिन् ।
उनी राजनीतिमा आएको उनको समाजले सहन सक्ने कुरै थिएन । तै पनि २०४९ सालको पहिलो स्थानीय निर्वाचनमा उनी साविक नेपालगन्ज नगरपालिका–९ को वडा अध्यक्षमा काँग्रेसको तर्फबाट उम्मेदवारी दिइन् । उक्त निर्वाचनमा चार जना पुरुष उमेदवारलाई पराजित गरि उनी भारी मत अन्तरले विजयी भइन् । र, नेपालको पहिलो निर्वाचित मुस्लिम महिला वडा अध्यक्षमा आफ्नो नाम दर्ज गरिन् । ‘महिला भएकै कारण त्यति बेला मलाई हराउन मेरै समुदायका प्रतिष्ठित ब्यक्ति मेरो विरुद्ध सडकमा आए, तर मेरो लोकप्रियताका अगाडी उनीहरुको केहि चलेन,’ गर्व गर्दै उनले भनिन् ।
वडा अध्यक्ष जिते पनि काम गर्न उनलाई पुरुष जस्तो सजिलो थिएन । उनलाई परिवारले बुर्का लगाउन छुट दिए पनि समाजको डरले कार्यालय जाँदा उनी सलले मुख ढाकेर जान्थिन् । उनी भन्छिन्, ‘वडा अध्यक्ष भएपछि छाडा भई, समाज विगार्ने भई, धर्मभन्दा बाहिर गई भन्ने लाञ्छना लाग्ने डरले कार्यालय पनि कम जान्थेँ । धार्मिक मान्यता अनुसार काम गरेका कारण समाजले लाञ्छना र आरोप लगाउने ठाउँ पाएनन् ।’
वडा अध्यक्षको भूमिका राम्रोसँग निर्वाह गरेकोले नेपाली काँग्रेसले २०५४ सालको स्थानीय निर्वाचनमा नेपालगन्जको उपमेयरको उमेदवार उनलाई बनायो । तर, महिलालाई उमेदवार बनाएको भन्दै उनकै पार्टीबाट उनी विरुद्ध बागी उमेदवार उठाइयो । ‘म महिला भएकै कारण मेरो विरुद्ध बागी उमेदवार खडा गरियो । तै पनि मैले हिम्मत हारिन् । सामाजिक कार्यसँगै निरन्तर राजनीतिमा लागिरहेँ,’ उनले भनिन् ।
यसको फलस्वरुप २०६४ सालको संविधान सभामा नेपाली काँग्रेसले उनलाई संविधान सभा सदस्यमा सिफारिस ग¥यो । मुस्लिम महिला भएकै कारण संविधान सभामा पनि अनेकथरि विभेद र लाञ्छना ब्यहोर्नु प¥यो उनले । ‘मुस्लिम महिलाको अधिकार स्थापित गर्न धेरै कसरत गरेँ, तर पुरुष प्रधान मानसिकताको अगाडी मेरो केहि सीप चलेन,’ उनले भनिन् ।
महिला विरोधी कुरिति तथा महिलामाथि हुने विभेद अन्त्य हुनुपर्छ भन्ने अभियानकै कारण महिलालाई हेर्ने दृष्टिकोण फेरिएको उनले महशुस गरेकी छन् । तर, अहिले भएको सुधारले उनको चित्त बुझेको छैन । उनी भन्छिन्, ‘मुस्लिम समुदायमा महिलालाई हेर्ने दृष्टिकोणमा केहि सुधार भएको छ, तर प्रगति अझैँ हुन सकेको छैन ।’
उनले केहि परिवारमा महिलालाई शिक्षा दिनुपर्छ भन्ने चेतनाको विकास भएको बताइन् । महिलालाई सम्पत्तिमा अधिकार दिनुपर्छ भन्ने सोँचको विकास भइनसकेको उनको भनाई छ । ‘महिलालाई राजनीतिमा सहभागी गराउन इस्लाम समुदाय सकारात्मक देखिएको छैन,’ उनी अगाडी भन्छिन्, ‘महिलाको सशक्तिकरणको कुरा उठे पनि प्रभावकारी भएको छैन । कार्यान्वयन पक्ष पनि फितलो देखिएको छ ।’
मुस्लिम महिला नेतृत्वका लागि योग्य भएपनि पुरुषवादी सोँचकै कारण अवसरबाट वञ्चित भइरहेको उनको बुझाई छ । राज्यले विशेष कार्यक्रम ल्याएर मुस्लिम महिलालाई राज्यको मुलधारमा ल्याउन विशेष पहल गर्नुपर्ने उनको माग छ ।

Previous articleयूवाको रोजाइमा ‘मट्का खीर’
Next articleसंक्रमित नभएपछि बाँकेका १० वटा आइसोलेशन खाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here