मेहनत र परिश्रमले साइकलको ब्राण्ड बनाउन सफल बागवान ब्रदर्स

बाँके, ३१ असार ।
मोहम्मद सरिफ बागवानको पुख्र्यौली पेशा फुलबारीको रेखदेख र गोडमेल गर्ने हो । उनका बाजे नवि अहमद बागवानले तत्कालिन अञ्चलाधीस कार्यालयमा माली काम गरेको उनलाई सम्झना छ । यिनका अघिल्ला पुस्ता जागिरमै रमाए । तर, उनले आफ्नो पुख्र्यौली पेशामा भविष्य देखेनन् । र, उनी पुर्खाले गरेको पेशालाई चटक्क छोडेर ब्यवसाय तिर लागे ।
झण्डै दुई सय बर्षको विरासत बोकेको बागवान परिवार नेपालगन्जको रैथाने हो । मोहमम्द सरिफ बागवान पाँचौं पुस्ताका हुन् । उनको परिवार अहिले ब्यापारमा मस्त छ, त्यो पनि बिशेषगरी साइकल ब्यापारमा । फूलवारीको रेखदेख र गोडमेल गर्ने उनको परिवारको परिचय अहिले फेरिएको छ । उनको परिवार अब माली होइन नेपालगन्जको प्रतिष्ठित ब्यापारीको रुपमा चिनिएको छ ।
तर, उनी प्रतिष्ठित ब्यापारी त्यसै बनेका होइनन् । उनले ब्यापारमा लगानी कम मेहनत र परिश्रम धेरै गरेका छन् । आँट र लगनशीलता पनि उनको ब्यापारलाई उचाइँमा पु¥याउन मद्दत गरेको छ । विक्रम सम्वत् २०४३ सालमा उनले नेपालगन्जस्थित नारायण माविबाट एसएलसी दिए । परीक्षाफल आउन लामो समय लाग्ने भएकोले टाइम पासका लागि उनी घरबारी टोलका एक साहुजीको किराना पसलमा काम गर्न थाले । उनले त्यहाँबाट केहि रकम र ब्यापार गर्ने कला धेरै सिके ।
उनको काम गर्ने शैली, इमान्दारिता र लगनशीलताबाट साहुजी प्रभावित भए । र, उनलाई किरानाको पसल गर्न सुझाए । उनी सम्झन्छन्, ‘मेरा कामबाट प्रभावित भएपछि साहुजीले मेरोमा काम गरेपछि सँधै कामदार हुने छौ । आफ्नै पसल गर । उहाँले पसल संचालनका लागि केहि थप रकम पनि दिए । उहाँले भने अनुसार मैले आफ्नै घरछेउमा किराना पसल गर्न थालेँ ।’
उनले किराना पसलका लागि भारतको रुपईडिहाबाट सामान किनेर ल्याउँथे । पसलमा राख्थे । विक्रि नभएको सामान साना–साना प्लाष्टिकका थैलीमा राखेर प्याकेट तयार पार्थे । घरमा रहेको पसल आमा, बुवाले हेर्ने भएकोले उनी ल्वाङ, सुकमेल, सुपारी, विडी, तम्बाकु, सावुन लगायतका सामान साइकलमा लिएर एका विहानै गाउँमा रहेका पसलमा पुग्थे उनी । साइकलमा सामान राखेर विक्रिका लागि बाँकेको बनकटुवा, नौवस्ता, गाभर, चिसापानी, बनियाभार, कोहलपुर लगायत स्थानका पसलमा पु¥याउन गएको उनले बताए । ‘कोहलपुर र हवल्दारपुरका ब्यापारी नउठ्दै म विहानको ४ बजे चिसापानी पुगिसक्थेँ । त्यताबाट विक्रि गर्दै आएपछि एताका ब्यापारी बल्ल उठ्ने गर्थे,’ उनले भने ।


किराना पसलबाट जेनतेन गुजारा चलिरहेको थियो । एक जना ग्राहकले पैँसा ठगेर भागेपछि उनी ३७ हजार रुपैँयामा पसल विक्रि गरे । तर, साहु, महाजनलाई ऋण तिर्नु पर्ने थियो । ऋण तिरेर उनीसँग सात हजार रुपैँयामात्र बच्यो । उनी सात हजार रुपैँया लिएर भारतको मुम्बई जाने तरखरमा थिए । यो विक्रम सम्वत् २०४५ सालको कुरा हो ।
मुम्बई जान लागेको थाहा पाएपछि काका नाता पर्ने धम्बोझीका छिमेकी भगवती न्यौपानेले साइकल मर्मत पसल संचालन गर्न सुझाव दिए । उनी काकाको सुझाव अनुुसार रुपईडिहाबाट सात हजार रुपैँयामा खरिद गरेर साइकल मर्मतका सामान ल्याए । धम्बोझी गुल्म अगाडीको सडक छेउमा बोरो विछ्याए । बोरामाथि साइकल मर्मतका सामान राखे । साइकल मर्मत गर्ने ठाउँ हो भनेर चिनाउन आफ्नो साइकललाई उत्तानो पारेर मर्मत गर्न थाले ।
त्यसबाट केहि आम्दानी भएपछि उनी घुम्तीमा सरे । र, बागवान साकइल मर्मत सेन्टर खोले । उनी घुम्तीमा सरेपछि साइकलका पार्टपुर्जा पनि विक्रि गर्न थाले । उनी भन्छन्, ‘घुम्तीमा साइकल मर्मत र पार्टपुर्जाका सामान राखेँ । चार वटा काठको खामा गाडेर टेवल बनाएँ । घुम्तीको अगाडी खामा गाडेर माथिबाट चटाई ओढाएँ । अनि पानी र शीतबाट जोगाउन त्यसलाई प्लाष्टिकले छोपेँ ।’
उनले ग्राहकलाई आकर्षित गर्न एउटा दैनिक पत्रिकाको ग्राहक बने । साइकल मर्मतका लागि आउनेहरुलाई पत्रिका पढ्न दिएर आफू साइकल मर्मत गर्थे । ग्राहकले पत्रिकाको एकछेउ पढेर नसक्दै साइकल मर्मत भइसक्थ्यो । ‘पत्रिका पढ्न दिएर ग्राहकलाई अल्झाउने जुक्ती निकालेँ । यो मेरो ब्यापारिक पोलिसी थियो,’ उनले विगत सम्झिए ।
साइकल मर्मतबाट फाइदा भएपछि उनले ब्यवसाय बढाउने योजना बनाए, तर उनीसँग पैँसा थिएन । उनले जमिन बैंकमा धितो राखेर ऋण निकाल्ने र उक्त पैँसाबाट साइकल मर्मत सेन्टरलाई बृद्धि गरेर टायर, पार्टपुर्जा एवम् विक्रिका लागि दुई–चार वटा नयाँ साइकल राख्ने योजना बाबुलाई सुनाए । तर, उनका बाबुले उनको योजनालाई स्विकारेनन् । उल्टै हपारे ।
हपारेको सुनेपछि गुल्म अगाडी पसल गर्ने सिद्धि विनायकका प्रोप्राइटर बिनोद पोत्दारले उनका बाबुलाई सम्झाए । ‘उहाँले एक लाख रुपैँया डुब्यो भने त्यो रकम म दिन्छु भनेपछि बाबुले मेरो योजनामा स्विकृति जनाउनु भयो,’ सरिफले भने, ‘एक लाख रुपैँया ऋण लिन मलाई एक महिना लाग्यो ।’ यो २०५१ सालको कुरा हो ।


उनले ऋण लिएको रकम मध्ये ५० हजार रुपैँया लिएर वीरगन्ज गए । वीरगन्जबाट सामान ल्याएर साइकलको थोक विक्रि गर्न थाले । ब्यापार बढ्दै गएपछि भारतबाट साइकल ल्याउन थालेको उनले बताए । विक्रम सम्बत् ०६० सालमा बैंकबाट ओभर ड्राफ्ट बनाएर ३० लाख रुपैँया लिए । र, भारतको लुधियाना गएर निलम साइकलको डिलर लिएर फर्किए । ‘मैले निलम साइकलको डिलर लिएर आउने समयमा बजारमा हर्कुलिस, हिरो र एट्लस साइकलको माग थियो । मैले निलम साइकलको प्रचार गर्न चार–पाँच वटा साइकल उधारोमा पसलेलाई छोडेर आउँथे । तर, मैले हिम्मत हारेन,’ उनले भने, ‘यसको माग बढेपछि बल्ल राहत मिल्यो ।’
सात हजारबाट सुरुवात गरेको बागवान साइकल मर्मत सेन्टर अहिले बीबी ब्रदर्समा परिणत भएको छ । बागवान साइकल यिनीहरुको आफ्नै ब्राण्ड हो । साइकलको ट्युब पञ्चर मर्मत गर्ने कार्यबाट यिनको साइकलप्रतिको नाता गाँसिएको छ ।


साइकलको ब्यापारले आर्थिक अवस्था सुध्रिदै गयो । सडकमा बिछ््याएर थालिएको ब्यापार बोराबाट घुम्तीमा स¥यो । पञ्चर टाल्ने कामबाट सामान्य पार्ट पुर्जा बेच्नेसम्म पुग्यो । विक्रम सम्वत् ०७० सालमा बीबी साइकल सेन्टर औपचारिक सुरु गरेका उनले ०७४ मा टिभिएस मोटरसाइकल बिक्री सुरु गरे । विक्रम सम्वत् ०७५ मा बागवान ब्राण्ड लन्च गरेको यो समुहले फिटनेसका सामग्री पनि बिक्री गर्न थालेको छ ।
सामान्यदेखि लाखौं मुल्यका साइकल बेच्ने बीबी साइकलको खास परिचय हो । यिनको पसलमा सात हजारदेखि एक लाख ५० हजार मूल्य पर्ने साइकल छन् । कारोबारको आयतन फैलिंदै गएपछि नै उनी आफ्नै नामको ब्राण्ड उत्पादन गर्ने र आक्रामक ढंगले बिक्रि गर्ने निस्कर्षमा पुगेका हुन् । ‘साइकल मिस्त्री बागवान र ब्राण्डेड साइकल बागवान उही हो भनेर स्थापित गराउन चाहन्छु,’ उनले भने ।


गरिवीका कारण उच्च शिक्षा पढ्न नपाएकोमा उनलाई पछुतो छ । आफूले उच्च शिक्षा हासिल गर्न नपाएको पीडा मेटाउन उनले दुख गरेर पनि सन्तानलाई उच्च शिक्षाको बाटोमा हिडाएका छन् । एउटा छोरो एमविविएस सकाउँदै छन् भने अर्काे छोरा बिजनेस बिषयमा स्नातकोत्तर समेत गरिसकेका छन् ।
चारवटा व्यवसायिक फर्महरुमा ६० जनाले रोजगारी पाएका छन् । कामदारलाई कम्तीमा १०–३० हजारसम्म मासिक तलब दिएको उनले बताए । उनले कामदारको सहयोगले ब्यापार बढेको बताउँछन् । उनी भन्छन्, ‘कामदारको खुशीले नै व्यापार बढ्ने हो ।’

Previous articleदंगीशरणका झण्डै १७ प्रतिशत थारुमा सिकलसेल एनिमिया
Next articleपश्चिम नेपालमा सर्पको विगविगी, सावधानी अपनाउन चिकित्सकको सुझाव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here