अविसेक डाँगी
दाङ, ३१ असार ।
दंगीशरण गाउँपालिकाका १६ दशमलव ९० प्रतिशत थारुमा सिकलसेल एनिमिया देखिएको छ । गाउँपालिकाले संचालन गरेको ‘सिकलसेल एनिमिया स्वास्थ्य शिविर’ मा जाँच गराएका नौँ सय ११ मध्ये १६ दशमलव ९० प्रतिशत थारुमा सिकलसेल एनिमिया देखिएको हो ।
गाउँपालिकाको ७ वटै वडाका नौँ सय ११ जनाको सिकलसेल एनिमिया परीक्षण गरिएकोमा एक सय ५४ जनामा सिकलसेल एनिमिया देखिएको सिकलसेल एनिमिया स्वास्थ्य शिविर संयोजक तथा प्राथमिक स्वास्थ्य केन्द्र, श्रीगाउँका हेल्थ असिस्टेन्ट दोर्ण ओलीले बताए ।
दंगीशरण गाउँपालिकामा सिकलसेल स्क्रिनिङ गर्दा पुरुषको तुलनामा सिकलसेलको समस्या महिलामा धेरै देखिएको छ । ओलीले दिएको जानकारी अनुसार, एक सय ५४ जना मध्ये ८६ जना महिला र ६८ जना पुरुषमा सिकलसेल देखिएको छ ।

कुन वडामा कति जना फेला ?
सिकलसेल सार्ने समुहलाई लक्षित गरि आयोजना गरिएको शिविरमा १०–२५ बर्ष उमेर समुहका ब्यक्तिको सिकलसेल जाँच गरिएको उनले बताए । उनले वडा नं. १ का ८६ जनाको जाँच गर्दा ६ महिला र दुई पुरुषमा सिकलसेल समस्या देखिएको बताए । त्यसैगरि, वडा नं. २ का एक सय १० जनाको जाँच गर्दा २२ महिला र ६ पुरुष, वडा नं. ३ का दुई सय ९१ मध्ये २३ पुरुष र १८ जनामा सिकलसेल रोग देखिएको छ ।
ओलीका अनुसार, वडा नं. ४ का ८२ जनाको सिकलसेल जाँच गर्दा आठ महिला र ६ जना पुरुष, वडा नंं. ५ का ८६ मध्ये १३ पुरुष र ३ महिलामा सिकलसेल रोग देखिएको छ । भने, वडा नं. ६ का ७४ जनाको सिकलसेल जाँच गर्दा सात जना पुरुष र ६ जना महिलामा पनि सिकलसेल देखिएको छ । उनले वडा नं. ७ का एक सय ८२ जनाको जाँच गर्दा २३ महिला र ११ पुरुषमा सिकलसेल एनिमिया फेला परेको बताए ।

सवैको सिकलसेल जाँच गर्न सुझाव
सिकलसेल समस्या देखिएकाको स्याम्पल संकलन गरि इलेक्ट्रोफोरसिसका लागि राप्ती प्रादेशिक अस्पतालमा पठाइएको ओलीको भनाई छ । उनले इलेक्ट्रोफोरसिस पछिमात्र सिकलसेल डिजिज र ट्रेड छुट्टिने बताए । डिजिज र ट्रेड छुट्याउन एक हप्ता लाग्ने बताउँदै उनले डिजिज भएकालाई औषधि र ट्रेड भएकालाई अभिमूखिकरण गरिने बताए ।
ओलीले गाउँपालिकामा भएका थारु समुदायका सवैको सिकलसेल जाँच गर्न आवश्यक भएको औँल्याए । सवैको एकसाथ जाँच गरेपछिमात्र गाउँपालिकामा सिकलसेलको अवस्थाका बारेमा एकीन गर्न सकिने उनको भनाई छ । उनले जन्मिने वित्तिकै सिकलसेल जाँच गर्नुपर्ने सल्लाह गाउँपालिकालाई दिएको बताए । ‘सम्भव भएसम्म जन्मने वित्तिकै जाँच गर्ने ब्यवस्था गरौँ । छुट्पुट भएकाको खोप लगाउने बेला जाँच गर्ने ब्यवस्था मिलाउनु पर्ने मेरो सुझाव छ,’ उनले भने ।
सवैको जाँच गर्न १५ दिन लाग्ने
कुल २१ हजार ४ सय ८४ मध्ये थारु जातिको जनसंख्या ९ हजार ८०७ अर्थात ४५.६५५ प्रतिशत रहेको छ । उनले गाउँपालिका भरका थारु समुदायको सिकलसेल जाँच गर्न बढिमा १५ दिन लाग्ने बताए । ‘जाँच गर्न धेरै समय लाग्दैन । गाउँपालिकामा भएका सवैको १५ दिनमा जाँच गरेर सकिन्छ,’ प्राथमिक स्वास्थ्य केन्द्र, श्रीगाउँका हेल्थ असिस्टेन्ट समेत रहेका ओलीले भने । उनले सिकलसेल रोगका बारेमा नबुझ्दा जाँच गर्ने क्रममा समस्या भएको समेत बताए ।

सिकलसेल सार्ने उमेर समुहका सवैको सिकलसेल जाँचः गाउँपालिका
गाउँपालिकामा भएका थारु समुदायका सवैको सिकलसेल जाँच गर्ने ब्यवस्था मिलाउने गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए । उनले सिकलसेल जाँचका लागि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरि सिकलसेल जाँच शिविर संचालन गर्ने र सचेतनाका लागि गाउँ–गाउँमा अभिमूखिकरण कार्यक्रम संचालन गरिने बताए ।
गाउँपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौँकीमा नियमित रुपमा सिकलसेल परीक्षण गर्ने ब्यवस्था मिलाउने उनको भनाई छ । ‘नियमित रुपमा जाँच गर्ने ब्यवस्था मिलाउँछौँ नै आर्थिक बर्ष ०७७÷०७८ भित्र सिकलसेल सार्ने उमेर समुह (१०–२५ बर्ष) का सवैको सिकसले परीक्षण गर्ने ब्यवस्था मिलाउँछौँ,’ अध्यक्ष चौधरीले भने ।
राप्ती प्रादेशिक अस्पतालसँग समन्वय गरी निःशुल्क रुपमा परीक्षण गर्ने ब्यवस्था मिलाउने गाउँपालिकाका उपाध्यक्ष पिमाकुमार ओली (खड्का) ले बताइन् । उनले निशुल्क जाँचका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने बताउँदै सिकलसेललाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको बताइन् । ‘एकबाट अरुमा सिकलसेल सर्न नदिन सार्ने उमेर समुहका ब्यक्तिको परीक्षण गरि यथास्थितिमा राख्ने योजना गाउँपालिकाको छ,’ उनले भनिन् ।

के हो सिकलसेल एनिमिया ?
सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशानुगत रोग हो । हाम्रो रगतको कोषिकामा क्रोमोजोम हुन्छ र त्यसमा जीन हुन्छ । जीन धेरै प्रकारका हुन्छन् । तिनमा खराबी आयो भने सिकलसेल एनिमिया हुन्छ । ‘यो रोग आमाबाबु दुबैमा भए सन्तानमा पनि संक्रमित हुने धेरै सम्भावना रहन्छ । तर आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ,’ भेरी अस्पतालका मेडिकल विभाग प्रमुख बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे भन्छन्, ‘सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशानुुगत रोग हो ।’
रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भनिन्छ । सिकलसेल भएपछि रगतको कोषिकाले हँसियाको आकार लिन्छ । यसले गर्दा लिभर बढ्नुका साथै इन्फेक्सन हुन्छ र मुख्यतः रगतको कमी हुन्छ । उनी भन्छन्, ‘हँसिया आकारको रातो रक्तकोष धेरै कडा एवम् एक आपसमा टाँसिने हुन्छ । त्यस्ता बिरामीको रगतमा अक्सिजनको कमी भई भित्री अंगमा नोक्सानी हुनुका साथै मस्तिष्क स्ट्रोक हुन सक्छ । यसको दुखाइ एकदमै कडा हुन्छ ।’
स्वस्थ व्यक्तिमा रगतको सेल गोलो आकारको हुन्छ भने सिकलसेल एनिमिया भएको व्यक्तिको हँसिया आकारको हुन्छ । डा. पाण्डे अगाडी भन्छन्, ‘सामान्यतया सेलको आयु १२० दिनको हुन्छ तर सिकल भएको हँसिया आकारको सेल २१÷२२ दिनको हुन्छ । त्यसकारण शरीरमा अक्सिजन र पोषण नपुग्दा मांसपेशी र जोर्नीमा धेरै पीडा हुन्छ । कतिपय बिरामीको रोग पहिचान गर्न नपाउँदै मृत्यु हुन्छ । सिकलसेलमा व्यक्तिपिच्छे फरक–फरक लक्षणहरू देखिन्छन् ।’
