बाँके, २७ असार ।
बाँकेका क्वारेन्टाइन र आइसोलेशन रित्तिएका छन् । बाँकेमा फेला परेका तीन सय ७४ कोरोना संक्रमित मध्ये तीन सय ५० जना कोरोना संक्रमित निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनले बाँकेका विभिन्न आइसोलेशनमा २२ जना कोरोना संक्रमित रहेको बताउँदै नरैनापुर र डुडुवा गाउँपालिका कोरोना मुक्त भइसकेको बताए । उनका अनुसार कोहलपुर नगरपालिकाको आइसोलेशनमा १०, खजुरामा चार, राप्तीसोनारी र नेपालगन्जमा दुई–दुई तथा बैजनाथ र जानकीमा एक–एक जना कोरोना संक्रमित छन् । बाँकेमा रहेका १२ वटा आइसोलेशन मध्ये सात वटा खाली भइसकेको छ,’ उनले भने ।
पिसिआर विधिबाट कोरोना परीक्षण गर्न आठ हजार एक सय सात जनाको स्वाब संकलन भएकोमा ६३ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । उनले बाँकेका विभिन्न क्वारेन्टाइनमा ३१ महिला र एक सय ५० पुरुष गरि एक सय ८१ जना रहेको बताए । उनले क्वारेन्टाइनमा बसेर १२ हजार सात सय पाँच जना घर फर्किएको बताए । बाँकेमा कोरोनाका कारण दुई जनाको मृत्यू भएको छ ।