बाँके, १९ असार ।
खाईपाई आएको तलव पाउनु पर्ने माग गर्दै बाँकेका निजी विद्यालयमा कार्यरत शिक्षकले नेपालगन्जमा प्रदर्शन गरेका छन् । लकडाउन सुरु भएदेखि मासिक रुपमा पाउँदै आएको तलव नपाएको भन्दै उनीहरुले सरकारले घोषणा गरे अनुसारको पारिश्रमिक आफूहरु कार्यरत विद्यालयबाट पाउनुपर्ने माग गर्दै सडकमा निस्किएका हुन् ।
संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को नेतृत्वमा सडकमा उत्रिएका शिक्षकले लकडाउन अवधिमा समेत विद्यालयको काम गरे पनि सरकारले घोषणा गरे अनुसारको पारिश्रमिक नपाएको गुनासो गरे । उद्योग, पसल, कार्यालय तथा विद्यालयमा कार्यरत मजदुरलाई मासिक रुपमा दिँदै आएको पारिश्रमिक सम्बन्धित कार्यालय वा संस्थाले दिनुपर्ने निर्णय गरे सरकारले गरेको बताउँदै इस्टु बाँकेका अध्यक्ष गमबहादुर डाङ्गरले पारिश्रमिक नपाउँदा खान, लाउन समस्या भएको बताए । ‘आफू कार्यरत विद्यालयबाट पारिश्रमिक नपाउँदा शिक्षकको अवस्था दिन प्रति दिन दयनिय बन्दै गएको छ,’ उनले भने ।
बाँकेमा एक सय दुई वटा निजी तथा आवासिय विद्यालय संचालनमा छन् । यी विद्यालयमा झण्डै सात हजार शिक्षक कार्यरत रहेको इस्टुका बाँके अध्यक्ष डाङ्गरले जानकारी दिए । उनले लकडाउन भएपछि बाँकेका कुनै पनि विद्यालयले शिक्षकलाई पारिश्रमिक नदिएको बताए ।
पुष्पलाल चोकबाट निस्केको ¥याली विपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा इष्टुका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ५ इन्चार्ज उमेश सापकोटा, केन्द्रीय सदस्य बामदेव ओली, जिल्ला अध्यक्ष डाङ्गर, बरिष्ठ जिल्ला उपाध्यक्ष मुना हमाल र सचिव महेन्द्र शर्माले बिचार राखेका थिए ।
सरकारको निर्णयलाई अँटेर गरेर पारिश्रमिक नदिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी निजी तथा आवाशिय विद्यालयमा कार्यरत शिक्षकले दिएका छन् ।
