मृतकका परिवारको दुखेसोः सामाजिक लाञ्छनाले पीडामाथि पीडा दियो

कोरोना पुष्टि भएकी बाँके बैजनाथ गाउँपालिका–६ की महिलालाई अन्तिम संस्कारको लागि लैजाने तयारी गर्दै नेपाली सेनाको शव ब्यवस्थापन टोली । फाइल तस्वीर

बाँके, १२ असार ।
कोरोना लागेका, मृत्यु भएका र उनीहरुसँग सम्बन्धित परिवारका सदस्यको नाम गोप्य राख्ने कानुनी ब्यवस्था छ । तर, बैजनाथ गाउँपालिका–६ की महिलाको कोरोनाले मृत्यु भएको खवर गाउँपालिका भर एकछिनमै फैलियो । यसले मृतकका परिवारलाई समाजले हेर्ने नजर फेरिएको छ । मृतकका परिवारलाई समाजले सान्त्वना दिनुुभन्दा लाञ्छना र भेदभाव गरेको परिवारका सदस्यले बताए । ‘आमाको मृत्युले शोकमा डुवेका छौँ । त्यसैमा समाजले लाञ्छना लगाउँदा पीडा माथि पीडा थपिएको छ,’ मृतककी बुहारीले भनिन् ।
कोरोनाका कारण मृत्यु भएको भन्ने खवर सुनेपछि गाउँघर, छरछिमेकका मान्छे घरमा आउन छाडेको उनले बताइन् । कोरोना लागेर मृत्यु भएको भन्दै गाउँघरका मान्छे घरको दैलोमा नआएको उनले गुनासो गरिन् । ‘यिनीहरुले गर्दा गाउँ विग्रियो, कोरोना रोग ल्याए भन्छन् । कोरोना लागेको घर भन्दै बालबच्चाले समेत देखाउँदै हिड्छन्,’ उनले भनिन्, ‘आमाको मृत्युले थलिएका बेला समाजले लगाउने लाञ्छना र भेदभावले पीडा माथि पीडा थपिएको छ ।’
उनले समाजले भेदभाव गरेका कारण सागसब्जी समेत खान नपाएको बताइन् । बाहिरकाले तरकारी ल्याउन नमानेको बताउँदै उनले ३ असारदेखि तरकारीसमेत नपाएको गुनासो गरिन् । ‘हाम्रो कारणले कोरोना संक्रमण नभए पनि यसको सजाय हामीलाई भोग्न परेको छ,’ उनले भनिन् ।
परिवारका सदस्यको पिसिआर रिपोर्ट नेगेटिभ
मृतक महिलाको परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत महिलामा कोरोनाको लक्ष्यण देखिएपछि स्वाब परीक्षण गरिएको थियो । उनको कोरोना रिपोर्ट नआउँदै मृत्यु भयो ।
भेरी अस्पताल, नेपालगन्जमा पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएपछि उनका परिवारका सदस्य र सम्पर्कमा आएका १९ जनाको कोरोना परीक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । ‘मृत्यु भएको महिलामा कोरोना देखिए पनि उनको स्याहार सुसारमा संलग्न छोरा, बुहारी, आमा लगायत इष्टमित्र र अन्य परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने ।
रातदिन स्याहार सुसार गरेका छोरा र बुहारीमा कोरोना संक्रमण नदेखिएपछि उनीहरु अचम्म परेको बुहारीले बताइन् । घर भन्दा बाहिर ननिस्केको मान्छेलाई कोरोना लागेको होला भन्ने विश्वास नलागेको उनको भनाई छ । ‘मृत्यु हुनुअघि हामीले उहाँको स्याहार सुसार ग¥यौँ । पानी पट्टी ग¥यौँ । लुगा फेरि दियौँ । मुख धोई दियौँ, तर हाम्रोमा कोरोना नदेखिएर उहाँमा मात्र देखिनुले हामीलाई शंका लाग्नु स्वभाविक हो,’ उनले भनिन् ।
मृत्यु पछि छोरा र मृतकी आमाले ग्लोब्स नलगाएर कपडा फेरि दिए । शब प्लाष्टिकले बेर्ने कार्यमा खटिए पनि । तर, उनीहरुको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आउँदा परिवारका सदस्य अलमलमा परेका छन् ।
रिपोर्ट ढिलो आउँदा काजक्रियामा ढिलाई
मृत्यु भएको ८ दिनपछि मात्र काजक्रिया गर्न थालेको उनले बताइन् । ४ असारमा संकलन भएको स्वाबको रिपोर्ट १० असारमा आएपछि काजक्रियाको प्रक्रिया अगाडी बढाएको बताइन् ।
आमाको जस्तै हाम्रो रिपोर्ट पनि पोजेटिभ आउन सक्ने भन्दै काजक्रिया गर्न नसकेको उनले स्पष्ट पारिन् । ‘कोरोना रिपोर्ट पोजेटिभ आए आइसोलेशनमा बस्नु पर्ने होला भनेर आमाको काजक्रिया अगाडी बढाउन सकेनौँ,’ उनले भनिन्, ‘रिपोर्ट नेगेटिभ आएपछि ढुक्क भएर सुरु ग¥यौँ ।’
उनले अस्पतालको लापरबाहीले कुरा बाहिर आएको बताइन् । ‘अस्पतालले नाम र ठेगाना गोप्य राख्नुपर्ने हो, तर सवैले थाहा पाउने गरि हल्ला फैलायो,’ उनले भनिन् ।
दुई बर्षदेखि स्वास्थ्यमा समस्या
बैजनाथ गाउँपालिका–६ की ति महिलालाई दुई बर्षअघि स्वास प्रस्वासमा समस्या देखिएको थियो । नेपालगन्ज र कोहलपुरका अस्पतालमा उपचार गराउँदा निको नभएपछि परिवारका सदस्यले भारतको लखनऊ लगेर उपचार गराए । त्यहाँ उपचार गराउँदा उनको मिर्गौलामा समस्या भएको पत्ता लाग्यो । त्यसपछि उनी नियमित रुपमा मिर्गाैला र दमको औषधि सेवन गर्दै आएकी थिइन् । तै पनि बेला–बेलामा स्वास प्रश्वासमा समस्या आउने गरेको परिवारका सदस्यले बताए ।
७ बैशाख, २०७७ मा उनलाई उच्च रक्तचापको समस्या देखियो । उनको शरिरको एक भाग नचल्ने भयो । परिवारका सदस्यले उनलाई एक महिनासम्म कोहलपुरस्थित कौसल्या मेमोरियल अस्पतालमा राखे । उनी हिड्डुल गर्न सक्ने भइन् र खाना पनि खान थालिन् ।
फेरि उनको शरिरमा दाना आयो, शरिर र पेट सुन्नियो । छोरा बुहारीले उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगन्जमा कार्यरत डा. मधु अर्यालको क्लिनिकमा ल्याए । डा. अर्यालले दिएको औषधि सेवन गरेपछि उनी निको भइन् । ‘डा. अर्यालले ७ असारमा फ्लोअपका लागि आउन भन्नु भएको थियो, तर त्यो भन्दा अघि नै साँस फेर्न समस्या भयो,’ बुहारीले भनिन्, ‘हामीले फेरि डा. अर्याल कहाँ ल्यायौँ । डा. सावले म कहाँ हुँदैन । मेडिकल कलेजमा भर्ना गर्नु पर्छ भन्नु भयो । हामीले त्यस्तै ग¥यौँ ।’
छोरा बुहारीले शिक्षण अस्पताल नेपालगन्जमा लिएर गए । तर, अस्पतालले आइसियू खाली नभएको भन्दै भेरी अस्पताल वा शिक्षण अस्पताल कोहलपुर लैजान सल्लाह दिए । उनीहरुले आमालाई कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना गरे । चिकित्सकको सल्लाह बमोजिम आइसियूमा राखेर उपचार सुरु भयो । ‘आमाको स्वास्थ्यमा पहिलेदेखि नै समस्या थियो । हामीले बचाउन धेरै प्रयास ग¥यौँ, तर बचाउन सकेनौँ,’ उनले भनिन्, ‘पहिले देखिको रोग भए पनि अस्पतालले कोरोना संक्रमण भएको भनेपछि छाङ्गाबाट खसेझैँ भयौँ ।’

Previous articleरित्तिदै बाँकेका क्वारेन्टाइन
Next articleतलव माग्दै सडकमा शिक्षक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here