बाणिज्य बैंकका शाखा प्रवन्धक शाही किन पक्राउ परे ?

नेपालगन्जको त्रिभुवन चोकस्थित राष्ट्रिय बाणिज्य बैँकको कार्यालय ।

बाँके, १२ असार ।
सरकारी कागजात किर्ते गरेर कर्जा लिन–दिन मिलेमतो गरेको आरोपमा राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवन चोक शाखाका प्रवन्धक ललितबहादुर शाहीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–११, भठीटोलका सुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजात नक्कली बनाएर राष्ट्रिय बाणिज्य बैक, त्रिभुवन चोक शाखाबाट दुई करोड ऋण स्विकृत गराई एक करोड २५ लाख रुपँैया लिएको घटनाको अनुसन्धान गर्न बैंकका शाखा प्रवन्धक शाहीलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष खड्काले बताए ।
किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा बैंकका प्रवन्धक शाहीको पनि संलग्ना देखिएपछि थप अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए । ‘अनुसन्धानलाई प्रभावकारी बनाउन बैंकका प्रवन्धक शाहीलाई पनि पक्राउ गरिएको छ,’ उनले भने ।
उक्त घटनामा बैंकका अरु कर्मचारीसँग पनि बयान लिने काम भइरहेको उनको भनाई छ । सरकारी छाप, लेटर प्याड, हस्ताक्षर किर्तेको अनुसन्धान सकिएपछि प्रहरीले बैंकिङ कसुरको अनुसन्धान गर्ने जनाएको छ । बैंकिङ कसुरको अनुसन्धान हुँदा बैंकका माथिल्लो तहका कर्मचारी पनि तानिन सक्ने प्रहरीको आकलन छ । ‘अनुसन्धान गर्दै जाँदा उच्च तहका कर्मचारी पनि अनुसन्धानका लागि तानिन सक्छन्,’ उनले भने, ‘लहरो तान्दा पहरो जान्छ भने जस्तै नहोला भन्न सकिन्न ।’
राष्ट्रिय बाणिज्य बैंकले २५ लाख भन्दा माथिको ऋण स्वीकति गर्दा केन्द्रको अनुमति चाहिने ब्यवस्था छ ।
जसगढले कसरी लिए कर्जा ?
प्रहरीका अनुसार, जसगढले बैंकबाट कर्जा लिनका लागि चार वटा धितो राखेका छन् । त्यसमध्ये भवानीयापुर र उदयपुरका १९ र १५ धुर जमिन सक्कली भए पनि नेपालगन्ज–११ को चार–चार धुरको जमिन नक्कली हो । उनले धितो राखेको चार–चार धुरका दुई वटा कित्ता अहिलेसम्म फेला नपरेको डिएसपी खड्काले बताए । ‘उक्त जमिनको सक्कल कागजात र लालपूर्जा र पेश भएको नक्सा अनुसारको जमिन फिल्डमा देखिदैन,’ खड्काले भने ।
जसगढले जग्गाको लालपुर्जा, तिरो तिरेको रसिद, नक्सा पास, ट्रेस नक्सा, नक्सा कसरी बनाए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । मालपोत कार्याल, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षर समेत किर्ते गरेका छन् । उनले नक्कली धितो बनाएर बैंकबाट दुई पटक ऋण लिइसकेका छन् । ‘२२ मंसिर, ०७६ मा ५० लाख र २५ जेठ, ०७७ मा ७५ लाख कर्जा लिएका थिए । स्विकृत भएको बाँकी रकम लिन नपाउँदै उनी पक्राउ परेका छन्,’ खड्काले भने ।
ऋण लिँदा पेश गरेको धितो नेपालगन्ज उपमहानगरपालिकामा रुजु गर्दा जसगढले कागजातत किर्ते गरि नक्कली कागजात बनाएर बैंकमा पेश गरेको फेला परेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले बताए ।
कागजात किर्ते र नक्कली भेटिएपछि छानबिनका लागि प्रहरीलाई अनुरोध गरिएको उनले बताए । ‘किर्ते गरेर बनाएका नक्कली कागजात पेश गरेर ऋण लिएको फेला परेपछि अनुसन्धानका लागि प्रहरीमा उजुरी दियौँ,’ उनले भने ।

Previous articleविषालु च्याउ खाँदा १४ जना विरामी
Next articleरित्तिदै बाँकेका क्वारेन्टाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here