नरैनापुरको बजेट सवा ५५ करोड

कोभिड–१९ नियन्त्रण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, कृषि क्षेत्रलाई प्राथमिकता

बाँके, १० असार ।
नरैनापुर गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ का लागि ५५ करोड रुपैँयाको बजेट ल्याएको छ । बुधवार भएको गाउँपालिकाको चौथो गाउँसभामा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आर्थिक बर्ष २०७७÷०७८ का लागि ५५ करोड २८ लाख २३ हजार ३ सय ६० को बजेट प्रस्तुत गरेका हुन् ।
पूर्वाधार विकासमा सशर्त बाहेक चार करोड ८० लाख, विविध अनुदान अन्तर्गत् गौशाला निर्माणका लागि सात करोड, गाउँपालिका भवन निर्माणमा चार करोड, सशर्त बाहेक शिक्षामा दुई करोड १८ लाख, स्वास्थ्यमा एक करोड ७४ लाख, कृषि तथा पशुमा एक करोड, विपत् व्यवस्थापनमा एक करोड र महिला सशक्तिकरण तथा समवेशीकरणमा ४० लाख रुपैँया विनियोजन गरिएको छ ।
संघीय सरकारबाट प्राप्त ३९ करोड २० लाख ९७ हजार ३ सय ६०, प्रदेश ५ सरकारबाट तीन करोड ५३ लाख एक हजार र आन्तरिक राजश्वतर्फ अनुमानित ५४ लाख १५ हजारमा आधारित रहि आर्थिक बर्ष २०७७÷७८ को बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।
कोभिड–१९ नियन्त्रण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको खरालले बताए । गाउँपालिकालाई नेपाल सरकारबाट समानिकरण अनुदान ११ करोड २३ लाख, नेपाल सरकार राजश्व बाँडफाँड ९ करोड १३ लाख ९७ हजार ३ सय ६०, सशर्ततर्फ १७ करोड ६४ लाख र विशेष एवं समपूरक अनुदानतर्फ एक करोड २० लाख रुपैयाँ प्राप्त भएको छ ।
त्यस्तै प्रदेश ५ सरकारबाट समानीकरण अनुदान ५५ लाख ९ हजार, राजश्व बाँडफाँड ३९ लाख ४२ हजार, सशर्ततर्फ एक करोड ४८ लाख ५० हजार र विशेष एवं समपूरक अनुदानतर्फ दुई करोड १० लाख रुपैयाँ प्राप्त भएको छ । जिल्ला समन्वय समितिको विविध अनुदानतर्फ ११ करोड रुपैँया रहेको खरालले बताए ।
चालू आर्थिक बर्षका लागि नरैनापुर गाउँपालिकाले ४३ करोड ३४ लाख १ हजारको बजेट ल्याएको थियो । उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तब, वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना शेष, वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, ३ का अध्यक्ष राजकुमार मौर्य, ४ का अध्यक्ष दिनेश प्रसाद शर्मा, वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, ६ का अध्यक्ष विरेन्द्रपाल सिंह, कार्यपालिका सदस्य, वडा सदस्यको उपस्थिति रहेको गाउँसभाको सञ्चालन गाउँपालिकाका प्रशासन तथा जिन्सी शाखा प्रमुख भरत महतोले गरेका थिए ।
नीति तथा कार्यक्रम र बजेट पारित गर्दै गाउँसभा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताए ।

Previous articleटिप्परले ठक्कर दिँदा बर्दियाका बिनय चौधरी घाइते
Next articleनीति तथा कार्यक्रममा यसपाली पनि चक्रपथकै चर्चा (पूर्ण पाठसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here